नेपाली कांग्रेसका तर्फबाट धनकुटामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिनेश राई आठपहरियाले जिल्लाको समग्र रूपान्तरणका लागि प्रतिबद्धता सार्वजनिक गरेका छन्। बिहीबार धनकुटामा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
‘धनकुटाको जवानीः धनकुटामै लगानी’ भन्ने नारासहित व्यवसायिक शहर र उर्वर गाउँ विकास गर्ने योजना राईले प्रतिबद्धता व्यक्त गरेका छन्। धरान–लेउती सुरुङमार्ग निर्माण र राजारानी खेल मैदानलाई किरण चेम्जोङ अन्तर्राष्ट्रिय रंगशालाको रूपमा विकास गर्ने लक्ष्यसमेत घोषणापत्रमा उल्लेख गरेका छन्।
राईले क्षेत्रीय सन्तुलित विकास, रोजगारी सृजना र कृषि–पर्यटनमा आधारित अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्। धनकुटा–हिले–पाख्रीबास–उत्तारपानी–सिंधुवा समेटेर बृहत् नगर निर्माण गर्ने योजना प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनका लागि ‘हिमालघर’ निर्माणको पहल गर्ने, कोशी लोकमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन गर्ने तथा प्रत्येक पालिकामा एक–एक रंगशाला निर्माण गर्ने उनको संकल्पपत्रमा उल्लेख छ।
त्यस्तै बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजाखेती वैधानिकीकरणका लागि पहल, आठपहरिया जातिको सूचीकरणमा पहल गर्ने जस्ता कार्यक्रम पनि प्राथमिकतामा राखिएको उनले बताए।