सिराहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सन् २०२५ मा अस्पतालमा करिब पौने आठ लाख आँखाका बिरामीले उपचार सेवा लिएका छन् । अस्पताल र मातहतका आँखा उपचार केन्द्रहरूसहित अहिलेसम्मकै सबैभन्दा बढी सात लाख ४२ हजार आठ सय ४२ जनाको जाँच र ६२ हजार २७६ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। ४३औँ वार्षिकोत्सवको अवसरमा बुधबार अस्पतालपरिसरमा आयोजित समारोहमा मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार सिंहले पछिल्लो वर्ष अस्पताल र २० वटा आँखा तथा कान उपचार केन्द्रमार्फत उक्त सेवा दिइएको जानकारी दिए ।
त्यसबाहेक ३४ हजार ७३९ जना बिरामीको कान जाँचसहित उपचार र चार हजार ८३ जनाको शल्यक्रिया गरिएको उनले बताए । अस्पतालअन्तर्गत सप्तरी, सर्लाही, उदयपुर, महोत्तरी, सिराहा, खोटाङ, धनुषा र ललितपुरमा गरी २० आँखा उपचार केन्द्रमार्फत आँखा तथा कानको जाँच तथा उपचार भइरहेको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए ।
‘सप्तरीको राजविराज, महोत्तरीको बर्दीबास र जलेश्वर तथा सर्लाहीको मलंगवामा समेत आँखाको शल्यक्रिया हुन्छ,’ उनले भने, ‘त्यसबाहेक केन्द्रहरूमा आँखा तथा कानका बिरामीको जाँच गरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालमा ल्याएर शल्यक्रिया गरिन्छ।’ अस्पतालले जलविन्दु, कोर्निया, अकुलोप्लाटी बिरामीहरूको आँखा जाँच र शल्यक्रियासहित जेनरल फिजिसियनमार्फत बिरामीको जाँच, समुदायस्तरमा शिविर सञ्चालन, विद्यालयमा विद्यार्थीको आँखा कान जाँच गरिएको उनले बताए ।
उनका अनुसार अन्धोपन निवारणका लागि सिराहा, सप्तरी र धनुषाका आठवटा स्थानीय तहहरूसँग समन्वय गरी समुदाय तहमा ११२ वटा शिविरमार्फत पछिल्लो वर्ष २८ हजार ७१७ जना बिरामीको आँखा जाँचसहित पाँच हजार ९३८ जनाको शल्यक्रिया गरिएको छ ।
सन् १९८३ मा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको दुई कोठा लिएर १२ शय्याबाट सुरु गरिएको आँखा अस्पतालका लागि स्थानीय छविलाल चौधरी, सरोवर चौधरी र रवीन्द्रलाल चौधरीले १२ बिघाभन्दा बढी जग्गा दानस्वरूप उपलब्ध गराएका थिए । जग्गा प्राप्तिपछि नेपाल नेत्र ज्योति संघको पहलमा क्रिस्टाेफर ब्लाइन्ड मिसन (सिबिएम) जर्मनीको सहयोगमा ५० शय्या क्षमताको आफ्नै भवन निर्माण गरी थालिएको आँखा उपचारमा पछिल्लो समय साढे चार सय शय्या सञ्चालन गरिएको उनले बताए ।
उपचार सेवासँगै बलियो मित्रता
वार्षिकोत्सवमा प्राध्यापक डा. चेतराज बरालले विश्वमञ्चमा हुने आँखासम्बन्धी छलफलहरूमा सगरमाथा चौधरी आँखा अस्पतालको चर्चा हुने गरेको उल्लेख गर्दै अस्पताल लहानको धरोहर रहेको बताए । नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्षसमेत रहेका डा. बरालले भारतको केहीबाहेक प्रायः सबै प्रान्त, भुटान र बंगलादेशसम्मका आँखाका बिरामीलाई विशेषज्ञ सेवा दिइरहेको अस्पतालको कारणले छिमेकी मुलुकका बिरामीहरूले स्वास्थ्य लाभ पाउनुका साथै मित्रतासमेत बढ्दै गएको औँल्याए ।
‘करिब साढे चार दशकअघि गरिएको सर्वेक्षणमा आँखासम्बन्धी समस्या बढिरहेको पाइएपछि लहानमा पनि अस्पताल स्थापना गरी सेवा थालिएको हो,’ उनले भने, ‘यो अवधिमा लहानबाट मात्र ९२ लाखभन्दा बढीको आँखा जाँच, उपचार र २५ लाखभन्दा बढीको शल्यक्रिया गरी उज्यालो दिनु चानचुने संख्या होइन ।’ गरिब, विपन्न, असहायहरूले पनि अब स्थानीय अभिभावकको रूपमा रहेको स्थानीय तहको सहयोगमा विश्वमै ख्याति कमाएको अस्पतालबाट आँखा उपचार पाएर संसार देख्न पाउनु सराहनीय काम भएको उनले बताए ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बेरोजगारहरूको संख्या बढ्दै गएको चर्चा गर्दै अस्पतालले आफ्नै आम्दानीले संस्था सञ्चालनसँगै करिब चार सयजनालाई रोजगारी दिनुले गरिबी निवारणमा पनि योगदान दिएको उल्लेख गरे । ‘उद्योग, कारखाना नभए पनि लहान क्षेत्र शिक्षा र स्वास्थ्यको हब बन्दै गएको छ,’ उनले भने, ‘आँखा अस्पताल त्यसको ठुलो उदाहरण हो ।’ त्यसबाहेक प्रादेशिक अस्पताललाई ट्रमा सेन्टर बनाउन पहल गरिरहेको उनले बताए।
प्रारम्भिक चरणको क्यान्सर पहिचानका लागि लहान क्यान्सर केयर सेन्टर, मुटु अस्पतालजस्ता संस्थाहरू सञ्चालनले स्वास्थ्य क्षेत्रमा नगरले फड्को मार्दै गएको चर्चा गर्दै उनले त्यसमा स्थानीय सरकारले पनि सक्दो सघाउने प्रतिबद्धता जनाए ।
‘थप सेवा सञ्चालनका लागि विधान बाधक’
लहान– ३ का वडाध्यक्ष रामदियाल महतोले आँखा र कानको विशेषज्ञ उपचार सेवा दिइरहेको अस्पतालले दाँतसम्बन्धी सेवा पनि थालनी गर्नुपर्ने माग गरे । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले अस्पतालसँग पूर्वाधार हुँदाहुँदै अन्य सेवा सञ्चालनका लागि संघको विधान बाधक रहेको गुनासो गरे। अस्पतालमा दक्ष चिकित्सकहरू बढीमा तीन वर्षभन्दा बढी नटिक्ने चर्चा गर्दै उनले छोराछोरी पढाउने स्तरीय विद्यालय नहुँदा त्यसकै लागि पनि छोडेर जाने गरेको बताए । ‘त्यसलाई रोक्न अस्पतालले स्तरीय विद्यालय चलाउन खोजिरहेको छ,’ उनले भने, ‘तर, संघको विधानले रोकेको छ।’
संस्था सञ्चालनका लागि बनाइएको विधानले अन्य राम्रा सेवा सञ्चालन गर्न बाधा गर्छ भने त्यसलाई परिमार्जन पनि गर्नुपर्ने उनको माग थियो। अस्पतालले मेडिकल कलेज, स्तरीय विद्यालय चलाउने योजना बनाएको, तर विधानले आँखासम्बन्धी सेवाबाहेक अन्य सेवा सञ्चालन गर्न रोकेकाले परिमार्जन गर्न जरुरी रहेको उनले बताए ।