यो निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा : वर्षमान पुन

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले २१ फागुनमा हुने निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा भएको बताएका छन्।

बिहीबार रोल्पाको लिबाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पुनले एकथान सांसद र सरकार बनाउने मात्र भन्दा पनि ठुलो वैचारिक दिशा दिन सक्ने सामर्थ्यसहित अहिलेको निर्वाचन भइरहेको बताए।

‘अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन। एकथान सांसद र एकथान सरकार बनाउने निर्वाचन मात्र होइन। वैचारिक रूपले पनि ठुलो डिपार्चर हुने देखिन्छ,’ पुनले भने, ‘दक्षिणपन्थीले जित्यो भने अहिलेसम्म प्राप्त उपलब्धि, जनताका अधिकारहरू खोसिने सम्भावना पनि छ। तर, जनपक्षीय नेतृत्वले जित्यो भने अझअगाडि जाने, सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय कायम गर्दै समाजवादतिर जाने सम्भावना पनि छ।’

नेता पुनले कांग्रेस–एमालेलाई पुराना अतिवादी पार्टीको रुपमा चित्रण गर्दै अब यिनको यथास्थितिवाद स्वीकार्य नभएको बताए। ‘कांग्रेस एमालेजस्तो पुरानो अतिवादी पार्टीहरू छन्, जसले अहिलेकै राज्य दोहन, भ्रष्टाचार, बिचौलिया, दलाल अर्थतन्त्रलाई ठिकै मान्ने, थोरै मान्छेले मजाले लुट्ने र ठुलो संख्याले हेरेर बस्ने यस्तो प्रवृत्तिको हामी विरोधी हौँ। त्यस अर्थमा यथास्थितिवादको हामी विरोधी हौँ,’ पुनले भने।

निर्वाचनबाट दक्षिणपन्थी, यथास्थितिवादी र अग्रगामी शक्तिबिच परीक्षण हुने पनि उनले दाबी गरे।

सुझावित समाचार