जावलाखेल युथ क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। आइतबार क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
जावलाखेलले अब प्लानिङ ब्वाइज युनाइटेड र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबबिच ५ गते हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि ७ गते भिड्नेछ।
जावलाखेलले यसअघि मच्छिन्द्र फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। चर्च ब्वाइजले बाई पाएको थियो।
आइतबार खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा जावलाखेलले तीन गोल गरेको थियो। खेलको ४८औँ मिनेटमा धर्वेन्द्र कुँवरले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। विपक्षी गोलकिपर दिप कार्कीले पोस्टतर्फ आएको बललाई डाइभ गर्दै नियन्त्रणमा लिने क्रममा उनको हातबाट फुत्किन पुगेको बललाई उपयोग गरेका थिए।
खेलको ८८औँ मिनेटमा निकोलस ओडाने ह्याल्मिटनले टोलीको अग्रता दोब्बर पारे। बल अगाडि बढाउने क्रममा विपक्षी किपरलाई बिट गर्दै उनले बललाई जाली चुमाएका थिए। दोस्रो हाफको इन्जुरी समय (९०+१)मा डी बक्सनजिकैबाट सुजन गुरुङले टोलीलाई ३–० को अवस्थामा पुर्याएका हुन्।
खेलको सुरुदेखि नै जावलाखेल केही हावी भएको थियो। बुढासुब्बा गोल्डकपको उपविजेता हुँदै धरानबाट सिधै शनिबार पोखरा आएको चर्च ब्वाइजले खेलमा राम्रा मुभ बनाउन सकेको थिएन। शनिबार धरानमा भएको फाइनल खेललगत्तै पोखरा आएकाले खेलाडीहरू थकितजस्ता देखिन्थे।
सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्।