१९ वर्षपछि जिम्बावेसँग अस्ट्रेलिया पराजित

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • टी–२० विश्वकपमा जिम्बावेले अन्तिमपटक सन् २००७ को पहिलो संस्करणमा अस्ट्रेलियालाई पाँच विकेटले स्तब्ध बनाएको थियो

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा एकपछि अर्को अप्रत्याशित नतिजा निस्किरहेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘बी’मा जिम्बावेले उपाधि दाबेदार अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई १९ वर्षपछि स्तब्ध पारेको हो । सन् २००७ मा जिम्बावेले अस्ट्रेलियामाथि पाँच विकेटको जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा दुई विकेट गुमाएर १६९ रन बनाएको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रन मात्र जोड्दा जिम्बावेले ऐतिहासिक जित निकाल्यो ।

जिम्बावेको जितमा ब्लेसिङ मुजारबानीले घातक बलिङ गरेका थिए । उनले अस्ट्रेलियाका चार खेलाडीलाई पेभेलियन पठाउन १७ रन खर्चेका थिए । हारसँगै अस्ट्रेलिया २ अंकका साथ तेस्रो स्थानमा झरेको छ । अस्ट्रेलियामाथिको जितले जिम्बावे दोस्रो स्थानमा उक्लिएको छ । जिम्बावेले दुई खेलमा शतप्रतिशत नतिजा निकाली ४ अंक जोडेको छ । शीर्ष स्थानमा श्रीलंकाको पनि ४ अंक छ । रनरेटमा श्रीलंका माथि रहेको हो । अब अस्ट्रेलियाले सुपर एटमा स्थान बनाउन अगामी खेल जित्नुपर्ने हुन्छ । 

जिम्बावेको दमदार ब्याटिङ
प्रेमादासा रंगशालामा जिम्बावेका शीर्ष चार ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर ब्रायन बेनेट र मरुमानीले पहिलो विकेटका लागि ७.३ ओभरमा ६१ रन जोडेका थिए । इनिङ्सको अन्तिमसम्म नटआउट रहेका बेनेटले ५६ बलमा सात चौका प्रहार गरी सर्वाधिक ६४ रन जोडेका थिए । मरुमानीले २१ बलमा सात चौका प्रहार गरी ३५ रन बनाए । रायन बुर्लले ३५ तथा कप्तान सिकन्दर राजाले १३ बलमा २५ रन जोड्दा जिम्बावेले १७० रनको लक्ष्य दियो । 

रेनसको एकल प्रयास
लक्ष्य पछ्याएको इनिङ्समा अस्ट्रेलियाले  कमजोर सुरुवात गरेको थियो । इनिङ्सको ४.३ ओभरमा चार विकेट गुमाउँदा अस्ट्रेलियाले २९ रन बनाएको थियो । त्यसपछि टेभिस हेड र ग्लेन म्याक्सवेलले पाँचौँ विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई १०६–५ को स्थितिमा राखे । हेडले १५ बलमा १७ रन बनाए । म्याक्सवेलले ३२ बमला ३१ रनको योगदान दिए । त्यसपछि म्याट रेनसले ४४ बलमा ६५ रन बनाउँदै अस्ट्रेलियालाई जितको आशा दिलाए । तर, उनी १८.४ ओभरमा आउट भए । जिम्बावेका ब्राड इभान्सले ३.३ ओभरमा २३ रन दिएर तीन विकेट लिए । 

क्यानडामाथि युएईको रोमाञ्चक जित
टी–२० विश्वकपअन्तर्गत समूह चरणमा यु्एईले क्यानडालाई पाँच विकेटले हराएको छ । क्यानडाले पहिलो ब्याटिङ गरी १५१ रनको लक्ष्य दिएको थियो । युएईले १९.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । युएईको जितमा आर्यान्स शर्मा र सोहेब खानले विस्फोटक ब्याटिङ गरे । दुवैले अर्धकतकीय इनिङ्सको योगदान दिए । आर्यान्सले ५३ बलमा ७४ रन जोडे । खानले २९ बलमा ५१ रनको योगदान दिए । बलिङतर्फ क्यानडाका साद बिन जाफरले तीन विकेट हात पारे । 

नयाँदिल्लीस्थित अरुण जेटली रंगशालामा क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो । क्यानडाका हर्स ठाकेरले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ५० रन बनाए । नवनित धालिवालले ३४ तथा श्रेयस मोब्बाले २१ रन बनाए । बलिङमा युएईका जुनेद सिद्दिकी चार ओभरमा ३५ रन खर्चेर पाँच विकेट लिए । क्यानडा पहिलो खेलमा दक्षिण अफ्रिकासँग ५७ रनले पराजित भएको । युएई न्युजिल्यान्डसँग १० विकेटले हारेको थियो ।

See More On

सुझावित समाचार