चलचित्र पर्यटन प्रवर्द्धन गर्न समझदारी

बिहिबार, २९ माघ, २०८२
डिजिटल संस्करण

चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटिबी) र चलचित्र विकास बोर्ड (एफडिबी)बिच चारबुँदे समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरिटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारी आर्थिक वर्ष ०८२/८३ का स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत गरिएको बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिएका छन् ।

समझदारीको मुख्य बुँदाअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पेभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । त्यस्तै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको छ ।
 

See More On

सुझावित समाचार