२१ गते हुने निर्वाचनको सुरक्षा र व्यवस्थापन सुदृढ बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा र व्यवस्थापन सुदृढ बनाउन प्रधानमन्त्री सुशीला कार्कीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् । निर्वाचनको दौडानमा हुन सक्ने सम्भावित हुलदंगा र अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा आवश्यक सबै संयन्त्र सक्रिय पार्न उनले निर्देशन दिएकी हुन् ।

पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहेकी प्रधानमन्त्री कार्की शुक्रबार बिहान ताप्लेजुङ आइपुगेकी थिइन्। निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने उद्देश्यले उनको जिल्ला भ्रमण केन्द्रित रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री बिहान आठ बजे ताप्लेजुङ आइपुगेकी हुन् । त्यसपछि उनले बिहान ९:३० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागी भई प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा नेपाली सेनाका प्रतिनिधिसँग निर्वाचन तयारी, सुरक्षा प्रबन्ध र व्यवस्थापन पक्षबारे एक घण्टा ३० मिनेट छलफल गरेकी छिन् । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले सम्भावित सुरक्षा चुनौतीबारे जानकारी गराएपछि प्रधानमन्त्रीले ‘निर्वाचन शान्तिपूर्ण, भव्य र विश्वसनीय ढंगले सम्पन्न हुने वातावरण बनाउन सबै निकायबिच प्रभावकारी समन्वय हुनुपर्छ’ भन्दै आवश्यक निर्देशन दिएकी बताइएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, संवेदनशील क्षेत्रको विशेष निगरानी गर्न र मतदाताको सुरक्षामा कुनै कमी हुन नदिन जोड दिएकी छिन् । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन संयन्त्रबिच निरन्तर समन्वय कायम राख्न तथा आवश्यक स्रोत–साधन समयमै परिचालन गर्न पनि निर्देशन दिएकी हुन् ।

यसअघि प्रधानमन्त्रीले बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण सम्पन्न गरिसकेकी थिइन्। पूर्वी हिमाली जिल्लामा केन्द्रित उनको यो भ्रमणलाई आगामी निर्वाचनको तयारी, सुरक्षा सुदृढीकरण र सरोकारवाला निकायबिच समन्वय बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ ।
 

सुझावित समाचार