- आफूनिकट नेता–कार्यकर्ताहरूसँग निरन्तर संवादमा रहेका निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाको चुनावी सक्रियता शुन्यप्राय: देउवाको मौनताले चुनावमा पार्टीलाई नोक्सान गर्ने र उनलाई मैदानबाहिर राख्नु नै लाभदायक हुन सक्ने कांग्रेसभित्र दुई थरी तर्क
झन्डै ६ दशक लामो सक्रिय राजनीतिक यात्रामा कहिल्यै चुप नबसेका शेरबहादुर देउवा यति वेला ‘असामान्य’ मौनतामा छन् । आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहँदा अनि आफ्नै पार्टीको अभियान तीव्र भइरहँदा र कांग्रेसमा एउटा पुस्ता अस्तित्व बचाउने लडाइँ लडिरहँदा देउवा भने महाराजगन्जको घरभित्र सीमित छन् ।
विशेष महाधिवेशनपछि नेतृत्व हातबाट फुत्किएसँगै सुरु भएको उनको मौनताको निरन्तरता कुनै स्वास्थ्य कारण नभई राजनीतिक हैसियतको अन्योलले बनाइरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा होमिएको कांग्रेस र राजनीतिभित्र यति वेला सबैभन्दा ठुलो प्रश्न छ– विशेष महाधिवेशनपछि देउवा के गर्दै छन् र चुनावमा किन मौन छन् ? उनको मौनतालाई कांग्रेसको चुनावी परिणामसँग पनि हेर्ने गरिएको छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पूरै होमिएको भए पनि पार्टीका निवर्तमान सभापति देउवा चुनावी प्रचारमा छैनन् । सार्वजनिक कार्यक्रममा उनको उपस्थिति शून्य छ । पार्टीका पक्षमा उनले औपचारिक अभिव्यक्ति पनि दिएका छैनन् । त्यसैले देउवाको मौनताले पार्टीको चुनावी अंकगणितमै फरक पर्ने हो कि भन्ने कांग्रेसभित्र अर्को चिन्ता पनि छ ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै सुरु भएको राजनीतिक र कानुनी विवादबिच देउवा घरमै सीमित बनेका हुन् । निर्वाचन आयोगले २ माघमा विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्व (सभापति गगनकुमार थापा)लाई मान्यता दिएपछि देउवा त्यसविरुद्ध सर्वोच्च अदालत गएका छन्, जहाँ मुद्दा विचाराधीन छ । निकट नेताहरूका अनुसार अदालतको फैसला नआएसम्म देउवा सार्वजनिक रूपमा सक्रिय नहुने मनस्थितिमा छन् ।
कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हैसियतको प्रश्नले देउवालाई प्रचारमा जान कठिन भएको प्रतिक्रिया दिए । ‘अदालतले आधिकारिकताको निरूपण नगरेसम्म उहाँ सार्वजनिक रूपमा बोल्ने वा कार्यक्रममा सहभागी हुने सम्भावना म देख्दिनँ । उहाँ कुन हैसियतमा प्रचारमा जाने भन्ने प्राविधिक प्रश्न पनि छ,’ उनले नयाँ पत्रिकासँग भने ।
तर, देउवानिकट नेताहरूका अनुसार उनी महाराजगन्जस्थित निवासमा निकटस्थसँग भेटघाटमा व्यस्त छन् । टेलिफोनमार्फत उम्मेदवारहरूसँग संवाद र शुभकामना आदान–प्रदान भइरहेको छ । गृहजिल्ला डडेल्धुराका नेताहरूसँग पनि नियमित सम्पर्कमा छन् । चुनावअघि सर्वोच्चको फैसला नआए भोट हाल्न भने गृहजिल्ला जाने तयारी रहेको स्रोत बताउँछ ।
कांग्रेस नेता एवं डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले देउवा डडेल्धुरा जाने हल्ला सुनेको, तर यकिन नभएको बताए । सातपटक डडेल्धुराबाट निर्वाचित देउवा यसपटक मैदानबाहिर छन् । तर, पूर्णत: राजनीति बाहिर भने छैनन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले हालै देउवासँग भेट भएको र छोटो कुराकानी भएको बताए । ‘राम्रो गर, जाऊ भन्नुभो । अरू खासै कुरा गर्नुभएन,’ उनले भने ।
देउवा स्वयं भने आफूलाई अपमानित गरिँदै नेतृत्वबाट हटाइएको भावनामा छन् । एक पूर्वपदाधिकारीका अनुसार देउवाले १५औँ महाधिवेशनबाटै बिदा लिने घोषणा गरिसकेको अवस्थामा जबर्जस्ती हटाइएको अनुभूति निकटस्थहरूलाई सुनाउने गरेका छन् । ‘मेरो अनुहार हेर्न पनि तयार नभएका साथीहरूले विशेष महाधिवेशनबाट पार्टी हातमा लिए । अब म के आधारमा प्रचारमा जाने ?’ देउवाको भनाइ उद्धृत गर्दै एक पूर्वपदाधिकारीले सुनाए, ‘जेन–जी आन्दोलनका वेला पनि ममाथि नै दुव्र्यवहार भयो । नेतृत्वको संरक्षण गर्नुपर्नेमा पार्टीका साथीहरू मेरै बदनाम गर्न लागे ।’
कांग्रेस नेता विश्वकर्माले पनि देउवालाई प्राविधिक रूपमा अहिले अप्ठेरो भएको बताए । ‘उहाँ कुन हैसियतमा चुनाव प्रचारमा जाने ? कुन हैसियतमा बोल्ने ? सर्वोच्चको फैसला नआएसम्म उहाँ पूर्वसभापतिको हैसियतमा जाने कुरा आउँदैन, किनभने उहाँले मुद्दा हाल्नुभएको छ,’ विश्वकर्माले भने, ‘अदालतले किनारा नलगाएसम्म उहाँ सक्रिय हुने अवस्था छैन ।’
विश्वकर्माका अनुसार अदालतको निर्णयपछि देउवा यो वा त्यो भूमिकामा देखिने बताउँछन् । ‘आपूm निकटस्थ नेताहरूसँग सम्पर्क र छलफलमा हुनुहुन्छ । अदालतले उहाँलाई मान्यता दिएन भने उहाँ पूर्वसभापतिको रूपमा र अदालतले मान्यता दियो भने सभापतिका रूपमा उहाँले भूमिका खेल्नुहोला,’ उनले भने ।
सभापति थापाले संवाद अगाडि बढाए त्यसले पार्टी हित गर्ने विश्वकर्माको बुझाइ छ । ‘पार्टीमा उहाँको फेस भ्याल्युलाई अघि सारेर पार्टीलाई थप बलियो बनाउने हो भने वर्तमान नेतृत्वले शेरबहादुर दाइसँग संवाद थाल्नु उचित हुन्छ,’ विश्वकर्माले भने, ‘पार्टीमा हिजोको निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिबिच सौहार्दपूर्ण वातावरण बनाउनुपर्छ भनेर हामी लागिरहेका छौँ, वातावरण बनिरहेको पनि छ ।’
पार्टी प्रवक्ता देवराज चालिसे स्वास्थ्य र समयअनुकूलता मिले देउवा प्रचारमा जान सक्ने विश्वास व्यक्त गरे । साथै, उनले सभापति थापा र देउवाबिच संवाद भैरहेको दाबी गरे । ‘उमेर र स्वास्थ्य अनुकूल हुँदा मात्रै प्रचारमा जाने कुरा हुन्छ । उहाँको स्वास्थ्य ठिक भए पार्टीलाई जिताउन भूमिका खेल्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘अदालतमा मुद्दा नसकिएकाले गर्दा देउवामा अलमल भन्ने प्रचारबाजी मनोगत मात्रै हुन् । पूर्वसभापतिलगायत अग्रजहरूको फेस भ्याल्युलाई पार्टीले प्रयोग गर्नेछ र निर्वाचनमा राम्रो नतिजा हासिल गर्नेछ ।’
देउवानिकट एक पूर्वपदाधिकारीले भने वर्तमान नेतृत्वकै कारण देउवा सार्वजनिक रूपमा चुनाव प्रचारप्रसारमा जान इच्छुक नभएको बताए । ‘वर्तमान नेतृत्वले शेरबहादुर देउवालाई लिएर चुनावमा जान सकिन्न भनेर बारम्बार अपमान भयो । अपमानित भएर शेरबहादुर दाइ बाहिर कसरी जाने ? नेतृत्वले उहाँलाई के भनेर लैजाने ? उहाँ आफैँ के भनेर जाने ?’ ती पूर्वपदाधिकारीले भने ।
सामाजिक सञ्जालमा देउवा अझै ‘सभापति’
सामाजिक सञ्जाल फेसबुक र एक्समा रहेको पर्सनल अकान्उमा अहिले पनि ‘सभापति शेरबहादुर देउवा’ लेखिएको छ । कांग्रेसको वेबसाइटबाट देउवाको नाम सभापतिबाट हटाइएको छ । देउवाको फेसबुक र ट्विटर अकाउन्टबाट सभापति पद कायमै रहेको विषयमा पार्टी प्रवक्ता देवराज चालिसेले टिप्पणी गर्न चाहेनन् ।
मतदान गर्न गृहजिल्ला डडेलधुरा जाने तयारीमा
कांग्रेसको आधिकारिकता विवादमा चुनावअघि सर्वोच्चको फैसला नआए पनि देउवा भोट हाल्न भने गृहजिल्ला डडेलधुरा जाने तयारीमा छन् । कांग्रेसबाट डडेल्धुरामा उम्मेदवार बनेका नैनसिंह महरले देउवा डडेल्धुरा आउने सुनेको, तर यकिन भइनसकेको बताए । सातपटक डडेल्धुराबाट निर्वाचित देउवा यसपटक मैदानबाहिर छन् ।
सार्वजनिक कार्यक्रममा छैनन् देउवा
जेन–जी आन्दोलनका क्रममा घाइते भएका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा २८ असोजमा केन्द्रीय समितिको बैठकमा सानेपामा सहभागी भए, पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै सार्वजनिक रूपमा पार्टीको बैठक वा कार्यक्रममा सहभागी भएका छैनन् । तर, पार्टीका तर्फबाट समानुपातिक सदस्यहरूको सूची देउवाकै हस्ताक्षरमा निर्वाचन आयोगमा बुझाएयता तत्कालीन इतरसमूह (गगन थापा–विश्वप्रकाश शर्मा)सँग देउवाको सम्बन्ध सहज भएन । देउवा २८ भदौपछि उपचारका लागि सिंगापुर गए, फर्केर समानुपातिक उम्मेदवार सूचीमा हस्ताक्षर गरे । पार्टी नियमित महाधिवेशनको मितिबारे सहमतिका लागि उनी सक्रिय भए, विशेष महाधिवेशन बोलाइसकेपछि त्यसलाई रोक्न पनि उनी सक्रिय रहे, तर उनी घरबाहिर निस्केनन् । विशेष महाविधेशन भइसकेपछि पनि सहमतिका लागि उनी सक्रिय भए, तर उनी तत्कालीन पूर्वपदाधिकारीहरू ६ जनाको घेराबन्दीमा परे । विशेष महाविधेशनले १ माघमा गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेपछि देउवा विक्षिप्त भए । २ माघमा निर्वाचन आयोगले थापालाई मान्यता दिएपछि देउवा त्यसविरुद्ध सर्वोच्च पुगे, मुद्दा विचाराधीन छ, देउवा घरमा छन् ।
गगनसँग दूरी, ओलीसँग संवाद
विशेष महाधिवेशनपछि शेरबहादुर देउवा र सभापति गगन थापाबिच संवाद टुटेजस्तै छ । उनले थापालाई बधाई पनि दिएका छैनन् । सभापति थापाले पनि देउवाले आफूलाई सम्पर्क नगरेको, बधाई नदिएको सार्वजनिक रूपमा बोल्दै आएका छन् । बरु निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग भने उनको संवाद भइरहेको स्रोतहरूको दाबी छ । संसद् पुनस्र्थापनाको मुद्दामा दुवै नेता समान धारमा देखिएका छन् ।
चुनाव लड्न चाहन्थे, तर अन्तिममा पछि हटे
देउवाले राजनीतिक जीवनको ‘अन्तिमपटक’ चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । स्रोतका अनुसार उनले चुनाव लड्ने इच्छा ५ माघमा नेता रमेश लेखक, बालकृष्ण खाणमार्फत पार्टी उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे, नेताहरू देवराज चालिसे, मधु आचार्यलगायतलाई पुर्याएका थिए । सभापति थापा देउवाले सर्वोच्चमा मुद्दा फिर्ता गर्न तयार भएमा टिकट दिन तयार थिए । यद्यपि, नयाँ नेतृत्वको कोर टिममा देउवालाई चुनाव लड्न दिन नहुने मत हाबी थियो । देउवा पनि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमिति र विशेष महाधिवेशनलाई मान्यता दिने निर्णयविरुद्ध सर्वोच्चमा दायर रिट फिर्ता गर्न सकारात्मक थिए । तर, मुद्दा फिर्ता गर्ने–नगर्ने बहस र आन्तरिक दबाबबिच उनले उम्मेदवार नबन्ने घोषणा गरे । मध्यरातमा स्वकीय सचिवमार्फत जारी सूचनामा उनी चुनाव नलड्ने बताइएको थियो । तर, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतजस्ता नेताको दबाबमा परेपछि मध्यरातमा सचिवालयमार्फत देउवाले चुनाव नलड्ने घोषणा गरे । पत्नी आरजु पनि चुनावी मैदानबाहिर छिन् । देउवा २०४८, २०५१, २०५६, २०६४ २०७०, २०७४ र २०७९ सम्म सातपटक संसदीय/संविधानसभा निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए । उनले संविधानसभामा कैलाली र कञ्चनपुरबाट समेत चुनाव जितेका थिए ।