पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहेकी प्रधानमन्त्री सुशीला कार्की पाथीभरा मन्दिर पुगेकी छिन् । निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने मुख्य उद्देश्यसहित जिल्ला भ्रमणमा रहेकी कार्कीले पाथीभरा मन्दिरमा पूजा–आराधना गरिन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री बिहान आठ बजे ताप्लेजुङ जिल्ला आएको र उनले प्रसिद्ध धार्मिक तीर्थ पाथीभरा मन्दिरमा पूजाअर्चना गरेकी हुन् । त्यसपछि जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० बजे छलफलको कार्यक्रममा सहभागी हुनेछिन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध र व्यवस्थापन पक्षबारे मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण सम्पन्न गरिसकेकी छिन्। पूर्वी हिमाली जिल्लामा केन्द्रित यो भ्रमणलाई आगामी निर्वाचनको तयारी र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले हेरिएको छ ।