माघमा चालू आर्थिक वर्षकै उच्च कीर्तिमान
व्यापार घाटा ९ खर्ब ५५ अर्ब पुग्यो
निर्वाचन नजिकिँदै जाँदा बढेको राजनीतिक चहलपहलसँगै सीमापार व्यापारमा पनि उछाल आएको छ । निर्वाचनको तयारीले आयात–निर्यात ‘गुल्जार’ बनाउँदा चालू आर्थिक वर्षको सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोडको वैदेशिक व्यापार भएको छ । सो अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोडको आयात हुँदा निर्यात भने एक खर्ब ६८ अर्ब १४ करोडको मात्र छ ।
माघमा एक खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भई चालू आर्थिक वर्षकै उच्च कीर्तिमान बनेको छ । तर, आयात उकालो लाग्दा पनि राजस्वमा भने अपेक्षित सुधार देखिएको छैन ।भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा एक खर्ब ८४ अर्ब ४६ करोड ३३ लाख ३० हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । चालू आर्थिक वर्षमा यो कुनै पनि महिनामा भएको सबैभन्दा उच्च आयात हो ।
विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख, भदौमा एक खर्ब ६२ अर्ब ११ करोड ४४ लाख, असोजमा एक खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख, कात्तिकमा एक खर्ब ४१ अर्ब ३६ करोड ७९ लाख, मंसिरमा एक खर्ब ५६ अर्ब ७३ करोड ७९ लाख र पुसमा एक खर्ब ७२ अर्ब ८३ करोड ३६ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।
पुसदेखि नै चुनावलक्षित सामग्री आयात हुन थालेको विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । उनका अनुसार गाडीलगायत निर्वाचनसँग सम्बन्धित सामग्री ठुलो परिमाणमा भित्रिएका छन् । ‘पछिल्लो समय चुनावलक्षित वस्तु आयात भएका छन् । चुनावलक्षित सामग्रीमा गाडीको हिस्सा धेरै छ । विभिन्न देशले दिएका सहयोग प्राप्त भएका छन् । चुनावलाई आवश्यक पर्ने अन्य सामग्री पनि आयात भएका छन्,’ उनले भने, ‘त्यसले गर्दा आयात बढाउन केही सहयोग पुगेको छ । आयात बढे पनि यसले राजस्वमा भने खासै योगदान गरेको छैन । चुनावलक्षित सामग्री कर छुटमा ल्याइएको छ ।’ चुनावलाई लक्षित गरेर भारतले ठुलो संख्यामा गाडी सहयोग गरेको छ । त्यस्ता गाडी भन्सार प्रणालीबाटै आयात भएको देखिए पनि कर छुट हुने गर्छ ।
चालू आवको सात महिनामा आयातित वस्तुबाट दुई खर्ब ८० अर्ब ७६ करोड ७८ लाख रुपैयाँ राजस्व उठेको छ । भन्सार विन्दुमा भ्याटसहित विभिन्न शीर्षकमा कर असुली गरिन्छ ।
सात महिनामा १३.६५ प्रतिशतले बढ्यो आयात
चालू आवको पहिलो सात महिनामा समग्र आयात १३.६५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो भने चालू आवमा बढेर ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
३२.१९ प्रतिशतले बढ्यो निर्यात
समीक्षा अवधिमा नेपालको वस्तु निर्यात भने ३२.१९ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालू आवको सात महिनामा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । पछिल्लो समय नेपालबाट भारतमा भटमासको तेलको निर्यात उच्च दरमा वृद्धि भएको छ ।
कच्चा भटमास तेल सबैभन्दा बढी आयात
सात महिनामा ७० अर्ब ९९ करोड ५६ लाखबराबरको कच्चा भटमास तेल आयात भएको छ, जुन सबैभन्दा बढी आयात हुने वस्तु हो । चीन, ब्राजिल, कतार, थाइल्यान्ड, अर्जेन्टिना र युक्रेनलगायत देशबाट आयात गरिएको कच्चा तेल नेपालमै प्रशोधन गरी भारत निर्यात गरिन्छ । पछिल्लो समय भारतमा प्रशोधित भटमास तेलको माग उच्च छ । दोस्रो स्थानमा ६९ अर्ब ९१ करोड रुपैयाँको डिजेल र तेस्रो स्थानमा ३८ अर्ब १३ करोड रुपैयाँको पेट्रोल आयात भएको छ ।
निर्यातमा पनि भटमास तेल नै पहिलो
निर्याततर्फ पनि भटमास तेलकै हिस्सा धेरै छ । समीक्षा अवधिमा ६६ अर्ब ७८ करोड ८७ लाख १४ हजार रुपैयाँको प्रशोधित भटमास तेल निर्यात भएको छ । नेपाली व्यवसायीले विभिन्न मुलुकबाट कच्चा सोयाबिन तेल लिएर भारतमा निर्यात गर्दै आएका छन् । समग्र निर्यात हिस्सा बढ्नुमा भटमास तेलको मुख्य योगदान छ ।
श्यामप्रसाद भण्डारी, महानिर्देशक, भन्सार विभाग
पछिल्लो समय चुनावलक्षित वस्तु आयात भएका छन् । चुनावलक्षित सामग्रीमा गाडीको हिस्सा धेरै छ । विभिन्न देशले दिएका सहयोग प्राप्त भएका छन् । चुनावलाई आवश्यक पर्ने अन्य सामग्री पनि आयात भएका छन् । त्यसले गर्दा आयात बढाउन केही सहयोग पुगेको छ । आयात बढे पनि यसले राजस्वमा भने खासै योगदान गरेको छैन । चुनावलक्षित सामग्री कर छुटमा ल्याइएको छ ।