हाम्रा पुर्खाले चरालाई चिनेका थिए, उनीहरूको व्यवहार बुझेका थिए । तर, वैज्ञानिक अध्ययन भने भएको थिएन । वैज्ञानिक अध्ययन विदेशी काठमाडौंमै बसेर सुरु गरेका थिए । काठमाडौं उपत्यकाबाटै नेपालका चराको औपचारिक अभिलेख राख्न थालिएको हो । हिजोको काठमाडौं उपत्यका र आजकोमा ठुलो अन्तर छ । एक समय यहाँ वन थिए, ताल–तलैया थिए, पोखरी थिए, स्वच्छ नदी बग्थे । बागमती नदी पनि निकै सफा थियो । बागमती र विष्णुमती नदीको छेउमा घाँसे फाँट थिए ।
त्यहाँ विभिन्न प्रजातिका चरा पाइन्थे । पानी प्रशस्त थियो । नदीकिनारमा सीमसार क्षेत्र थिए । ती सबै चराका लागि उपयुक्त वासस्थान मानिन्थ्यो । भ्याली फ्लोरमा चराको वासस्थान लगभग समाप्त भएको छ । तर, उपत्यकाका डाँडामा भने अझै वन जीवित छन् । चराको वासस्थान पनि त्यहाँ कायम छ । उदाहरणका रूपमा शिवपुरी राष्ट्रिय निकुञ्ज, नागर्जुन वन, फुल्चोकी र चम्पादेवी क्षेत्रमा अझै चराको राम्रो उपस्थिति छ । वनमा आश्रित चरा पूर्ण रूपमा लोप भएका छैनन्, तर संख्या घटेको छ ।
उपत्यकामा सिमसारको संकट
मानिसहरूको क्रियाकलापले चराको वासस्थान मासियो । उपत्यकाको सतहमा रहेका ताल–तलैया र नदी सुक्ने अवस्थामा पुगेका छन् । कतिपय ताल–तलैया हराइसके । अग्ला भवन बनिसकेका छन् । सिमसारमा आश्रित चराको वासस्थान व्यापक रूपमा नष्ट भएको छ ।एक समय काठमाडौं उपत्यकामा हिउँद बिताउने र वर्षाको समयमा बच्चा कोरल्ने सिमसार–आश्रित चरा प्रशस्त देख्न पाइन्थ्यो । तर, अहिले तिनीहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ । ८० प्रतिशतभन्दा बढी सिमसार–आश्रित वासस्थान हराइसकेको छ । केही वर्षअघि त्यहाँ नयाँ–नयाँ प्रजाति भेटिन्थे, विशेषगरी वर्षायाममा । तर, अहिले संख्या घट्दो छ ।
टौदह
टौदह पहिले जलपक्षीका लागि प्रसिद्ध थियो । करिब २० वर्षअघि त्यहाँ ५०० भन्दा बढी हाँस देखिन्थे । अन्य पक्षी पनि प्रशस्त थिए । टौदहको जैविक अस्तित्व समाप्त भयो भन्दा फरक पर्दैन । गुलाफी टाउके हाँस, विश्वमै दुर्लभ कैलो टाउके हाँससँगै सयौँको संख्यामा पाहुना चरा कुनै समय टौदहमा पाइने अभिलेखमा पाइन्छ । अहिले पोखरीमा सिमेन्टको संरचना, सिँढी र रिसोर्ट बनेका छन् । चराहरू सधैँका लागि आउन छोड्यो । उपयुक्त वासस्थान भएन । अहिले ४०–५० प्रजातिका चरा पुग्न कठिन भएको छ । ताल छ, तर चराको संख्या घटेको छ । टौ दहको जैविक विविधतामा प्रत्यक्ष ह्रास आएको देखिन्छ ।
बागमती नदीका फाँट हराएपछि त्यहाँ पाइने सिमसार–आश्रित चरा पनि हराए । चोभारतिर चरा बस्ने ठाउँ न्यून छ, दक्षिणतिर केही स्थानमा मात्र देखिन्छ । हिउँदमा आउने ‘राज हुटिट्याउँ’ जस्ता चरा बर्सेनि आउँछन्, तर सुरक्षित बसोवासको अभाव छ । बागमती नदीका फाँटमा अहिले चरा छैनन् । चोभार कटेपछि दक्षिणतिर जाँदा केही स्थानमा चरा बस्छन् । ‘राज हुटिट्याउँ’ नामक चरा देख्न पाइन्छ । हिउँदको समय ५०–६० को संख्यामा आउँछन् । त्यो चरा बर्सेनि आउँछ । तर, उनीहरूलाई बस्न गाह्रो छ । बढ्दो सहरीकरणका कारण घर बनिरहेका छन् । खाली जग्गा छैन । उनीहरू अप्ठ्यारोमा परेका छन् । बागमतीको घाँसेमैदानमा स–साना प्रजातिदेखि सिकारी चरा देखिन्थे । सिकारी चरामध्ये हुचिल पहिले राम्रै संख्यामा देखिन्थे । अहिले हुचिल बस्ने राम्रो वासस्थान नै छैनन् ।
घट्दै छ चराको विविधता
पहिले पाइने विविधता अहिले देखिँदैन । अहिले प्रायः मानव बस्तीमा अभ्यस्त चरा मात्र देखिन्छन्, भँगेरा, काग, परेवा आदि । यी चरा मानवसँग सहअस्तित्वमा बस्न रुचाउँछन् । तर, सिम कुखुरा, बकुल्लाजस्ता सिमसार–आश्रित रैथाने चरा घटेका छन् । बच्चा कोरल्ने सुरक्षित वातावरण नहुँदा उनीहरूको जीवनचक्र प्रभावित भएको देखिन्छ । बालुवाटार, लाजिम्पाट, गैरीधाराजस्ता हरियाली बाँकी रहेका क्षेत्रमा केही प्रजातिका चरा देखिन्छन् । तर, संख्या नै महत्वपूर्ण हो । सतहबाट हराएर डाँडातिर चरा सीमित हुँदै गएका छन् । चरा देखिनु मात्रै ठुलो कुरा होइन । उनीहरूको जीवनचक्र महत्वपूर्ण हुन्छ । उनीहरूले बच्चा कोरल्न सक्ने वातावरण हुनुपर्छ । बच्चा कोरल्ने वातावरणमा असर पुगेको छ । त्यसका लागि सुरक्षित ठाउँ आवश्यक पर्छ ।
उपत्यकाको समथर क्षेत्रबाट सबै चरा हराए भन्न मिल्दैन । गोकर्ण वन अझै जीवित छ । त्यहाँ ठुलो संख्यामा चराहरूको प्रजाति पाइन्छ । मनहरा क्षेत्रको उत्तरतिर, बोडेआसपास, अझै केही चरा देखिन्छन् । वर्षाको समयमा नयाँ–नयाँ प्रजाति भेटिन्थे । तर, संख्या घटेको छ । नागदहमा फेरि चरा बस्न थालेका छन् । तर, त्यो पनि कति दिन सुरक्षित रहला भन्ने चिन्ता छ ।
रानीबारी, नारायणहिटी क्षेत्र, बुढानिलकण्ठतिर अझै विविध प्रजातिका चराहरू भेटिन्छन् । म आफैँ बालुवाटार, लाजिम्पाट, गैरीधारा क्षेत्रका चरा नोट गर्छु । एक दिन घरको छतमा बसेर २० प्रजाति देखेँ । जहाँ रुपी, मलेवा, गाैँथली, भँगेरा दुई प्रजातिका, कालो चिल, बुलबुल जुरेली, मैना दुई प्रकारको, धोबिनी चरा, सुँगा, कुरले ढुकुर, फिस्टो, बकुल्लालगायत चरा पाइन्छन् । रानीपोखरी र कमलपोखरीमा चरा छैनन् । त्यहाँ केही चरा फाट्टफुट्ट मात्रै देखिन्छन् । नारायणहिटी क्षेत्रमा पनि पाइन्छ । तर, आधुनिक संरचनाले त्यहाँका चरा अरू ठाउँमा विस्थापित भए ।
चरामैत्री छैनन् आधुनिक संरचना
हिजोका परम्परागत घर चरामैत्री थिए । घर वरिपरि रुखबिरुवा हुन्थे । बगैँचा हुन्थे । छानाको तल्लो भागमा चराले गुँड लगाउँथे । लाटोकोसेरो, गाँैथली, भँगेराजस्ता चरा पुराना संरचनामा बस्न रुचाउँथे । तर, आज सिसाका अग्ला भवन बनेका छन् । यस्ता संरचनामा ठोक्किएर चरा मर्ने घटना पनि बढेका छन् । आधुनिक संरचना चरामैत्री छैनन् । राणाकालीन दरबार र पुराना मन्दिरमा अझै चरा देखिन्छन् । असन–इन्द्रचोकमा गयो भने भँगेरा, काग, परेवा मात्रै देखिन्छन् । ती मानवसँग बस्न रुचाउने चरा हुन् । मानव बस्ती नै उनीहरूको वासस्थान हो ।
वासस्थान जोगाउन के गर्ने ?
उपत्यकामा चरै छैनन् भन्ने होइन । तर, वासस्थानको ठुलो हिस्सा नष्ट भइसकेको छ । विशेषगरी सिमसार र फाँट मासिएका छन् । संरक्षणको नाममा गरिने सौन्दर्यकरणले पनि कहिलेकाहीँ प्राकृतिक वासस्थान नष्ट गरिरहेको छ । साना घाँसे मैदान हराइरहेका छन् । अब राज्यस्तरबाट चासो देखाउँने वेला आएको छ । उपत्यकामा चराहरूको वासस्थान जोगाउनु नीति आवश्यक छ ।
उपत्यकाका बाँकी सिमसार जोगाउने, नदीकिनार प्राकृतिक रूपमा संरक्षण गर्ने, हरियाली विस्तार गर्ने, फलफूल र फूल फुल्ने बिरुवा रोप्ने काम गर्नुपर्छ, जहाँ चराहरूले आफ्नो वासस्थान बनाउन सकून् । जनस्तरमा पनि सचेतना आवश्यक छ । घरछेउछाउ वासस्थान जोगाउने चेतना फैलाउँनुपर्छ । हामीले पर्यावरणमैत्री व्यवहार र कानुनको पालना गर्नुपर्छ । स्थानीय सरकारले हरियाली बढाउन योजना ल्याउनुपर्छ ।