बजेटको लक्ष्य र दाताको प्रतिबद्धताअनुसार आउँदैन वैदेशिक अनुदान

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण
  • अनुदान र सहुलियतपूर्ण ऋणको अंश घट्दै गएका कारण वैकल्पिक विकास वित्त उपकरण प्रयोगमा ल्याउनुपर्ने अर्थ मन्त्रालयको विश्लेषण

सरकारले वार्षिक बजेटका लागि लिएको लक्ष्य र विकास साझेदारले गरेको प्रतिबद्धताअनुसार वैदेशिक अनुदान प्राप्त हुन नसकेको देखिएको छ । पछिल्ला वर्षहरूमा वैदेशिक अनुदान प्राप्ति निरन्तर घट्दै आएको समेत देखिन्छ । वैदेशिक सहायताको वित्तीय लागत बढ्दै गएको भए पनि अनुदान भने घट्दो देखिएको अर्थ मन्त्रालयकै प्रतिवेदनले औँल्याएको छ । 

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा सरकारले सात अर्ब ११ करोड वैदेशिक अनुदान परिचालन गरेको छ । जुन वार्षिक बजेटमा लिइएको लक्ष्यको तुलनामा १३.३ प्रतिशतबराबर हो । चालू आवमा सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य राखेको छ । गत आवको पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १४.७५ प्रतिशत अर्थात् सात अर्ब ७१ करोड वैदेशिक अनुदान परिचालन गरेको थियो । गत आवको तुलनामा चालू आवको ६ महिनामा परिचालन गरिएको वैदेशिक अनुदान ६० करोड रुपैयाँ अर्थात् १.४५ प्रतिशत विन्दुले कमी हो । अनुदान र सहुुलियतपूर्ण ऋणको अंश घट्दै गएको सन्दर्भमा ‘ब्लेनडेड फाइनान्स’ र ‘हरित बन्ड’जस्ता वैकल्पिक विकास वित्तका उपकरणहरूको सम्भाव्यता अध्ययन गरी प्रयोगमा ल्याउनुपर्ने अर्थ मन्त्रालयको निष्कर्षसमेत छ । 

यो आवको पुस मसान्तसम्ममा विकास साझेदारले गरेको प्रतिबद्धाताको तुलनामा झन्डै एकतिहाइ मात्रै वैदेशिक अनुदान प्राप्त भएको छ । समीक्षा अवधिमा १९ अर्ब २५ करोडबराबरको अनुदान सहायताको प्रतिबद्धता आएकोमा प्राप्ति भने सात अर्ब ११ करोड मात्रै भएको हो ।

गत आव ०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान परिचालनको लक्ष्य लिएको थियो । विकास साझेदारबाट लक्ष्यभन्दा बढी ५४ अर्ब ७६ करोड रुपैयाँको प्रतिबद्धता आएको भए पनि प्राप्ति भने २३ अर्ब ५३ करोड रुपैयाँ मात्रै भयो । विगत पाँच आर्थिक वर्षको बजेटमा विकास सहायता परिचालनबाट व्यहोर्ने स्रोतको विनियोजित अंश क्रमश: घट्दो क्रममा रहेको देखिएको अर्थ मन्त्रालयले जनाएको छ । हाल कार्यान्वयनमा रहेका वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरूको उपलब्ध स्रोत हेर्दा आयोजना कार्यान्वयन प्रभावकारी हुन सकेमा वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य बढोत्तरी हुने अवस्था रहेको अर्थ मन्त्रालयको दाबी छ ।

लक्ष्य र प्रतिबद्धताअनुसार वैदेशिक अनुदान परिचालन किन भएन ?
वैदेशिक सहायता रहेका आयोजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा लक्ष्य र प्रतिबद्धताअनुसार अनुदान परिचालन गर्न नसकिएको अर्थ मन्त्रालयको विश्लेषण छ । ‘वैदेशिक सहायताको वित्तीय सम्झौता भएपश्चात् कार्यान्वयनका क्रममा समयमा नै पूर्वतयारी र ठेक्का व्यवस्थापन हुन नसक्दा प्रतिबद्धता रकम हुँदाहुँदै पनि वास्तविक प्राप्ति रकम अपेक्षाकृत कम हुने समस्या कायम नै रहेको छ,’ अर्थ मन्त्रालयले बजेको अर्धवार्षिक समीक्षामा उल्लेख गरेको छ । वैदेशिक सहायताको वित्तीय लागत बढ्दै गएको र अनुदानको अंश घट्दै गएकाले गुणस्तरीय आयोजना–कार्यक्रम छनोट हुनुपर्ने भए पनि परम्परागत हिसाबले नै आयोजना प्रस्ताव हुने गरेको अर्थले औँल्याएको छ । ‘विकास सहायता प्राप्तिको चरणमा विषयगत मन्त्रालयहरूले देखाउने सक्रियता र तदारुकता आयोजना कार्यान्वयन, जनशक्ति व्यवस्थापन र नतिजा प्राप्तिको चरणमा निरन्तरता कायम नहुने चुनौती देखिएको छ,’ अर्धवार्षिक समीक्षमा उल्लेख छ ।

यद्यपि, चालू आर्थिक वर्षमा विश्व बैंकतर्फ तीनवटा आयोजनाको वार्ता सम्पन्न भइसकेको र एसियाली विकास बैंकतर्फ एउटा आयोजनाको वार्ता हुने क्रममा रहेकाले तेस्रो त्रैमासिक अवधिमा प्रतिबद्धता रकममा उल्लेख्य वृद्धि हुने अवस्था रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । 

अनुदानको सवा दुई अर्ब रुपैयाँ शोधभर्ना हुन बाँकी
वैदेशिक अनुदान घट्दो अवस्थामा रहे पनि अनुदानका आयोजना तथा कार्यक्रममा नेपाल सरकारको स्रोतबाट खर्च भई दाताबाट शोधभर्ना गर्नुपर्ने रकम भने बढ्दो अवस्थामा छ । आर्थिक वर्ष ०८२/८३ को सुरुवातमा विकास सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम अनुदानतर्फ दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा फरफारक हुँदासमेत शोधभर्ना हुन बाँकी अनुदानतर्फको रकम दुई अर्ब ३८ करोड ३० लाख पुगिसकेको छ । 

See More On

सुझावित समाचार