साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। सोमबार नेप्से ८.१६ अंकले घटेर दुई हजार ६६२.९१ विन्दुमा कायम भएको हो। नेप्से ०.३० प्रतिशतले ओरालो लाग्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशतले घटेको छ।
आज कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो दिन काराेबार रकम करिब ११ अर्ब पुग्दा सोमबार सात अर्ब ९४ करोडको सेयर कारोबार भएको हो। आज ३३५ कम्पनीका एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ८० हजार ५५९ पटक खरिद–बिक्री भए।
नेप्सेका १३ मध्ये आज तीन समूहको सूचकमा मात्रै वृद्धि भएको छ। वित्त, होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन तीनवटै समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ। जलविद्युत् समूह १.०२ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।
बजार घटे पनि आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो।
सर्वाधिक गुमाउनेमा भने खानीखोला हाइड्रोका लगानीकर्ता छन्। यो कम्पनीको मूल्य ९.३८ प्रतिशतले गिरावट हुँदा नारायण विकास बैंक र अरुण भ्याली हाइड्रो क्रमशः पाँच र चार प्रतिशतभन्दा धेरैले घटेका छन्।