भैरहवामा मंगलबारदेखि जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता हुने

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

भैरहवामा मंगलबारदेखि जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।

जिल्लास्तरमा खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले विगत लामो समयदेखि साई ग्लोबल कलेजसँग सहकार्य गरेर संघले प्रतियोगिता सञ्चालन गर्दै आएको थापाले जानकारी दिए । 

फागुन ५ देखि १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरूको सहभागिता छ । संघले क्रिकेटको विकास र खेलाडी उत्पादनमा ध्यान दिँदै हरेक वर्ष तालिकाअनुसार प्रतियोगिता गराउँदै आएको अध्यक्ष थापाले बताए ।

मुख्य प्रायोजक साई ग्लोबल कलेजमा प्राचार्य दिनेशमान अमात्यले कलेज आफैँले प्रतियोगिता आयोजना गर्दा सबै टिम सहभागी नहुने, खर्च बढी हुने र सबै पक्ष सन्तुष्ट नहुने वातावरण देखिएपछि क्रिकेट संघसँग सहकार्य गरिएको जनाए । 

क्रिकेट संघका कोषाध्यक्ष नीरजप्रताप खाँणले खुला आह्वान गरेर टिम दर्ता गरिएको जनाउँदै धेरै टिमको सहभागिताले प्रतियोगितालाई थप उत्कृष्ट बनाएको बताए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले ५५ हजार ५५५ रुपैयाँ, उपविजेता टिमले २५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ दी सिरिजले १० हजार, बेस्ट ब्याटर र बलरले समान पाँच–पाँच हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैयाँ पाउनेछन् । यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।

रुपन्देहीमा सञ्चालित निजी तथा सामुदायिक कलेजका टिम प्रतियोगितामा सहभागी छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । यो प्रतियोगिता विगत १० वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । पछिल्लो चार सिजन भने क्रिकेट संघसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ ।
 
 

सुझावित समाचार