नेपाल–भारत सुरक्षा सहकार्यबारे छलफल

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण

नेपाल–भारत सुरक्षा सहकार्यबारे दुई देशका चिन्तन संस्थानका प्रतिनिधि एवं विज्ञहरूबिच छलफल भएको छ । नेपालको चिन्तन संस्था नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल को–अपरेसन एन्ड इन्गेजमेन्टद्वारा मंगलबार आयोजित कार्यक्रममा दुवै देशका प्रमुख संस्थानका विज्ञहरू सहभागी थिए ।

भारतीय सेनाको सबैभन्दा पुरानो थिंकट्यांक युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाका महानिर्देशक सञ्जय जसजित सिंहले भने, ‘भारतीय सैन्य शक्ति र राष्ट्रिय सुरक्षाको अग्रपंक्तिमा नेपाली साहस र वीरता सधैँ रहेको छ ।’ 

भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा चिन्तन संस्था नेटस्ट्र्याटका संयोजक पूर्वराजदूत पंकज शरणले नेपालका युवासँगको अन्तक्र्रियाबाट आफू निकै प्रभावित भएको बताए । उनले नेपाल र भारत दुवै देशका युवाले भविष्यको नेपाल–भारत सम्बन्ध निर्माणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । 

इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले भारत सीमापार आतंकवादको प्रमुख पीडित रहेको र यसले नेपालमा पनि गम्भीर प्रभाव पार्ने बताए । जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक संगीता थपलियालले भारत–नेपाल सम्बन्ध थिंकट्यांक र शैक्षिक केन्द्रहरूको कार्यबाट लाभान्वित भएको उल्लेख गर्दै सहकार्य सुदृढ गर्न प्रशस्त सम्भावना रहेको बताइन् ।

काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका सहसंस्थापक डा. गौरव सैनीले भारत–नेपाल सीमा गहिरो व्यापारिक, सांस्कृतिक र जन–जनबिचको सम्बन्धका कारण विशिष्ट रहेको तर सीमाको खुला स्वरूपले उत्पन्न गरेको साझा सुरक्षा चुनौती मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

सेनाका पूर्वउपरथी तथा सामरिक मामिलाविज्ञ बिनोज बस्न्यातले नेपालमा जेन–जीद्वारा भएका प्रदर्शन अप्रत्याशित नभए पनि त्यसको स्वरूप चकित पार्ने खालको रहेको बताए । निर्वाचनको महत्व स्वीकार गर्दै उनले निर्वाचनले मात्र रणनीतिक स्थायित्व सुनिश्चित गर्छ कि गर्दैन भन्ने प्रश्न उठाएका थिए । निर्वाचनपछिको अवस्थालाई उनले रणनीतिक समाधानभन्दा बढी रणनीतिक विरामका रूपमा व्याख्या गरे । 

आयोजक संस्थानकी निर्देशक सुमित्रा कार्कीले नेपाल र भारतबिच सम्बन्ध सुदृढ गर्न शैक्षिक तथा नीतिगत संलग्नता आवश्यक रहेको बताइन् ।

सुझावित समाचार