सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । आइपिओ निष्कासनका कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटिकल्सका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटलका तर्फबाट चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । २०४३ माघ ११ गते स्थापना भएको सिद्धार्थ फर्मास्युटिकल्सले २०४६ सालदेखि औपचारिक रूपमा औषधि उत्पादन गरिरहेको छ । यसको उद्योग तिलोत्तमा– १५ रुपन्देहीमा छ ।