क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) ले महावीर एथलेटिक्स सेन्टरलाई हराउँदै प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा सिइसीले १३८ रनको फराकिलो जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रनको योगफल तयार गरेको थियो। सिइसीका लागि वीरेन्द्र धनदीले ८९ बलमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले। बुद्धिमान विष्ट ५९ बलमा ४४ रन बनाउँदै आउट भए। महावीरका लागि सोनु देवकोटाले ४ तथा रिजन थापाले २ विकेट लिए।
२३० रनको लक्ष्य पछ्याएको महावीर २१ दशमलब ३ ओभरमा ९१ रनमा अलआउट भएको थियो। महावीरका लागि प्रतीश जिशीले ४० बलमा सर्वाधिक ४७ रन जोडे। उत्तम थापामगरले ८ बलमा ११ रन बनाए। सिइसीका लागि प्लेयर अफ द म्याच दयानन्द मण्डलले ४ तथा मोनसान सिंहले ३ विकेट लिए।
च्याम्पियन सिइसीका कप्तान रहेका रित गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए। प्रतियोगिताभर १४ विकेट लिएका उपविजेता महावीरका सन्दीप पराजुली उत्कृष्ट बलर भए। प्रतियोगितामा तीन शतकसहित ४ सय ७ रन बनाएका सिइसीका कप्तान रित उत्कृष्ट ब्याटर भए। सिइसीका धीरज देउवा उदयीमान खेलाडी भए।
यसै प्रतियोगिताको आधारमा पिएम कप बागमती प्रदेश छनोटमा सहभागी हुने खेलाडी छनोट गरिनेछ। माघ १९ बाट जारी यस प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो।