- राजनीतिक दल र उम्मेदवारले चुनावसँग सम्बन्धित सबै आम्दानी र खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्ने निर्वाचन आचारसंहिता भए पनि अधिकांश दलको बेवास्ता, ६८ दलमध्ये ६ दलले र साढे ६ हजार उम्मेदवारमध्ये ७३३ ले मात्र खाता खोले
निर्वाचन खर्च र आम्दानी व्यवस्थित एवं पारदर्शी बनाउन छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने निर्वाचन आचारसंहिता रहे पनि अधिकांश दल र उम्मेदवारले यसलाई बेवास्ता गरेका छन् । मतदानका लागि १५ दिन मात्रै बाँकी रहे पनि मंगलबारसम्म ६ दल र ७३३ उम्मेदवारले मात्रै चुनावकेन्द्रित खाता खोलेका छन् । २१ फागुनको निर्वाचनका लागि प्रत्यक्षमा ६५ दलबाट ३,४०६ र समानुपातिकमा ६३ दलबाट ३१३५ उम्मेद्वार छन् ।
निर्वाचनमा भाग लिन आयोगमा दर्ता ६८ दलमध्ये ६२ दलले हालसम्म खाता नखोलेको निर्वाचन आयोगको तथ्यांक छ । यस्तै, आयोगका अनुसार मंगलबारसम्म ७३३ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि खाता खोलेका छन् । बैंक खाता नखोली निर्वाचन प्रचार–प्रसार खर्च गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि कारबाहीबारे आयोगले केही निर्णय लिएको छैन ।
आयोगका अनुसार आयोगका अनुसार हालसम्म नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी, नेपालका लागि नेपाली पार्टी र जनता समाजवादी पार्टीले खाता खोल्नका लागि सिफारिस लगेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीलगायतका ६२ वटा दलले निर्वाचनकेन्द्रित खाता खोल्ने प्रक्रिया सुरु गरेका छैनन् ।
आयोगले छुट्टै खाता खोल्ने व्यवस्था मिलाउन पत्राचार गरेपछि १२ माघमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्वाचन प्रयोजनका लागि अलग्गै खाता खोल्न सहजीकरण गर्न सर्कुलर जारी गरेको थियो । सोहीअनुसार आयोगको सिफारिसमा दल र उम्मेदवारले अलग्गै खाता खोलेका हुन् ।
२१ माघमा कांग्रेसले गगनकुमार थापा र उमेश श्रेष्ठ सञ्चालक रहने गरी ललितपुरको पुलचोकमा रहेको प्राइम कमर्सियल बैंकको शाखामा खाता खोल्न सिफारिस लगेको थियो । २५ माघमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले समीर गौतम र हरिबहादुर खड्का सञ्चालक रहने गरी काठमाडौंको मैतीदेवीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न सिफारिस पाएको थियो ।
राष्ट्रिय जनमोर्चाले २६ माघमा सुधा शर्मा र मदन शर्मा सञ्चालक रहने गरी ग्लोबल आइएमईको कपन शाखामा खाता खोल्न सिफारिस पाएको थियो । २८ माघमा नेपाली कम्युनिस्ट पार्टीले एविन्द्र पराजुली र खेमराज पौडेल सञ्चालक रहने गरी ग्लोबल आइएमईको कोटेश्वर शाखामा खाता खोल्न सिफारिस दिइएको थियो ।
४ फागुनमा नेपालका लागि नेपाली पार्टी र जनता समाजवादी पार्टीले खाता खोल्न सिफारिस पाएका थिए । नेपालका लागि नेपाली पार्टीले राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखामा सुशीलचन्द्र अधिकारी र दीपककुमार पोखरेलको नाममा खाता खोल्न सिफारिस लगेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले अशोककुमार राई र शरणकुमार राईको नाममा राष्ट्रिय वाणिज्य बैंकको ग्वार्काेस्थित शाखामा खाता खोल्न सिफारिस लगेको आयोगले जानकारी दिएको छ ।
यस्तै, हालसम्म आयोगबाट ९५७ जना उम्मेदवारले बैंक खाता खोल्नका लागि सिफारिस बुझेको आयोगको भनाइ छ । बैंकर्स संघले मंगलबारसम्म ७३३ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि खाता खोलेको जानकारी आयोगलाई दिएको थियो । आयोगले सोमबार नेपाल बैंकर्स संघका पदाधिकारीसँग छलफल गरेर राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै खाता खुलाउन सहजीकरणका लागि अनुरोध पनि गरेको थियो ।
आयोगले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ, पैसा) को आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवं स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावसँग सम्बन्धित सबै आम्दानी र खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्छ । उम्मेदवारले खर्च गर्न जिम्मेवार पदाधिकारी तोक्नुपर्ने हुन्छ भने दलले पनि सोही खाताबाट मात्रै खर्च गर्नुपर्ने व्यवस्था छ । २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने प्रावधान छ । नगद सहयोग प्राप्त भएमा रसिद दिएर रकम सम्बन्धित खातामा जम्मा गर्नुपर्छ ।
आम्दानी र खर्चको विवरण तोकिएको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । आयोगले मागेमा सबै बिल, भरपाई र बैंक खाताको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्छ । यस व्यवस्थालाई कार्यान्वयन गर्न निर्वाचन आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि’ लागू गरेको छ । साथै, निर्वाचनसम्बन्धी आम्दानी–खर्चको विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान निर्वाचन (कसुर तथा सजाय) ऐनमा समेत उल्लेख छ ।
आयोगकी सहप्रवक्ता सीता पुन श्रीसले छुट्टै खाता खोलेर दल र उम्मेदवारको खर्च व्यवस्थापन गर्ने प्रयास आंशिक कार्यान्वयनमा आएको बताइन् । उनका अनुसार यस्तो नगर्नेमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे आयोगले केही निर्णय लिएको छैन ।
‘छट्टै खाता खोलेर दल र उम्मेदवारको खर्च व्यवस्थापन गर्ने आयोगको यो पहिलो प्रयास हो । कतिपय उम्मेदवारले निर्वाचन क्षेत्रमै व्यस्त रहेको र व्यक्तिगत खाताबाटै खर्च भइरहेको जानकारी दिएका छन् । व्यक्तिगत खातामा आयोगले पहुँच राख्ने विषयमा समस्या हुने भएकाले निर्वाचन प्रयोजनका लागि अलग्गै खाता खोल्न भनेका हौँ,’ उनले भनिन्, ‘बैंक खाता नखोली निर्वाचन प्रचारप्रसार खर्च गर्दा आचारसंहिता उल्लंघन हुन्छ । तर, खाता नखोले के कारबाही हुन्छ भन्ने अहिलेसम्म आयोगले निर्णय लिइसकेको छैन ।’