दोस्रो संस्करणको ‘इन्डो–नेपाल ट्रेड फेस्टिभल’ शुक्रबारदेखि भारतको नयाँदिल्लीमा आयोजना हुँदै छ । तीन दिनसम्म चल्ने ट्रेड फेस्टिभलमा दुई देशका नीति–निर्माता तथा उद्यमी–व्यवसायीबिच अन्तक्र्रिया भेटघाटलगायत कार्यक्रम हुनेछन् ।
‘कनेक्टिक पिपुल, इन्ह्यान्सिङ बाइलाटरल ट्रेड’ भन्ने मूल नाराका साथ आयोजना हुने फेस्टिभलका लागि १० उच्चस्तरीय सत्र, ६० वक्ता र ६५ भन्दा बढी स्टल तोकिएका छन् । महोत्सवको उद्घाटन सत्रमा नेपालका लागि भारतका राजदूत डा. शंकरप्रसाद शर्मा, भारत सरकारका पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, भारतका केन्द्रीय सञ्चारमन्त्री ज्योतिरादित्य सिंधिया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहनेछ ।
फेस्टिभल भारत–नेपालबिच द्विपक्षीय आर्थिक सहकार्य, पर्यटन एकीकरण, सांस्कृतिक आदान–प्रदान तथा लगानी साझेदारी सुदृढ गर्ने प्रमुख द्विपक्षीय मञ्चका रूपमा स्थापित भएको छ । यसपटकको महोत्सवमा जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार तथा कनेक्टिभिटी, रामायण र बौद्ध सर्किटसहित पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम तथा इन्डो–नेपाल सहकार्यको ‘भिजन’ २०३० लगायतका विषयमा विभिन्न १० भन्दा बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवादमा ६० भन्दा बढी विज्ञ सहभागी हुने कार्यक्रम रहेको छ ।
नयाँदिल्लीस्थित पिएडी चेम्बरको भवनमा आयोजना हुने महोत्सवमा व्यवसाय तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई सांगीतिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिनेछ, जसले सहभागीलाई नेपाल र भारतको विशेष सांस्कृतिक अनुभव प्रदान गर्नेछ । महोत्सवलाई २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । इसिसिआईका अध्यक्ष युवराज बरालले फेस्टिभलबारे जानकारी गराउँदै इन्डो–नेपाल ट्रेड फेस्टिभल व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्चका रूपमा परिकल्पना गरिएको बताए ।