मातृभाषाको मौन क्षय

सहरी विस्थापन र सामाजिक परिवर्तनसँगै मातृभाषा क्रमशः कमजोर हुँदै जानु केवल राज्यस्तरको नीतिगत समस्या मात्र नभई परिवारभित्रको भाषिक नीतिसँग गाँसिएको गम्भीर विषय पनि हो ।

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

यदि तपाईंका नातिनातिनीले तपाईंको भाषा बुझ्नै सकेनन् भने त्यो केवल भाषिक समस्या हो कि पहिचानको अन्त्य ? आज नेपालका दर्जनौँ मातृभाषा यही प्रश्नको सामना गरिरहेका छन् । भाषा केवल सञ्चारको माध्यम होइन, त्यो इतिहास, स्मृति र पहिचानको वाहक हो । जब मातृभाषा मौन हुन्छ, तब केवल शब्द हराउँदैनन्– एक समुदायको संसार हेर्ने दृष्टि नै ओझेल पर्छ । कुनै भाषा मर्नका लागि बोल्नेहरूको मृत्यु आवश्यक पर्दैन– नयाँ पुस्ताले प्रयोग नगर्नु नै पर्याप्त हुन्छ । यही मौन क्षय आजको गम्भीर यथार्थ हो । यही सन्दर्भमा मातृभाषाको मौन क्षयलाई पहिचान र संरक्षणको प्रश्नसँग जोडेर हेर्नु अपरिहार्य भएको छ ।

नेपालको भाषिक विविधता 
भाषा, संस्कृति र पहिचानको दृष्टिले नेपाल समृद्ध बहुभाषिक राष्ट्र हो । राष्ट्रिय जनगणना ०७८ अनुसार १२३ भन्दा बढी भाषाहरू बोलिन्छन् । तर, यही विविधता आज गम्भीर संकटमा परेको छ । नेपाल भाषा आयोगको रिपोर्ट (२०७८) अनुसार कुसुन्डा, दुरा, बाराम, लुङ्खिम, तिलुङ, सुरेल, राउटे, राजी, बोटे, काइके, छन्त्याल र हायुजस्ता १२ भाषा लोप हुने अवस्थामा छन् । यी भाषा लोप हुनुको प्रमुख कारण भाषिक समुदायको जनसंख्या न्यून हुनु हो । तर मैथिली, थारू, नेवार र तामाङ भाषाहरू नेपालीपछि सबैभन्दा धेरै जनसंख्या भएका भाषा हुन् । यी भाषिक समुदायमा भाषा परिवर्तन (भाषा सिफ्ट) तीव्र रूपमा बढ्दै गएको छ । यसको प्रत्यक्ष असर मातृभाषाको प्रयोगमा कमी, सांस्कृतिक पहिचानको क्षय तथा सामाजिक समावेशितामा नकारात्मक प्रभावका रूपमा देखिएको छ ।

त्यसो त मातृभाषा लोप विश्वव्यापी भाषिक क्यान्सरजस्तै फैलँदो छ । युनेस्कोको रिपोर्टअनुसार, विश्वमा आज करिब ७,००० भाषाहरू बोलिन्छन् । तीमध्ये करिब ७० प्रतिशत भाषा लोप हुने खतरामा छन् । भाषा नाशले संवादको माध्यम हराउनु मात्र होइन । सम्बन्धित समुदायको सांस्कृतिक, ऐतिहासिक र सामाजिक पहिचान पनि मेटिँदै जान्छ । भाषा समुदायको ज्ञान, परम्परा र सामूहिक स्मृतिको संवाहक भएकाले यसको लोप सांस्कृतिक विविधतामाथिको गम्भीर खतरा हो । यही सन्दर्भमा युनेस्कोले सन् १९९९ देखि फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउँदै आएको छ ।

आन्तरिक आप्रवासीमा मातृभाषाको प्रयोग
व्यक्ति, परिवार र समुदायको (मातृ) भाषाप्रतिको धारणा र अभ्यासले भाषाको विकासमा गहिरो प्रभाव पार्दछ । सुविधा, शिक्षा, सहरीकरण, आर्थिक उन्नति तथा अन्तरजातीय विवाहका कारण मानिस एक स्थानबाट अर्को स्थानमा सर्ने प्रक्रियाले नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा पनि जटिल भाषिक समाजको निर्माण गरेको छ । काठमाडौं उपत्यका आन्तरिक आप्रवासीका लागि प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ । यसको परिणामस्वरूप, आन्तरिक आप्रवासन र जनसंख्या वृद्धिका कारण काठमाडौं उपत्यकाको जनसंख्या वृद्धि मात्र भएको छैन, मानिसहरूको तीव्र आगमनले यहाँको भाषिक संरचनालाई अझ जटिल बनाएको छ । त्यसैले यस्तो जटिल परिवेशमा अल्पसंख्यक समुदायका मानिसले आफ्ना भाषिक अभ्यास कसरी गरिरहेका छन् भन्ने बुझ्नु अत्यन्त महत्वपूर्ण छ ।

यस सन्दर्भमा, आन्तरिक आप्रवासी समुदायमा गरेको एक अनुसन्धानले, मातृभाषाको प्रयोग अत्यन्त न्यून रहेको देखाएको छ । काठमाडौंमा बसोवास गर्ने एक समुदायको परिवारहरूको तीन पुस्ताको दैनिकीमा विभिन्न भाषाहरूको प्रयोग फरक–फरक रूपमा रहेको तथ्य उजागर गरेको छ । अध्ययनअनुसार अभिभावकमध्ये ४० प्रतिशतले मैथिली भाषा प्रयोग गर्ने गरेका छन् भने बालबालिकामा यो दर केवल १० प्रतिशतमा सीमित छ । यसको विपरीत, बालबालिकामा नेपाली भाषाको प्रयोग ६० प्रतिशत र अंग्रेजी भाषाको प्रयोग ३० प्रतिशत रहेको पाइन्छ । अभिभावकहरूले सामाजिक प्रतिष्ठा, शैक्षिक अवसर तथा भविष्यका सम्भावनालाई ध्यानमा राख्दै नेपाली र अंग्रेजी भाषालाई प्राथमिकता दिएको देखिन्छ । यसैगरी, बालबालिकाहरू विद्यालय र साथीहरूसँगको अन्तरक्रियामा नेपाली र अंग्रेजी प्रयोग गर्न बढी सहज महसुस गर्छन् । परिणामस्वरूप, भाषिक सिफ्टको प्रक्रिया आन्तरिक आप्रवासी परिवारमा तीव्रगतिमा अघि बढिरहेको स्पष्ट संकेत गर्दछ ।

यसरी सहरी विस्थापन र सामाजिक परिवर्तनसँगै मातृभाषा क्रमशः कमजोर हुँदै जानु केवल राज्यस्तरको नीतिगत समस्या मात्र नभई परिवारभित्रको भाषिक नीतिसँग गाँसिएको गम्भीर विषय पनि हो । अध्ययनले देखाउँछ कि मैथिली भाषि शिक्षित परिवारले विभिन्न दैनिक गतिविधिमा बिताउने कुल समयको ५० प्रतिशतभन्दा बढी समय नेपाली भाषा प्रयोग गर्ने गरेका छन्, जसमा अंग्रेजी भाषा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, अल्पसंख्यक मातृभाषी व्यवसायी परिवारहरूको हकमा भाषाको प्रयोग शैक्षिकस्तर र व्यवसायको प्रकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित देखिन्छ । त्यसैगरी, अल्पसंख्यक मातृभाषी राजनीतिज्ञ परिवारमा पनि विभिन्न गतिविधिमा नेपाली र अंग्रेजी भाषाको प्रभुत्व स्पष्ट रूपमा देखिन्छ ।

यद्यपि, परिवारभित्रको भाषिक गतिशीलतालाई केवल तथ्यांकका आधारमा समेट्न गाह्रो हुने केही महत्वपूर्ण पक्ष पनि छन् । उदाहरणका लागि अध्ययनका क्रममा अभिभावक र बालबालिकाले प्रायः नेपाली भाषा प्रयोग गरिरहेको अवलोकन गरिएको थियो । यस अभ्यासबारे थप स्पष्टता प्राप्त गर्न ‘तिमीहरू मातृभाषामा किन बोल्दैनौ ?’ भन्ने प्रश्नको उत्तरमा एक मैथिली बालकले भने,‘म आफ्नो मातृभाषा बुझ्छु, तर म नेपालीमा बोल्न रुचाउँछु । म नेपालीमा धाराप्रवाह हुन चाहन्छु ताकि आफ्ना अन्य साथीहरूसँग सजिलै संवाद गर्न सकुँ । नेपालीको अभ्यासले मेरो पढाइमा पनि सहयोग गर्छ ।’

अभिभावकहरूबिच मातृभाषाको प्रयोगले आफ्ना बालबालिकाको नेपाली र अंग्रेजी भाषा धाराप्रवाह बोल्ने क्षमतामा बाधा पु¥याउँछ भन्ने बलियो विश्वास पाइन्छ । उनीहरूले बालबालिकालाई नेपाली र अंग्रेजी भाषामै शिक्षित गर्नुको महत्वमा जोड दिँदै भने, ‘बालबालिकालाई मातृभाषामै पढाउनु आवश्यक छैन, सामाजिक उन्नतिका लागि उनीहरूले नेपाली र अंग्रेजी सिक्न बोल्नैपर्छ । यो आधुनिक युगमा हामीले आफ्ना बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सहयोग गर्नुपर्छ ।’

यद्यपि, पछिल्ला वर्षहरूमा भाषिक पहिचानले केही महत्व पाउन थालेको छ, तर यस अध्ययनको अवलोकन र प्रतिवेदनले के देखाउँछ भने मानिसको राम्रो जीवनप्रतिको आकांक्षा तथा नेपाली र अंग्रेजी भाषामा दक्षता हासिल गरी आधुनिकता र विश्वव्यापी अवसरहरूमा पहुँचप्राप्त गर्ने चाहनाले मातृभाषाको प्रवद्र्धन र विकासमा उल्लेख्य प्रभाव पार्ने कारक बनेको छ ।

भाषा आन्दोलन र संरक्षणका प्रयासहरू
नेपालमा भाषिक अधिकार र मातृभाषा संरक्षणका लागि थुप्रै आन्दोलन भएका छन् । आदिवासी तथा क्षेत्रीय समुदायहरूले आफ्नो भाषा अधिकारको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । विभिन्न भाषिक समुदायले भाषा प्रचार–प्रसार र संरक्षणका लागि सांस्कृतिक संस्था सञ्चालन गर्दै आएका छन् ।

नेपालको संविधान २०७२ मार्फत भाषिक अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ र २०७३ मा भाषा आयोग स्थापना गरेको छ । बहुभाषिक शिक्षा नीति २०७५ अनुसार केही जिल्ला÷पालिकाका विद्यालयमा मातृभाषामा आधारित प्रारम्भिक शिक्षा सञ्चालन भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रले २६ मातृभाषामा अध्यापन सामग्री तयार गरेको छ । युनिसेफ र ब्रिटिस काउन्सिलजस्ता संस्थासँगको साझेदारीमा १५ भन्दा बढी जिल्ला÷पालिकाका करिब २२५ विद्यालयमा मातृभाषामा आधारित पायलट शिक्षा कार्यक्रम लागू गरिएको छ । तर, नेपाली भाषा माध्यमका शिक्षालयहरू नै कमजोर भएको अवस्थामा मातृभाषाको शिक्षामा आकर्षण र प्रभावकारितामा भने प्रश्न उठ्न सक्छ । आर्थिक स्रोतको अभाव, दक्ष जनशक्ति र उपयुक्त शिक्षण सामग्रीको कमी मातृभाषा संरक्षणका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

वास्तविक अवस्था हेर्दा नेपाली र अंग्रेजी भाषा दुवैको महत्व बढ्दै गएको छ । नेपाली भाषा राष्ट्रिय एकताको आधार हो भने अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सम्पर्क र आर्थिक अवसरका लागि आवश्यक छ । तर, विश्वव्यापीकरणका कारण मातृभाषा संकटमा परिरहेका छन् । विशेष गरी सहरी क्षेत्रमा बसोवासका लागि विस्थापित अल्पसंख्यक समुदाय आफ्नो मातृभाषा संरक्षणमा कमजोर देखिएका छन् ।

भाषा संरक्षणका उपाय

१. प्रतिष्ठा र भाषा ह्रासको विरोधाभास
विडम्बनापूर्ण रूपमा, सबैभन्दा बढी सांस्कृतिक, शैक्षिक र आर्थिक पुँजी भएका शिक्षित र सफल अल्पसंख्यक परिवार नै मातृभाषाको तीव्र स्थानान्तरणका कारक बन्न पुगेका छन् । उनीहरूको भाषा अभ्यासले समाजमा शक्तिशाली सन्देश दिन्छ ः यदि शिक्षित र सफल व्यक्तिहरूले आफ्नै मातृभाषा त्याग्छन् भने, अल्पसंख्यक भाषाहरू अझै पिछडिएको वा अव्यावहारिक ठहरिन्छन् । यसले आत्मसुदृढीकरण हुने चक्र सिर्जना गर्छ । युवा पुस्ताले सफलता र उन्नतिलाई प्रभुत्वशाली भाषासँग जोड्छन्, जबकि अल्पसंख्यक भाषाहरू केवल स्मृतिका प्रतीकमा सीमित हुन्छन् । अन्ततः, पुस्तान्तरण—भाषा अस्तित्वको सबैभन्दा महत्वपूर्ण आधार टुट्न थाल्छ । सांस्कृतिक तथा भाषिक विरासत कायम राख्न समुदाय विशेषका सचेत व्यक्तिहरूको परिवारभित्र र बाहिर ठोस पहल हुनु अनिवार्य छ ।

२. पारिवारिक भाषा नीति
आन्तरिक रूपमा स्थानान्तरण भएका अल्पसंख्यक परिवारहरूमा मातृभाषाहरू प्रायः कम उपयोगी, ग्रामीण जीवनसँग सीमित, वा व्यावसायिक सफलतासँग असम्बन्धित ठानिन्छ । जसले गर्दा, बालबालिकाहरूले आफ्नै पुख्र्यौली भाषा केवल निष्क्रिय रूपमा बुझ्ने वा पूर्ण रूपमा नजान्ने अवस्थामा हुर्किन्छन् । समयसँगै, अल्पसंख्यक भाषा हजुरआमा–बुबासँगको संवाद वा औपचारिक÷अनुष्ठानिक प्रयोगमा मात्र सीमित हुन्छ । त्यसैले भाषिक सचेतवर्गले बहुभाषिकताको संवद्र्धन गर्दै मातृभाषाको संरक्षणका लागि पारिवारिक भाषा नीति एक कडी हुन सक्छ । पारिवारिक भाषा नीतिले परिवार–घरभित्र भाषा प्रयोग र पुस्तान्तरणलाई जीवित राख्न सहयोग गर्छ ।

३. सचेतनाबाट व्यवहारसम्म
मातृभाषाको संरक्षणका लागि नेपाली वा अंग्रेजी अस्वीकार गर्न आवश्यक छैन । शिक्षित अल्पसंख्यक मातृभाषि परिवारहरूले आफूलाई भाषिक तथा सांस्कृतिक आदर्शका रूपमा चिन्ने जिम्मेवारी बोध गर्नुपर्छ । हरेक हप्ता वा मासिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम जस्तै एकल वा बहुपारिवारिक भेटघाटमा पछिल्लो पुस्तासँग नियमितरूपमा मातृभाषा डबली गर्ने व्यवस्था मिलाउँदा मातृभाषाको संरक्षणमा इँटा थप्न सहयोग पुग्छ । घरभित्र मातृभाषाको प्रयोगले शैक्षिक सफलतामा बाधा नपु¥याई प्राकृतिक भाषा अधिग्रहण सुनिश्चित गर्न सक्छ ।

४. सांस्कृतिक कार्यक्रम र मिडिया
मातृभाषा प्रवद्र्धनका लागि रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमको प्रभावकारी प्रयोग गरिनु पर्छ । सांस्कृतिक महोत्सव, साहित्यिक कार्यक्रम तथा कार्यशालामार्फत भाषिक चेतना अभिवृद्धि गर्न सकिन्छ । अहिले गर्ने गरिएका यस्ता कार्यक्रम सांस्कृतिक तथा भाषिक संरक्षण कम मनोरञ्जनात्मक आधुनिकता बढी हाबी हुँदै गएका छन् । संरक्षण र प्रवर्दनका यस्ता कार्यक्रमको संख्या बढाउने र रचनात्मक बनाउने तर्फ सरोकार पक्षले सोच्न आवश्यक छ । नयाँपुस्तालाई यस्ता कार्यक्रम सक्रिय रूपमा सहभागी हुने माहोल सिर्जना गर्नुपर्छ ।

५. हाइटेकको उपयोग
मातृभाषा संरक्षण तथा प्रवद्र्धनमा नयाँ पुस्तालाई आकर्षित गर्न सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, विभिन्न मातृभाषाका आइटी क्षेत्रमा कार्यरत प्रतिभाहरूको सदुपयोग गरी मातृभाषा सिकाइका लागि लर्निङ एप्स विकास गर्न सकिन्छ । यस्ता एप्समार्फत मातृभाषाको पढाइ–सिकाइका साथै विभिन्न स्तरका सिकाइको मूल्यांकन गर्ने व्यवस्था गर्न सके मातृभाषा संरक्षणमा नयाँ आयाम थपिन सक्छ ।

निष्कर्ष र सन्देश
शिक्षित वर्गबाटै अल्पसंख्यक मातृभाषा हराउँदै जाँदा ती भाषाले राजनीतिक र संस्थागत समर्थन गुमाउँछन्, जसले सिमान्तीकरण बढाउँछ । विश्वव्यापीकरणसँगै आन्तरिक स्थानान्तरणका कारण मातृभाषा संकटमा परेको छ । त्यसैले, परिवारदेखि समाजसम्म मातृभाषाका सजीव अभियान मार्फत मातृभाषाको संरक्षण र प्रवद्र्धन गर्न सरोकार पक्षहरूले ठोस पहल गर्न आवश्यक छ ।

(कार्की वासेदा विश्वविद्यालयमा विकासशील देशको शिक्षानीतिबारे विद्यावारिधि तहकी शोधार्थी हुन् ।)

सुझावित समाचार