नेवाः भाषामा य अर्थात् मनपर्ने र मरी अर्थात् रोटी हो । यही योमरी अब नेवाः समुदाय र नेपालमा मात्र सीमित नहुने भएको छ । योमरीले पखेटा फिँजाएर विश्वयात्रा गर्दै छ । यसका लागि काठमाडौं महानगरले पहल थालेको छ ।यमरी नेवाः समुदायमा प्रचलित खानेकुरा हो । नयाँ धान थन्क्याएपछि त्यसवर्षको अन्नको पहिलो परिकार नै योमरी हुने गर्छ । यमरी बनाउन चामलको पिठो पानीमा मुसिन्छ । त्यसमा राख्न तिल र चाकु तयार पारिन्छ । पछिल्लो समय पिठोभित्र खुवा, कुराउनीलगायत परिकार पनि राख्न थालिएको छ । पिठोको डल्लोलाई क्रमशः एकातर्फ चुच्चो बनाउँदै लगिन्छ । औँलाको सहयोगमा एकातर्फबाट पिठोको डल्लोमा पारेको प्वालमा चाकु वा अन्य स्वादअनुसारको खाद्यवस्तु राखी मुख बन्द गरिन्छ । त्यसपछि बाफमा पकाइन्छ । यसलाई बफ्याउन विशेष प्रकारको भाँडोको प्रयोग गरिन्छ ।
वर्षभरि खानका लागि प्रमुख अन्न धान भित्र्याएपछि त्यो धान कुटेर बनाइएको चामलबाट तयार पारिएको योमरी अर्थात् मन रोटी तयार गरी यस दिनमा देवी–देवतालाई चढाउने, आफू र आफन्तलाई खुवाउने चलन रहेको छ । अन्न फलाउन सन्तुलित प्राकृतिक वातावरण आवश्यक पर्ने भएकाले यसलाई प्रकृतिसँग पनि जोडिएको छ ।
छैटौँ शताब्दीबाटै योमरीको प्रचलन
योमरी खाने प्रचलन छैटौँ शताब्दीबाटै सुरु भएको मानिन्छ । लिच्छविकालीन राजा अंशु बर्माको समयमा नेपालमा धान खेतीको प्रचलन सुरु भएको र त्यही वेलादेखि योमरी बनाउन थालिएको बताइन्छ । संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार वंशावलीबाट प्राप्त प्रमाण र अरू प्रमाणसँग तुलनात्मक अध्ययन गर्दा यस्तो देखिएको हो । ‘हामीसँग अभिलेख प्राप्त छैन । तर, वंशावली प्रमाण र अरू प्रमाणसँग तुलनात्मक अध्ययन गरेर हेर्दा अंशु बर्माको पालादेखि धान संस्कृति सुरु भएको र त्यसैवेलादेखि योमरी खान सुरु गरिएको देखिन्छ,’ श्रेष्ठ भन्छन् ।
योमरीसँग सम्बन्धित धेरै मिथहरू छन् । जसमध्ये हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ अर्थात् काभ्रेपलाञ्चोकको पनौतीबाट योमरी बनाउने प्रचलन सुरु भएको पनि भनिन्छ । श्रेष्ठ पनि योमरीका विषयमा धेरै कथा बने पनि पनौतीबाटै यसको प्रचलन भएको मान्छन् ।चामलको पिठोमा विशेषगरी मास, मुगी, चाकु राखेर योमरी खाने चलन छ । चाकुले ऊर्जा दिन्छ । जुन वैज्ञानिक रूपमा प्रमाणित भएको छ । ऋतुअनुसार खानपिन गर्न जान्ने एउटा विज्ञान वा कला नेवाः समुदायसँग भएको उनी दाबी गर्छन् । ‘योमरी र नेवाः संस्कृति एक सिक्काका दुई पाटा हुन् । योमरी भन्नेबित्तिकै नेवार जोडिएर आउँछ,’ श्रेष्ठ भन्छन्, ‘नेपाल मण्डलमा धान संस्कृति र सभ्यताको सुरु गर्ने नेवारहरू हुन् । नेपाल मण्डलमा खेतीपाती गरेर सभ्यताको उद्घोष गर्ने नेवार हुन् । त्यसैले नेवारहरूले चामलको पिठो, धानलाई विभिन्न रूपमा प्रचलनमा ल्याउन थाले । त्यही सन्दर्भमा ऋतुअनुसारको खानाको रूपमा जाडो समयमा योमरी खान थालियो ।’ नेवाः समुदायमा योमरी अन्य विशेष अवसरमा पनि बनाएर खाने प्रचलन छ ।
छैटौँ शताब्दीबाट प्रचलनमा आएको यो खानालाई विश्वमाझ चिनाउन पहल भइसकेको छ । नेवाः समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार योमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न महानगरले पहलसमेत थालेको छ । ‘हरेक शुभकार्यसँग जोडिएको योमरीको महŒव र पहिचानलाई राष्ट्रियकरण गर्दै युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तर्राष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान बढाउँछ,’ महामनगरका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भने, ‘योमरी खाद्य परिकार मात्र होइन, यसले प्रकृति, कृषि पेसा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग पनि गहिरो सम्बन्ध राख्छ ।’
योमरीसँगै अनगिन्ती अभौतिक सम्पदा सूचीकृत गर्नुपर्नेछ । यसले सम्पदाको एकीकृत विकासमा टेवा दिने उनको भनाइ छ । उनका अनुसार समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवद्र्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको छ ।योमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत हुनु नेपालको अर्थतन्त्र र पर्यटनमा टेवा पुग्नु भएको सरोकारवाला बताउँछन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार प्राचीनकालदेखि चल्दै आएको रोटी प्रजातिको यो खानालाई विश्वसम्म लैजान पहल भइरहेको छ ।
‘नेवाः समुदायमा सदियौँदेखि प्रयोग हुँदै आएको यो रोटी विज्ञान र प्रकृतिसँग समेत जोडिएको छ । यसलाई अभौतिक सम्पदाको रूपमा सूचीकृत गर्न सकिए पर्यटन र अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ ।’ महानगरको यो यात्रामा युनस्कोका प्रतिनिधिले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । यदि योमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदाको सू्चीमा पर्ने हो भने महानगरले अरू भौतिक र अभौतिक सम्पदालाई पनि सूचीकृत गर्न पहल थाल्नेछ ।
महानगरपालिकाका पुराना सहरी क्षेत्रका चोक–चोकमा, गुठी–गुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन् । अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि सन् २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्षराष्ट्र भएको हो ।