- विदेशबाट मूर्ति फिर्ता ल्याउने क्रममा हाम्रो ऐन, कानुन र कार्यविधिका कारण साह्रै दु:ख पाइरहेका छौँ
देशभित्रका सम्पदा संरक्षणबाहेक सम्पदा फर्काउने काममा पनि हामी लागिरहेका छौँ । नेपाल चिनाउने विभिन्न माध्यमजस्तै हाम्रो सम्पदा पनि महत्वपूर्ण माध्यम हो । त्यसैले गैरकानुनी रूपमा विदेश पुगेका देवी, देवता, सम्पदाहरूको उत्पत्ति क्षेत्रको अध्ययन–अनुसन्धान गरिरहेका छौँ । यसका लागि स्थानीयसँग गएर भेट्ने, तथ्य संकलन गर्ने र त्यसलाई चाहिने वस्तुनिष्ठ प्रमाण संकलन गरी सम्पदा फिर्ता ल्याउन अभियान सञ्चालन गर्दै आएका छौँ ।
सम्पदा नेपाल फिर्ता आएपछि सम्पदा संग्रहालयमा राख्नुहुन्न भन्ने आवाज पनि उठाउँदै आएका छौँ । ती हाम्रा देवी, देवता र हाम्रो आस्थासँग पनि जोडिएको विषय भएकाले समुदायमा क्षमापूजा गरी प्रतिस्थापना गर्ने, गराउने कार्य गर्दै आएका छौँ ।
मुख्य रूपमा विभिन्न क्षेत्रका विज्ञहरूसँग पनि सहकार्य गरेर अमेरिका, अस्ट्रिया, फ्रान्स, बेलायतलगायत देशबाट हाम्रो सम्पदा फर्काउन पहल भइरहेको छ । जसमध्ये अमेरिकाबाट हाम्रो सम्पदा फर्काएर ल्याउन सफल भएका छौँ । अन्य देशमा पुगेका सम्पदा फर्काउन संघर्ष जारी छ । छिमेकी राष्ट्र भारतमा समेत केही सम्पदा रहेकाले सो फिर्ताका लागि समेत पहल गर्ने कार्य गर्दै आएका छौँ ।
हामीले लामो समयदेखि देशमा रहेका सम्पदा संरक्षण गर्दै आएका छौँ । हाम्रो देशमा भएका कतिपय सम्पदा संरक्षण गर्नुपर्ने अवस्थामा छन् । जीर्णाेद्धार गर्नुपर्ने अवस्थामा छन् । तर, विदेशमा पुगेका हाम्रा सम्पदालाई विभिन्न बहाना देखाई त्यत्तिकै छोडे हाम्रा बुबाआमा बितेपछि ज्ञानको अभावमा सो फिर्ता आउन सक्दैन । फिर्ता आए पनि संग्रहालयमा नै सीमित हुने स्थिति छ । यही कुरालाई बुझेर हामीले थप काम गर्दै छौँ ।
सम्पदाविद् रवीन्द्र पुरीले सन् २०१३ सालमै सामाजिक सञ्जाल र नागरिक समाजको माध्यमबाट दबाब सिर्जना गरी राष्ट्रिय अभिलेखालयबाट चोरी भएको सम्पदा फिर्ता ल्याएका थिए । अहिले उनको म्युजियम अफ स्टोलन आर्ट एन्ड हेरिटेज नामक संस्थाको माध्यमबाट समेत चोरी भएका सम्पदा फिर्ता ल्याउने काम भइरहेको छ ।
आँखैअगाडिबाट कसरी मूर्ति चोरी हुन्छन् भन्ने म आफैँले भोेगेको छु । केही समय पहिला मेरो टोल (झोछेँ)मा एउटा ढुंगेधारा भेटियो । ढुंगेधारामा राम्रा मूर्ति थिए, त्यो मूर्ति हराउला भन्ने चिन्ताले बिरामी नै हुने गरी धेरै रात कुरेर बसेँ । पछि सोही मूर्तिको सुरक्षाका लागि भनेर प्रहरी खटियो । तर, केही दिनमै मूर्ति गायब भयो । मुक्ति अमेरिका पुगेको भेटियो । यस्ता घटना मेरा अन्य साथीहरूले पनि भोगेका छन् । जसले नेपाललाई अपूरणीय क्षति पुगेको छ । त्यही क्षति देखेकाले ती सम्पदा फिर्ता ल्याउन काममा लागेको हो ।
केही वर्षयता सञ्जय अधिकारी, श्रीना नेपाललगायत कानुनी क्षेत्रका व्यक्तिसँग समेत मिलेर काम गरिरहेका छौँ । जसकारण हामी सफल हँुदै गरिरहेका छौँ । आफ्नो टोल, छिमेकबाट हराएका केही मूर्ति फर्काउन सफल भएका छौँ ।
महत्वपूर्ण यस्ता सम्पदा विदेशबाट फिर्ता ल्याउने जिम्मेवारी सरकारको हो । तर, सरकारी क्षेत्रबाट यो क्षेत्रमा खासै काम हुन सकेको छैन । हामीजस्तो सम्पदा फिर्ता ल्याउन लागिपरेको समूहलाई पनि कुनै सहयोग छैन । पूरातत्व विभागले यसमा केही काम गर्छ । तर, विभागले पनि विभिन्न समस्या देखाउँदै नतिजाउन्मुख हुने गरी काम गरेको छैन ।
पछिल्लो समय सरकारको यसमा गम्भीरता केही बढेजस्तो देखिन्छ । तर, त्यतिले मात्र पुग्दैन । विदेशबाट मूर्ति फिर्ता ल्याउने क्रममा हाम्रो ऐन, कानुन र कार्यविधिका कारण साह्रै दु:ख पाइन्छ । विभागले विभिन्न निकायसँग समन्वय गर्ने क्रममा लामो समय लाग्छ । दूतावास र विभागको सहकार्य हुन कठिन हुन्छ । सम्पदा फिर्ता आउँदा भन्सार छुट गर्न धेरै दिन लाग्छ ।
हामी यी सबै काम स्वयंसेवी भएर कुनै आर्थिक सहयोग नलिई गर्दै आएका छौँ । हामी जे गरिरहेको छौँ, पुण्यको कार्य गरिरहेका छौँ । हामीलाई यस्ता काम गर्न अहोभाग्य प्राप्त भएको छ । काठमाडौं, ललितपुर महानगरपालिकाजस्ता केही स्थानीय तहले हाम्रो काममा सहयोग गर्न खोज्छ । तर, त्यो सहयोग दिगो हुन सकेको छैन । यस्ता काम हामीजस्ता केही व्यक्तिले मात्र गरेर हुँदैन । यसका लागि विभागलाई बलियो र सक्रिय बनाउनुपर्छ । सम्पदा प्रहरी बनाएर यस्ता कामको अनुसन्धान आवश्यक छ । र, संघीय सरकारले सम्पदा जोगाउने कामलाई प्राथमिकतामा राख्नुपर्छ ।
प्रस्तुति : शान्ति तामाङ