क्यानडाका युवराज समारा समग्र विश्वकप क्रिकेटकै शतक लगाउने कान्छा खेलाडी बनेका छन् । १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा समाराले मंगलबार न्युजिल्यान्डविरुद्ध ११० रनको शतकीय इनिङ्स खेलेका हुन् । उनको उमेर १९ वर्ष १४१ दिन हो । यसअघि विश्वकप इतिहासमा समाराअघि पाउल स्ट्रेलिङले २० वर्ष १९६ दिनमा नेदरल्यानड्सविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । उनले सन् २०११ को एकदिवसीय विश्वकपमा यो रेकर्ड राखेका थिए । अब पाउलको रेकर्ड एसोसिएट राष्ट्र क्यानडाका समाराले तोडेका छन् ।
टी–२० विश्वकपमा कीर्तिमानी प्रदर्शन गरे पनि समाराले क्यानडालाई न्युजिल्यान्डविरुद्ध जित दिलाउन सकेनन् । चेन्नईमा पहिलो ब्याटिङ गरेको क्यानडाले २० ओभरमा चार विकेट गुमाएर १७३ रनको बलियो योगफल खडा गरेको थियो । जसमा समाराले ६५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ११० रनको योगदान दिएका थिए ।
प्रत्युत्तरमा न्युजिल्यान्डले १५.१ ओभरमा दुई विकेटको क्षतिमा १७६ रन जोड्यो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ३६ बलमा ७६ रन बनाउनुका साथै तीन क्याच लिएका थिए ।
क्यानडाले पहिलो विकेटका लागि १३.६ ओभरमा ११६ रनको शतकीय साझेदारी गरेको थियो । ओपनर दिलिप्रित बज्वाले ३९ बलमा ३६ रन जोडेका थिए । न्युजिल्यान्डका लागि ग्लेनबाहेक राचिन रभिन्द्राले ३९ बलमा चार चौका र तीन छक्का प्रहार गरी ५९ रन जोडेका थिए । लक्ष्य पछ्याएको इनिङ्समा न्युजिल्यान्डको गतिलो सुरुवात भएन । इनिङ्सको २.४ ओभरमा न्युजिल्यान्डले पहिलो विकेट गुमाएको थियो । टिम सेफेर्ट ६ रनमा आउट भएका थिए । त्यसपछि फिन एलान इनिङ्सको ३.१ ओभरमा पेभेलियन फर्किए । न्युजिल्यान्डले पहिलो दुई विकेट गुमाउँदा स्कोर बोर्डमा ३० रन जोडेको थियो । त्यसपछि राचिन र ग्लेनबिच दोस्रो विकेट निमित्त १४६ रनको नटआउट साझेदारी भएको थियो ।
कीर्तिमानले भरिएको प्रतिस्पर्धा
न्युजिल्यान्डसँग खेलमा क्यानडाले थुप्रै रेकर्ड बनाएको छ । ओपनर समाराले टी–२० विश्वकपमा सबैभन्दा युवा खेलाडीका रूपमा अर्धशतक र शतक लगाए । क्यानडाका लागि टी–२० विश्वकपमा उनले सबैभन्दा धेरै व्यक्तिगत रन बटुले । एसोसिएट राष्ट्रबाट टी–२० विश्वकपमा पहिलो शतक लगाउन उनी पहिलो खेलाडी बने । यसअघि सन् २०२४ को संस्करणमा आरोन जोनेसले क्यानडाविरुद्ध ९४ रन बनाएका थिए ।
क्यानडाले न्युजिल्यान्डविरुद्ध कुल बनाएको योगफलमा समाराले ६३.८५ प्रतिशत योगदान दिएका थिए । टोलीको कुल योगफल धेरै प्रतिशत योगदान दिने उनी तेस्रो खेलाडी हुन् । सन् २०१४ मा न्युजिल्यान्डले श्रीलंकाविरुद्ध खेल्दा केन विलियम्सले ७० प्रतिशत रनको योगदान दिएका थिए । सन् २०१२ मा न्युजिल्यान्डका लागि ब्रेन्डान म्याककुलमले ६४.४ प्रतिशत रनको योगदान दिए । न्युजिल्यान्डले बंगलादेशविरुद्ध १९१–३ को प्रदर्शन गरेको थियो ।