जनआन्दोलनका ती सहयात्री

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • सत्ता सधैँ जनताको विरुद्धमा हुन्छ, म सधैँ सत्ताको विरुद्धमा हुन्छु

सानैदेखि विद्रोही स्वभावको थिएँ । त्यही स्वभावका कारण २०४६ सालको पहिलो जनआन्दोलनमा स्वस्फूर्त रूपमा सडकमा गएँ । सानैदेखि कविता लेख्थेँ । म कुनै दल, संगठनको सदस्य थिइनँ । तैपनि, त्यतिवेलाको प्रगतिशीलहरूले मलाई कविता भन्न बोलाउँथे । म जान्थेँ । कविता सुनाउँथेँ । मेरो कविता सुरुदेखि नै सबैले मन पराउँथे । टंक आचार्य, थरेन्द्र बराल, लक्ष्मण गाम्नागे, माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, धीरेन्द्र प्रेमर्षि, चट्याङ मास्टर, देवी घिमिरे, मसहितका नौजना मिलेर २०५५ वैशाख १९ मा ‘सिस्नुपानी नेपाल’को स्थापना गर्यौँ ।

नागरिक आन्दोलनका क्रममा गीत, कविता सुनाउँथ्यौँ । नाटक देखाउँथ्यौँ । ०६२/६३ को दोस्रो आन्दोलनका क्रममा बानेश्वरमा ठुलो सभा गर्ने भन्ने भयो । त्यहाँ हामी नागरिकले आफ्नो कुरा सुनाउने अनि दलका नेता भुइँमा बसेर सुन्ने कार्यक्रम थियो । त्यो कार्यक्रमको सिलसिलामा कविता पनि पढ्ने मान्छे चाहियो भन्ने भएपछि मलाई बोलाइयो । त्योभन्दा अघि प्रगतिशील साहित्यिक संस्थाले आयोजना गरेका कार्यक्रममा गई कविता सुनाउँथेँ । 

०६२/६२ को आन्दोलनमा हाम्रो एजेन्डा लोकतन्त्र थियो । राजा फाल्नु थियो । तर, धेरैले हामीलाई माओवादी भने । राजाको पालामा विदेशी पैसा ल्याएर खाए भने । सधैँ सत्ताको विरोधी भएपछि सत्तामा बस्नेले धेरैथरी आरोप लगाए । अहिलेसम्म मेरो कुनै संघ, संगठन, दल छैन । तर, मलाई लागेको कुरा कवितामार्फत स्पष्ट भन्छु ।

दोस्रो जनआन्दोलनमा हामी ज्यान नै माया मारेर हिँडेका थियौँ । हामीलाई मार्छ भन्थे । त्यतिवेलाका कतिपय कुरा भन्न सक्दैनौँ । तैपनि, हामी खुला नै हिड्थ्यौँ । त्यो आन्दोलनमा राजाले कर्फ्यु लगाएपछि पहिलो कर्फ्यु हामीले नै तोडेका थियौँ । त्यसपछि पद्ममरत्न तुलाधर, दमननाथ ढुंगाना, लक्ष्मण अर्याल, महेश मास्के, श्याम श्रेष्ठ, सुन्दरमणि दीक्षितलगायत २४ जना पक्राउ परेका थियौँ । त्यतिवेला मास्केको महाराजगन्जको कार्यालयमा बैठक बसेर गिरफ्तारी दिने कि नदिने भन्ने छलफल गर्यौँ । कसैले दिने कसैले नदिने भनेर द्वन्द्व भएको थियो । कतिपयले गोली हान्छ, मरिन्छ, भन्ने कुरा गरेका थिए । गोली हाने हान्छ गिर्फतारी दिऊँ भन्ने भयो । ०६३ वैशाख ११ गते राजतन्त्र ढलेपछि हामी निस्कियौँ ।

आन्दोलनकै क्रममा विभिन्न स्थानमा कविता सुनाएँ । अहिले सांसद, मन्त्री, मुख्यमन्त्री भएकाहरू तपाईंहरूको कविता हामीले पनि सुन्न हुन्छ ? भनेर प्रश्न गर्थे । त्यो वेला दल र राजनीतिज्ञको हालत त्यस्तो थियो । त्यो कुरा बिर्सेर अहिले देशलाई त्यही हालतमा पुर्याएका छन् । त्यसैले, ०६२/६३ जस्तै गरेर फेरि अर्को पुस्ताले आन्दोलन गर्नुपर्यो । 

विद्यार्थी राजनीतिबाट उदाएका रामकुमारी झाँक्रीको त्यही आन्दोलनका क्रममा टाउको फुटेको थियो । त्यो रक्तमुछेल रामकुमारीको फोटोलाई पोस्टरको रूपमा अहिलेको विद्युत् प्राधिकरणको भित्तामा टाँसिएको थियो । त्यहाँ मेरो कविता पनि थियो । अहिले त्यो वेलाको रामकुमारी झाँक्री छैनन् । त्यो वेला प्रचण्ड पनि हिरो नै थिए । त्यो वेलाको व्यवस्था पल्टाउन हिँडेका हिरो नै हुन् उनी । उहिले व्यवस्थाको विरोध गर्नेहरू अहिले सत्तामा पुगे । सत्तामा पुगेपछि उनीहरूले व्यवस्थालाई यस्तो अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिमा खेले । केपी ओलीलाई मैले ती आन्दोलनमा कहिल्यै देखिनँ । यो व्यवस्था उनको होइन । 

त्यतिवेला विद्यार्थी नेता गगन थापाले गणतन्त्रको नारा उठाएका थिए । बिचमा गगन हराए । मलाई लाग्छ, अहिले फेरि गगन फिर्ता आएका छन् । अहिले त्यतिवेलाका सहयात्रीसँग मेरो सम्पर्क छैन । किनभने, मलाई आवश्यकता छैन । अहिले मसँग सम्पर्क भएको भनेको कृष्ण पहाडी मात्र हुन् । अरू बाटोघाटोमा भेट्ने कहिलेकाहीँ फाट्टफुट्ट भेटिने मात्र हुन् । 

सबै लागेर व्यवस्था परिवर्तन गर्यौँ । तर, सबैको आ–आफ्नै उद्देश्य रहेछन् । आन्दोलन सफल भएपछि कसैलाई सांसद बन्छु, कसैलाई प्रतिष्ठानमा जागिर पाउँछु भन्ने थियो होला । त्यो आन्दोलनमा लाग्नेहरू अहिले खोज्दा दिनेले दिएन भने बेग्लै कुरा, होइन भने सबैजना कुनै पद, सुविधा नलिईकन बसेकोजस्तो लाग्दैन । कुनै पनि पद लिँदै नलिने भनेर घोषणा गरेकोचाहिँ कृष्ण पहाडी दाइ र मैले नै हो । 

हामी यो देशका नागरिक हौँ । अन्याय सहन सक्दैनौँ । सबैभन्दा ठुलो कुरा कर्तव्य पनि भयो । कम्तीमा आफूले थाहा पाएको कुरा सबैलाई जानकारी दिनुपर्यो । सकिन्छ भने बाचुन्जेल नचाहिने कुराको विरोध गर्नुपर्यो भनेर नै यसरी लागेका हौँ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा जसरी पनि निर्वाचन हुनुपर्छ भनेर हामी केही समयअघि मात्र विभिन्न जिल्लामा गई कार्यक्रम गरेर फर्कियौँ । 

मेरो कविता दुखीजनका लागि
कवितामार्फत मेरो उद्देश्य बोल्न नसक्नेहरूका लागि बोलिदिने हो । त्यो मेरो आफ्नो बोली होइन । म परिवर्तन चाहने मान्छे हुँ । मलाई मरेपछि पनि बाँचिरहने रहर छैन । मरेपछि सकियो । मैले मरेपछि बाँँच्नका लागि कविता लेखेको होइन । जीवन छँदै योगदान गर्न सकेँ भने कम्तीमा नराम्रो कुरालाई अप्ठ्यारो पार्न सकेँ वा जनतालाई चेतना दिलाउन सकेँ भने त्यो नै ठुलो कुरा हो ।

सत्ता सधैँ जनताको विरुद्धमा हुन्छ । म सधैँ सत्ताको विरुद्धमा हुन्छु । सत्ता सधैँ विरोधी भइहाल्यो । प्रत्येक मान्छेले लेखेका कुरा कविता हुन सक्छन् । होइन भन्ने हो को ? कसले प्रमाणित गरिदिन्छ यो हो वा होइन भन्ने ? कसैले ढुंगामाटोका लागि कविता लेख्छन् । त्यो पनि ठिकै होला । कसैले मरेपछि बाँच्नका लागि कविता लेख्छन् । उनीहरूका लागि ठिकै होला । तर, मलाई जिउँदैमा बाँच्नु छ । मेरा कारणले अरूलाई राहत होस् भन्ने छ । देश भाग लगाउने हो भने मेरो पनि एक टुक्रा भाग आउँछ । केही नभएको, खानलाउन नसक्नेको पनि एक भाग हुनुपर्छ । 

बदमासी गर्नेले, भ्रष्टाचार गर्नेले, कु काम गर्नेले, कुशासन गर्नेले, दुशासन चलाउनेले मेरो कविताको आलोचना गर्छन् । आलोचना जति धेरै भयो, त्यति नै मेरो कविताले काम गर्यो भन्ने लाग्छ । मैले बन्दुक हानेको होइन । तर, त्यसले कति मान्छेलाई राहत भएको छ । म पक्षधरतामा विश्वास गर्छु । बोल्न नसक्ने, अन्यायमा परेकाको लागि बोल्ने हो । गरिब, दु:खीको आवाज बोल्ने हो । त्यसै पनि एक पक्ष त विरोधी भइहाल्छ । न्यायको पक्षमा उभिएको छु । मलाई आलोचनाले केही फरक पार्दैन । सम्पूर्ण मान्छे एकातिर भए पनि मलाई लागेको कुरा बोल्ने हो । मलाई पद, तक्मा, पुरस्कार केही पाउनु छैन । मैले ती सबै कुरालाई बहिष्कार गरेको छु । 

बलियोले निर्धोलाई गरेको अन्याय सहन सक्दिनँ । सानैदेखि म त्यस्तै हो । कविता लेख्नु मेरो कर्तव्य हो । जतिवेलासम्म मेरो चेतना हुन्छ, त्यतिवेलासम्म मेरो हात चल्छ । जुन दिनसम्म दिमाग चल्छ, कविता लेख्छु । हात चलेन भने पनि अरूलाई लेख्न लगाउँछु । किनभने, कविता त सास फेरेजस्तै हो । 

सानोमा अलि बुझ्ने हुँदा लाग्थ्यो, जेलमा हुनुपर्ने मान्छेहरू कसरी सरकारमा भए ? अहिले यो उमेर हुँदा पनि मलाई लाग्छ, जेलमा हुनुपर्ने मान्छे सरकारमा कसरी गयो ? यो सम्झिँदा लाग्छ, मेरो जिन्दगी जिरो भयो । देश बन्ला भन्दाभन्दै मर्ने वेला भयो । त्यसैले चेतनाले काम गरेसम्म कविता लेख्छु ।

प्रस्तुति : शान्ति तामाङ

सुझावित समाचार