राष्ट्रिय सभाका सदस्यहरूले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शारदादेवी भट्टले निर्वाचनका लागि अब करिब २० दिन मात्र बाँकी रहेको उल्लेख गर्दै देशभर शान्तिपूर्ण र संयमतापूर्वक मतदान सम्पन्न हुने वातावरण निर्माण गर्न आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरिन्। उनले मतदातामा कुनै किसिमको त्रास नहोस् र निर्वाचन प्रक्रियामा पारदर्शिता कायम होस् भन्नेमा जोड दिइन्।