रास्वपाले सुदूरपश्चिमबाट चुनावी सभा थालेको छ । बुधबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले धनगढीमा एउटै मञ्चबाट मतदातासँग मत मागेका हुन् । २१ फागुनमा हुने निर्वाचनको प्रचारप्रसार र सभाका लागि निर्वाचन आयोगबाट खुला भएसँगै रास्वपाले ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर चुनावी प्रचार थालेको हो । रास्वपाले यसअघि मनोनयनको अघिल्लो दिन ५ माघमा ‘परिवर्तन उद्घोष सभा’ नै नाम दिएर जनकपुरधाममा सभा गरेको थियो ।
धनगढी सभामा सभापति लामिछानेले फागुन २१ लाई भोट हाल्ने दिन मात्रै नभई, इतिहास लेख्ने दिन भएको भन्दै मत मागे । ‘अब एउटा सटर बन्द हुनुपर्छ, कि हाम्रो सटर बन्द गराइदिनोस्, कि यिनको (पुराना दलको) सटर बन्द गराइदिनोस्,’ उनले भने, ‘कुशासन, बेथिति, बेरोजगारी, अशिक्षाको सबै सटर बन्द गर्ने हो एकैपटक । फागुन २१ गते इतिहास लेख्ने हो । एकैपटक सबै बदल्ने हो ।’
हरेक चुनावमा जनताको अधिकारलाई माग बनाएर घोषणापत्र लेख्ने युग आफ्नो पार्टीले अन्त्य गर्ने दाबी गर्दै लामिछानेले त्यसका लागि पाँच वर्ष सरकार चलाउने जनमत दिन आग्रह गरे । उनले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा छुट्टी मिलाएर स्वदेश फर्किन आह्वान गरे । ‘परिवार पाल्ने बाध्यताले जानुपरेको छ, तैपनि छुट्टी मिलाएरै भए पनि भोट हाल्न आउनुहोला । यसपटक यो देश बदल्नु छ,’ उनले आह्वान गरे, ‘सधैँ नेताले जिते, जनताले कहिल्यै जितेनन्, यसपटक जनता जिताउने हो । हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ ।’
लामिछानेले सिंहदरबार बनाउने मात्र नभई बदल्ने नै योजना लिएर आफ्नो पार्टी आएको पनि बताए । रास्वपालाई दिने भोट परिवर्तनका लागि योगदान हुने उनको भनाइ थियो । ‘देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि–बालेनहरू भोलि आउँछन्÷आउँदैनन् थाहा छैन, अहिले आएका छन्,’ उनले भने, ‘देशको अस्तित्व जोगाउने वेलामा, देशलाई ऐतिहासिक योगदान दिने वेलामा तपाईंले कुनै वेला भन्न पाउनुहुनेछ, यो देश परिवर्तनमा मेरो पनि योगदान छ ।’
कुनै व्यक्तिको राजनीतिक आकांक्षा ठुलो नभएको भन्दै उनले देशको आकांक्षालाई केन्द्रमा राखेर आफूहरू आएको बताए । ‘मेरो राजनीतिक आकांक्षा, अरू कसैको राजनीतिक आकांक्षा ठुलो कुरा होइन, देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर यसपटक हामी आएका छाैँ,’ उनले भने, ‘यिनीहरूले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर तपाईंको भोट चोर्न आउलान्, तिनलाई सोध्नोस् ३५–३५ वर्षसम्म हाम्रो सपनामा डोजर कसले चलायो ?’
रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेनले सभालाई सम्बोधन गर्दै आफूहरू भोटभन्दा पनि काम माग्न आएको भन्दै रास्वपाका उम्मेदवारहरूलाई कामको लिस्ट टिपाएर पठाउन अनुरोध गरे । ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन, काम माग्न आएको हो । काम दिनोस् है । तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई, हाम्रा पार्टीका मान्छेलाई, हाम्रो काम यो हो भनेर लिस्ट दिनू ।
भोट नदिए पनि हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरेर देखाउँछ ।’ बालेनले सम्बोधन गरिरहँदा समर्थकले चस्मा खोल्न आग्रह गरेका थिए । समर्थकको आग्रहमा चस्मा खोलेका बालेनले ‘आँखा हेर्नुपर्दैन, काम हेर्नुहोला,’ भनेका थिए । उनले सुदूरपश्चिम र देशको सपना पूरा गर्ने पार्टी रास्वपा भएको बताए । ‘खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा । खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा,’ उनले भने, ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो ।’
मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भनेकोप्रति टिप्पणी गर्दै उनले स्विट्जरल्यान्डभन्दा राम्रा बडिमालिका, रामारोशन, खप्तडजस्ता ठाउँहरू सुदूरपश्चिममै रहेको पनि उनले बताए । ‘मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन छ, किन बनाउनुपर्यो स्विट्जरल्यान्ड । खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनुप¥यो स्विट्जरल्यान्ड’ उनले भने, ‘हामी नेपाली माल भएका चाल नभएका मान्छेमा पर्यौँ । भएको चिज देखाउन सकेको छैन ।’
सुदूरपश्चिम अहिले पनि काठमाडौंसँग जोडिन नसकेको उनको भनाइ थियो । सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्ने एजेन्डा रास्वपासँग रहेको उनको दाबी छ । ‘सुदूरपश्चिमलाई सु‘नजिक’पश्चिम बनाउनुपर्यो, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा’ उनले भने, ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले बनाउँछ ।’सभामा रास्वपाबाट कैलाली– ५ का उम्मेदवार आनन्दबहादुर चन्दले धनगढीमा बेथितिको जरो उखेल्न तयार रहेको र त्यसको सारथि बन्न आफू यो क्षेत्रबाट उम्मेदवार बनेको बताए । उनले शिक्षा, स्वास्थ्यलगायत यहाँको समग्र विकासको नेतृत्व रास्वापाले गर्ने बताए ।
‘तपाईंहरूले एकातिर गेटामा वर्षौँदेखि अलपत्र भवनहरू देख्नुभएको छ । अर्कोतिर सेती अस्पतालमा आइसियूदेखि बेडसम्मको अभाव पनि देख्नुभएको छ,’ उनले भने, एकातिर संरचना खाली, अर्कोतिर बिरामी छट्पटाउने यस्तो अवस्थाको अन्त्य हामी मात्रै गर्न सक्छौँ । गेटामा मेडिकल शिक्षा सञ्चालन गरेर र सेती अस्पताललाई सुदृढ बनाउँदै जनशक्ति र उपचार दुवै समस्या समाधान गर्ने हाम्रो स्पष्ट योजना छ ।’
यस क्षेत्रलाई सुदूरपश्चिमको औद्योगिक केन्द्रका रूपमा विकास गर्ने योजना आफूले बनाएको चन्दले बताए । सेवा लिँदा सास्ती नहुने थिति बसाल्ने र कैलाली–५ को मुहार परिवर्तन गर्ने प्रतिबद्धता उनले जनाए । ‘हामी धनगढीलाई आर्थिक विकासबाट धनको गढ बनाउन चाहन्छौँ । भौतिक विकासबाट धनगढी उपमहानगरलाई नमुना सहर बनाउँछौँ । कैलाली–५ हरेक दृष्टिबाट देशकै नमुना निर्वाचन क्षेत्र बनाउँछौँ,’ उनले भने, ‘हामी अवस्था बदल्ने संकल्प लिएर आएका छौँ ।’सभामा सुदूरपश्चिमका धेरैजसो क्षेत्रबाट आएका रास्वपाका उम्मेदवारले पनि सम्बोधन गरेका थिए ।
सभामा ठुलो संख्यामा रास्वपाका कार्यकर्ता र समर्थक सहभागी थिए ।रास्वपाले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा ‘परिवर्तन उद्घोष सभा’ गर्दै छ । यही सभामा पार्टीको चुनावी वाचापत्र सार्वजनिक गरिने उपसभापति डिपी अर्यालले जानकारी दिए ।
सभामा रवि र बालेनले के भने ?
२१ फागुनमा इतिहास लेख्ने हो, एकैपटक सबै बदल्ने हो
रवि लामिछाने, सभापति
- अब एउटा सटर बन्द हुनुपर्छ, कि हाम्रो सटर बन्द गराइदिनोस्, कि यिनको (पुराना दलको) सटर बन्द गराइदिनोस् ‘कुशासन, बेथिति, बेरोजगारी, अशिक्षाको सबै सटर बन्द गर्ने हो एकैपटक । फागुन २१ गते इतिहास लेख्ने हो । एकैपटक सबै बदल्ने हो ।
- परिवार पाल्ने बाध्यताले परदेश जानुपरेको छ, तैपनि छुट्टी मिलाएरै भए पनि भोट हाल्न आउनुहोला । यसपटक यो देश बदल्नु छ । सधैँ नेताले जिते, जनताले कहिल्यै जितेनन्, यसपटक जनता जिताउने हो । हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ ।
- देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि–बालेनहरू भोलि आउँछन्/आउँदैनन् थाहा छैन, अहिले आएका छन् । देशको अस्तित्व जोगाउने वेलामा, देशलाई ऐतिहासिक योगदान दिने वेलामा तपाईंले कुनै वेला भन्न पाउनुहुनेछ, यो देश परिवर्तनमा मेरो पनि योगदान छ ।
हाम्रा उम्मेदवारलाई गर्नुपर्ने काम यो हो भनेर लिस्ट दिएर पठाउनुहोला
बालेन्द्र शाह, वरिष्ठ नेता
- राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन, काम माग्न आएको हो । काम दिनोस् है । तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । भोट नदिए पनि हुन्छ ।
- खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो, स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो ।
- मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन छ, खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्यान्ड ?