- पोखरामा विद्यार्थी लिएर विद्यालय जाँदै गरेका स्कुलबसका चालकको मापसे चेकिङ, कुमुदिनी, विन्ध्येश्वरी, अञ्जुली, एसओएस र माउन्ट हेभेनका पाँच चालकले रक्सी पिएर चलाएको भेटियो
बालबालिकाका लागि घरपछि सबैभन्दा सुरक्षित मानिन्छ, विद्यालय । सुरक्षा र सिकाइका लागि विद्यालय बालबालिकाको दोस्रो घर नै हो । त्यसैले त आफ्ना सन्तानको भविष्य हेरेर अभिभावकहरू राम्रा भनिएका विद्यालयमा भर्ना गर्छन् । तर, विद्यालयले लापरबाही गर्दा बालबालिकाको वर्तमान नै पनि जोखिममा पर्न सक्छ ।
ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा सोमबार बिहान पोखरामा विद्यार्थी बोकेर विद्यालय जाँदै गरेका स्कुलबस चेकिङ गर्दा पाँच चालकले मादक पदार्थ सेवन (मापसे) गरेको भेटियो । विभिन्न ठाउँमा चेकिङ गर्दा गैह्रापाटनस्थित कुमुदिनी होम्स, मेहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ, पुरानो टुँडिखेलस्थित अञ्जुली आवासीय मावि, एसओएस र माउन्ट हेभेन बोर्डिङ स्कुलका चालकले मापसे गरेर बस चलाएको भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार मापसे गरेर कुमुदिनीको ग.१क १३८२ नम्बरको बस चलाइरहेको अवस्थामा चालक ३७ वर्षीय गौतम गुरुङ, विन्ध्येश्वरीको ग.१क ६२२१ नम्बरको बस चलाइरहेका ४४ वर्षीय भक्तबहादुर गुरुङ र अञ्जुलीको ग.१क ६४०३ नम्बरको बस चलाइरहेका ४८ वर्षीय डम्बरबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै, एसओएसको ग.१क ६४३३ नम्बसको बस चलाउँदै गर्दा ४७ वर्षीय पदम विक र माउन्ट हेभनको ग.१क ३६७४ नम्बरको बस चलाइरहेका ३३ वर्षीय आनन्द परियारलाई पनि पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेर स्कुलबस चलाउने गरेको व्यापक गुनासो आएपछि जाँच गर्दा पजिटिभ रिपोर्ट देखिएका पाँच चालकलाई बससहित नियन्त्रणमा लिइएको डिएसपी बस्नेतले बताए । ‘जिल्लाका विभिन्न स्थानमा सञ्चालित स्कुलका बसचालकहरूले मापसे गरेर चलाउने गरेको गुनासो व्यापक मात्रामा आएका थिए । त्यसैअनुसार सोमबार बिहान आकस्मिक रूपमा खटिएको टोलीले चेकिङ गर्दा पाँच स्कुलका बसचालकले मापसे गरेको भेटियो । बससहित चालकहरूलाई तत्काल नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘उनीहरूमाथि थप अनुसन्धान सुरु भएको छ । जरिवाना गराएर छाड्दैनौँ, सार्वजनिक कसुरमा मुद्दा अघि बढाउँछौँ । सम्बन्धित विद्यालयलाई समेत आवश्यक कारबाही गर्छौँ ।’
मापसे गरेर स्कुलबस चलाउने गरेको गुनासो विगतदेखि नै आउने गरेको थियो । तर, विद्यालय सञ्चालक भने आइतबार शिवरात्रि भएका कारण रातिकै मापसे बिहान पजिटिभ देखिएको हुन सक्ने तर्क गर्छन् । ‘आज मापसेमा परेका चालकले हाम्रोमा गाडी चलाउन थालेको ६–७ महिना मात्र भयो । मापसे गरेको थाहा पाइएको थिएन । हिजो शिवरात्रि थियो, खायो होला कि । आज विद्यार्थी लिन निस्किने वेला विद्यालयमा म नै थिएँ, मापसे गरेजस्तो त लागेको थिएन,’ विन्ध्येश्वरीका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले भने, ‘मेसिनले परीक्षण गर्दा मापसे देखाइहाल्यो, त्यसमा हामी बोल्न मिलेन । अब हामी चालकदेखि चनाखो हुनुपर्ने भयो ।’
मापसे गरेको चालकले आफूहरूका बच्चा बोकेको थाहा पाएपछि अभिभावकहरू चिन्तित भएका छन् । बसमा बच्चा पठाएर घरमा अभिभावक ढुक्कले बस्नुहुँदैन भन्ने पाठ यो घटनाले सिकाएको कुमुदिनीका एक अभिभावकले बताए ।
‘हामीले विद्यालयलाई भनेजति शुल्क तिरेका छौँ, किनकि हाम्रो बच्चाको भविष्य राम्रो होस् भनेर । आज चालकहरूबाट मापसे भएको जुन कुरा देखियो यो गम्भीर विषय हो । बस कतै दुर्घटना भएको भए जिम्मा कसले लिन्थ्यो ? धन्न कुनै अप्रिय घटना भएन,’ उनले भने, ‘विद्यालय समयभित्र विद्यार्थीको सम्पूर्ण जिम्मा विद्यालयकै हुनुपर्छ । हामी देखिने गरी बोल्ने अवस्था पनि छैन । कि बच्चालाई त्यो विद्यालयबाट निकाल्नुपर्यो, होइन भने हामीले बोल्दा बच्चालाई टर्चर देला । प्रहरीले चालकलाई मात्रै होइन, विद्यालय र सञ्चालकलाई पनि कारबाही गर्नुपर्छ ।’