अप्रेसन थियटरको ढोका बन्द हुन्छ । भित्र सेकेन्ड–सेकेन्डको हिसाबमा जीवन र मृत्युको फैसला भइरहेको हुन्छ । बाहिर परिवारले सास रोकेर प्रतीक्षा गर्छन् । चिकित्सक हातमा स्केल्पेलदेखि स्टेथोस्कोपसम्मका औजार लिएर काम गरिरहेका हुन्छन् । उनीहरूको एउटा गल्तीले कसैको जीवन ढल्न सक्छ, सही कामले नयाँ सास फेर्न मौका दिन सक्छ ।
एक सानो पनि गल्ती गर्ने छुट नभएका तथा कसैको ज्यानको सम्पूर्ण जिम्मेवारी हातमा लिएर काम गर्नुपर्ने पेसाका केही चिकित्सकले यसपालि मैदान बदल्ने निर्णय लिएका छन् । चुनावी राजनीतिको मैदानमा यसपालि दुई दर्जनभन्दा धेरै चिकित्सक उत्रिएका छन् । तर, उनीहरूको राजनीतिक भविष्यचाहिँ मतदाताको हातमा छ ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा थुप्रै मेडिकल डाक्टर अप्रेसन टेबुल छाडेर, स्केल्पेलदेखि स्टेथोस्कोप अस्पतालमै राखेर मतपेटिकातर्फ मोडिएका छन् । सधैँ बिरामीको पीडा सुन्ने र समाधान खोज्ने उनीहरू अहिले स्वास्थ्य प्रणालीकै ‘ठुलो अप्रेसन’ गर्न संसद् आवश्यक ठान्दै राजनीतिमा प्रवेश गरेका हुन् ।
उनीहरूको दैनिकी पूरै बदलिएको छ । नमस्ते लिने चिकित्सकहरू अहिले मतदातालाई नमस्कार गर्दै हिँरिहडेका छन् । अस्पतालका करिडोर, इमर्जेन्सी वार्ड र रातभरको ड्युटीको बानी परेको उनीहरूको जीवन अहिले मतदाता भेटघाट, सभा र बहसमा बदलिएको छ । चुपचाप काम गर्नुपर्ने उनीहरू भाषण गर्दै छन् ।
आउँदो २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ आठ गरी कुल २८ चिकित्सक उम्मेदवार बनेका छन् । सधैँ बिरामीको पीडा सुन्ने र उपचार खोज्ने उनीहरू नेपालको स्वास्थ्य प्रणाली आफैँ गम्भीर अवस्थामा रहेको र यसको उपचार संसद्बाटै सम्भव रहेको बताउँछन् । त्यसैले उनीहरूले यो चुनावलाई व्यक्तिगत सत्ता नभई देशको स्वास्थ्य व्यवस्थामाथि गरिने ‘सबैभन्दा ठुलो अप्रेसन’का रूपमा हेरेका छन् ।
सबैभन्दा धेरै डाक्टर उम्मेदवार रास्वपा र स्वतन्त्रतर्फ
चिकित्सक उम्मेदवारको संख्या हेर्दा सबैभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिन्छ । रास्वपाबाट समानुपातिकतर्फ सात र प्रत्यक्षतर्फ तीन गरी दशजना मेडिकल डाक्टर उम्मेदवार छन् । पार्टीका प्रवक्ता मनीष झाले ‘विज्ञ र प्राविधिकलाई नीति निर्माण तहमा पुर्याउने’ रणनीतिअनुसार चिकित्सकलाई अघि सारिएको बताए ।
रास्वपाको समानुपातिक सूचीमा डा. अंकिता ठाकुर, डा. अनिता यादव, डा. रूपक विश्वकर्मा, डा. मनोहर प्रधान, डा. ओजस्वी शेरचन र डा. रञ्जित पञ्जियार छन् । प्रत्यक्षतर्फ ललितपुर ३ बाट डा. तोसिमा कार्की, रूपन्देही ३ बाट डा. लेखजंग थापा र सिराहा ३ बाट शम्मुकुमार यादव उम्मेदवार छन् ।
अप्रेसन थियटरभन्दा बाहिर चुनावी मैदानमा व्यस्त डा. थापा भन्छन्, ‘स्वास्थ्य क्षेत्रका नीतिगत सुधार, मेडिकल शिक्षाको नियमन र पहुँच विस्तारलाई प्रमुख एजेन्डा बनाएको छु ।’
कांग्रेसमा पनि ‘डाक्टर फेस’
कांग्रेसबाट पनि थुप्रै मेडिकल डाक्टर चुनावी दौडमा छन् । महामन्त्री गुरुराज घिमिरेका अनुसार मोरङ ३ बाट डा. सुनील शर्मा, मोरङ ६ बाट डा. शेखर कोइराला, रौतहट २ बाट डा. फिर्दोष आलम, सिराहा ३ बाट डा. सुवास यादव र सर्लाही २ बाट डा. सरोजकुमार यादव उम्मेदवार छन् ।
एमालेले भने यसपटक मेडिकल डाक्टरलाई प्रत्यक्षतर्फ टिकट दिएको छैन । त्यस्तै, नेकपाबाट सर्लाही ४ मा डा. रजनिश राय उम्मेदवार छन् । नेकपाले डा. राजन झाको नाम समानुपातिकमा समेटेको छ ।
जसपाबाट महोत्तरी ३ मा डा. मीनाक्षी ठाकुर उम्मेदवार बनेकी छिन् । विशेषज्ञ डाक्टर भएर बिरामीको उपचारसँगै समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएको उनले बताइन् । समाजका समस्या सदनसम्म पुर्याउन आफूले उम्मेदवारी दिएको उनले सुनाइन् ।
ललितपुर ३ : दुई डाक्टर, एउटै क्षेत्र
ललितपुर ३ मा चुनावी प्रतिस्पर्धा विशेष रूपमा रोचक बनेको छ । यहाँ दुईजना मेडिकल डाक्टर आमने–सामने छन् । रास्वपाबाट डा. तोसिमा कार्की र उज्यालो नेपाल पार्टीका डा. आसुतोषविजय पन्तको उम्मेदवारी छ ।
कुनै समय चिकित्सा शिक्षा सुधारको आन्दोलनमा एउटै मोर्चामा उभिएका यी दुई आज राजनीतिक प्रतिस्पर्धी बनेका छन् । ‘म मेडिकल शिक्षाको आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म घाइतेहरूको उपचारमा खटिएँ । अब जनताको स्वास्थ्यका आवाज सदनमा पुर्याउन उम्मेदवार बनेको हुँ,’ डा. पन्तले भने ।
उता, ०७९ मा यही क्षेत्रबाट निर्वाचित डा. कार्की स्वास्थ्य आफ्नो केन्द्रीय एजेन्डा रहेको बताउँछिन् । ‘सरकारी अस्पतालमा बिरामी छटपटाउँछन्, निजीमा बेड खाली हुन्छ । यो असन्तुलन अन्त्य गर्न म फेरि उम्मेदवार बनेकी हुँ,’ डा. कार्की भन्छिन् ।
उज्यालो, श्रम संस्कृति र नेपाल जनसेवा पार्टीबाट पनि डा. उम्मेदवार
काठमाडौं १० बाट डा. राकेश न्यौपाने र डा. धनबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् । डा. श्रेष्ठ श्रम संस्कृति पार्टी र डा. न्यौपाने उज्यालो पार्टी नेपालबाट प्रत्यक्षतर्फका उम्मेदवार हुन् । उज्यालो पार्टीले मकवानपुर २ मा डा. प्रविन स्याङ्तान, महोत्तरी २ बाट डा. राकेश मण्डललाई र ललितपुर ३ मा डा. आसुतोषविजय पन्तलाई चुनावी मैदानमा उतारेको छ । त्यस्तै, नेपाल जनसेवा पार्टीका तर्फबाट रूपन्देही २ मा डा. निकोलस भुसाल उम्मेदवार बनेका छन् । डा. भुसालको ‘सबै जिल्लामा मेडिकल कलेज, सहज स्वास्थ्य बिमा र नेपाललाई मेडिकल शिक्षाको ‘हब’ बनाउने’ सपना छ ।
स्वतन्त्र डाक्टरहरूको अलग अभियान
दलभन्दा बाहिर स्वतन्त्र रूपमा पनि चिकित्सक चुनावी मैदानमा छन् । काठमाडौं ४ बाट डा. अर्चनशमशेर राणा, महोत्तरी २ बाट डा. धनञ्जयकुमार हाथी उम्मेदवार छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की चिकित्सकको राजनीतिक सहभागितालाई सकारात्मक मान्छन् । ‘प्राविधिक राजनीतिमा आउनुहुँदैन भन्ने भाष्य गलत हो,’ उनी भन्छन्, ‘चिकित्सक सदनमा पुग्दा जनस्वास्थ्य नीति, उपचार पहुँच र मेडिकल शिक्षामा सुधार गर्न सहज हुन्छ ।’
चुनावी प्रतिस्पर्धामा कलाकार
२१ फागुनको निर्वाचनमा दलहरूले गायक–गायिका, अभिनेता–अभिनेत्री, मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोताहरूलाई पनि प्रतिस्पर्धामा उतारेका छन् । तीनजना प्रत्यक्षतर्फ नै उम्मेदवार छन् भने केहीको नाम दलहरूको समानुपातिक बन्दसूचीमा छ । अभिनेत्री निशा अधिकारी काठमाडौं ५ बाट चुनावी मैदानमा उत्रिएकी छिन् । गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी उनको चुनाव चिह्न ब्याट्री हो । चलचित्र ‘मिसन पैसा’बाट सिने क्षेत्रमा लागेकी उनले ‘अपवाद’, ‘नैना रेशम’ ‘पल’, ‘फस्र्ट लभ’, ‘आभाष’, ‘मिसन पैसा– २’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अधिकारी सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्रीसमेत हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेकी उनले रोजगारी, महिला अधिकार, विकास तथा पूर्वाधार, खेलकुद र ज्येष्ठ नागरिकलगायतका विषय प्रमुख एजेन्डा रहेको बताएकी छिन् ।
जनवादी गायिका सिन्धु जलेशा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पश्चिम नवलपरासी १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन् । उनले ‘मातृभूमि नेपाल हो...’, ‘चाहँदैमा सबै कुरा...’लगायत दर्जनौँ गीतमा स्वर दिएकी छिन् । उनका ‘हाम्री हजुरआमा...’, ‘तिजै आयो...’लगायतका तिजगीत चर्चित छन् । विगतमा उनले एमालेको जनसांस्कृतिक महासंघको कोषाध्यक्षका रूपमा पनि काम गरेकी थिइन् ।
एमालेले जनवादी गायक अस्मिन घिमिरेलाई चितवन २ बाट उम्मेदवार बनाएको छ । उनी गायनसँगै अनेरास्ववियुको राजनीतिमा लागेका थिए । उनको ‘आयो आयो अखिल...’ बोलको गीत निकै चर्चित छ ।
दलहरूले कलाकारहरूलाई समानुपातिक उम्मेदवार पनि बनाएका छन् । रास्वपाले चर्चित गायक प्रकाश सपुत, अभिनेत्री रिमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र कलाकार रूपक घिमिरेलाई समेटेको छ । दलित पुरुषतर्फको क्लस्टरमा सपुत पहिलो र घिमिरे तेस्रो नम्बरमा छन् । त्यस्तै, रिमा दलित महिला क्लस्टरको पहिलो नम्बरमा र अनुष्का आदिवासी जनजाति महिला क्लस्टरमा छिन् । उनीहरू सबैले आफ्नो पार्टीको पक्षमा मत बटुल्न चुनावी अभियान थालिसकेका छन् ।
अर्की अभिनेत्री तथा मोडल एलिजा गौतमलाई आम जनता पार्टीले समानुपातिक उम्मेदवार बनाएको छ । उनी खस–आर्य महिला क्लस्टरको पहिलो नम्बरमा छिन् । यस्तै, एमालेले गायिका कोमल वलीलाई समानुपातिक सूचीमा खस–आर्य महिला क्लस्टरतर्फ चौथो नम्बरमा राखेको छ । एमाले नेतृसमेत रहेकी उनी पार्टीको पक्षमा मत बटुल्न सक्रिय छिन् ।
यस समाचारमा यसअघि भुलबस रास्वपाकाे समानुपातिक सूचीमा डा.रामजी रामकाे नाम पर्न गएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ।