नेपाल–कतारबिच आर्थिक समन्वय बलियो बनाउने प्रतिबद्धता

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

नेपाल र कतारबिच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी)को पहिलो बैठक सम्पन्न भएको छ । काठमाडौंको चन्द्रागिरिमा सम्पन्न बैठकले दुई देशबिच आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर सेख तमिम बिन अहमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । परिषद् नेपाल र कतारका निजी क्षेत्रबिच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने मञ्चका रूपमा स्थापना गरिएको हो । बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, बिटुबी सहकार्य तथा जिटुजी समन्वयका विषयमा छलफल गरेका थिए । सहभागीहरूले नेपाल र कतारबिचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुन संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै नेपालको ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायतका विविध क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरेको छ । नेपालमा कतारी लगानीका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको र नेपाली व्यवसायीलाई पनि कतारमा सेवा क्षेत्र, पर्यटनसम्बद्ध उद्योग, सीप विकास तथा साना तथा मझौला उद्यममा अवसर खोज्न आग्रह गरिएको छ ।

सुझावित समाचार