नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउन्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा डिजिटल लाउन्ज उद्घाटन गरे ।
कार्यक्रममा बैंकका सञ्चालक प्रबिन टिवडेवाला, अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भूपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी तथा ज्ञानेन्द्रप्रताप शाहलगायतको उपस्थिति थियो ।
अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटली २४सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए । उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैँ अब्बल रहेको बताए । लाउन्जमा ग्राहकले एटिएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक जम्मा गर्न सक्नेछन् ।
सिइओ ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको बताए । बैंकका यसै प्रकृतिका डिजिटल लाउन्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन् ।