एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव संकलन गरिरहेको छ । पार्टीले जस्तै उम्मेदवारले पनि निर्वाचन क्षेत्रमा प्रतिबद्धता सार्वजनिक गर्नुअघि सुझाव संकलन गरिरहेका छन् ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार घोषणापत्र लेखनका लागि अहिले जनवर्गीय संगठन, पार्टी सदस्यबाट सुझाव संकलन गरिएको छ । त्यस्तै, पार्टीसम्बद्ध बुद्धिजीवीले पनि घोषणापत्र मस्यौदा समितिलाई सुझाव दिएका छन् ।
कतिपय जनवर्गीय संगठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमाले केन्द्रीय कार्यालयमार्फत समितिलाई सुझाव पठाएको पनि अधिकारीले जानकारी दिए । ‘घोषणापत्रका लागि सुझाव संकलन भइरहेको छ, अहिलेसम्म जनवर्गीय संगठन, पार्टीनिकट बुद्धिजीवी, पार्टी सदस्यबाट सुझाव आउने क्रम जारी छ,’ उनले भने, ‘तिनै सुझावका आधारमा घोषणापत्रको अन्तिम मस्यौदा बनाउने क्रम पनि सँगसँगै चलिरहेको छ ।’
उनका अनुसार एमालेले फागुन पहिलो साताभित्रै घोषणापत्र सार्वजनिक गर्ने तयारी छ । मस्यौदा लेखनको नेतृत्व नीति प्रतिष्ठानका संयोजक विष्णु रिमालले गरिरहेका छन् ।