मंगलबार १० बजेसम्मका मुख्य १० समाचार

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

यात्रुबाहक बस दुर्घटना अपडेट : १२ को मृत्यु, आठ घाइते

रामेछापको मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित त्रिवेणी मन्दिरनजिक यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र आठजना घाइते भएका छन्। मंगलबार बिहान करिब १०:३० बजे साँघुरो सडकमा बस तामाकोशी नदीमा खसेको हो।

मृत्यु हुनेमध्ये रामेछापका आठजना छन्। मृतकमा लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङका दम्पती भीमबहादुर तामाङ र जानुमाया तामाङ, उनका आफन्तहरू तथा बसधनी दीपेन्द्र बस्नेत रहेका छन्। अन्य मृतक दोलखा, सिन्धुली र ओखलढुंगाका हुन्।

दुर्घटनामा चारजनाको घटनास्थलमै र बाँकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते आठजनामध्ये चालक सुशान्त थापामगरलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य घाइतेलाई काठमाडौं रेफर गरिएको छ।

प्रधानमन्त्रीको निर्देशन– सुरक्षा समन्वयमा कतै त्रुटि नहोस्

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न सुरक्षा समन्वयमा त्रुटि नगर्न निर्देशन दिएकी छिन्। नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक– २०८२ को समुद्घाटन सत्रलाई मंगलबार सम्बोधन गर्दै उनले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुपर्नेमा जोड दिएकी हुन्। 

उनले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्।’ 

निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगबाट सम्पादन  गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । 

अर्धवार्षिक समीक्षा : बजेटको आकार १६ खर्ब ८८ अर्बमा झर्यो, चार खर्बको पुँजीगत बजेट दुई खर्ब ४३ अर्बमा खुम्च्याइयो

सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले मंगलबार चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत कुल खर्च १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा सीमित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ। यो रकम सुरुमा विनियोजन गरिएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको ८५.९६ प्रतिशत मात्र हो।

संशोधित अनुमानअनुसार चालू खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ। यस्तै, पुँजीगत खर्च दुई खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब १९ अर्ब चार करोड ३९ लाख रुपैयाँ रहनेछ। सुरुको बजेटमा भने चालू खर्च ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्च चार खर्ब सात अर्ब ८८ करोड र वित्तीय व्यवस्था तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्यका साथ बजेट पुनरावलोकन गरेको जनाएको छ। ०८२ भदौ २३–२४ को आन्दोलनपछिको असामान्य परिस्थिति, आयोजनाको पुनः प्राथमिकीकरण तथा खर्च कटौतीसम्बन्धी मन्त्रिपरिषद् निर्णयलाई संशोधनको मुख्य आधार बनाइएको छ।

नेकपाले सार्वजनिक गर्यो ‘प्रतिबद्धता-पत्र’

नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ।

पेरिसडाँडामा मंगलबार विशेष कार्यक्रमबिच पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन्। 

प्रतिबद्धता-पत्रमा ‘भाषिक विभेदको अन्त्य गरौँ, सयौँ फूलहरू फुल्न दिऔँ’, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास’, ‘नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो’लगायतका विषय समावेश गरिएको छ।

विशेषगरी, आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रले जोड दिए नेकपाको दाबी छ। प्रतिबद्धता-पत्रले विगतका नीतिहरूको असफलता विश्लेषण गर्दै नयाँ सुधारको ऐतिहासिक आवश्यकतालाई औँल्याएको छ।

सस्तोमा सुन बेच्ने बहानामा ६० लाख लुटियो, प्रहरीसहित चारजना पक्राउ

सस्तोमा सुन किन्न बोलाएर ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक प्रहरीसमेत छन्। 

गत १५ माघमा ललितपुरमा सुन पसल चलाउने विनोद लाम्दागेको ६० लाख रुपैयाँ कीर्तिपुरमा लुटपाट भएको हो। लुटपाटमा संलग्न प्रहरी हवल्दार कर्णबहादुर सुनारसहितलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। हवल्दार सुनार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। 

पक्राउ पर्ने अन्यमा काभ्रेपलाञ्चोकका दिपक आलेमगर, रसुवाका विक्रम तामाङ, नुवाकोटका जीवन तामाङ छन्। उनीहरूले कीर्तिपुरको एकान्तमा सुन किन्न बोलाएर सुन पसलेले ल्याएको पैसा लुटेका थिए। आफूहरू प्रहरी भएको भन्दै उनीहरूले हत्कडी देखाएर पैसा लुटेका हुन्। पक्राउ परेकाउपर डाँका मुद्दामा अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। 

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको अवस्था सुध्रिएन, सिपिआई इन्डेक्समा ३४ अंक मात्रै

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको खराब अवस्था यथावत देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले विश्वमा व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्यांकन गरी जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) २०२५ ले नेपाल भ्रष्ट मुलुककै श्रेणीमा सूचीकृत गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टर टिआई नेपालले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालको सिपिआई स्कोर ३४ छ। अघिल्लो वर्ष सन् २०२४ मा पनि नेपालको स्कोर ३४ नै रहेकोमा त्यो अंक अहिले पनि यथावत देखिएको हो। सन् २०२५ मा नेपालको सिपिआई स्थान भने १०९ औँ छ। सिपिआईमा समेटिएका १८२ मुलुकको सूचीमा नेपाल उक्त स्थानमा परेको हो।

विश्वकपको कुल पुरस्कार राशि एक करोड १२ लाख डलर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप २०२६ को पुरस्कार राशि सार्वजनिक गरेको छ । 

आइसिसीले कुल एक करोड १२ लाख डलरभन्दा बढी पुरस्कार राशि वितरण गर्ने जनाएको छ । कुल पुरस्कार राशि एक करोड १२ लाख ५० हजार डलर रहेको छ ।

विजेताले २३ लाख ४० हजार डलर, उपविजेताले ११ लाख ७० हजार डलर र सेमिफाइनल पुग्नेले ६ लाख ७५ हजार डलर पाउनेछन् । 

यस्तै, पाँचौँदेखि आठौँ स्थानमा रहने टिमले दुई लाख ७० हजार डलर  पाउने  आइसिसीले जनाएको छ ।

यस्तै, १३ देखि २०औँ स्थानमा रहनेले एक लाख १२ हजार पाँच सय डलर पाउनेछन् । यस्तै प्रत्येक खेल जित्नेले ३१ हजार १५४ डलर पाउनेछन् ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा नेपालसहित २० सहभागी छन्।

पुर्ख्यौली घर पुगे बालेन

रास्वपा वरिष्ठ नेता बालेन महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घरमा पुगेका छन्। चुनावलक्षित यात्रामा रहेका बालेन जनकपुरबाट जलेश्वर हुँदै सिधा गाउँको घर पुगेका हुन्।

सुरुमा जनकपुरबाट धनुषाकै नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम रहे पनि रुट परिवर्तनपछि उनी जनकपुरबाट जलेश्वरको बाटो गाउँ पुगेका हुन्।

महोत्तरी क्षेत्र नं ३ मा पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि गाडीबाटै उनले घन्टी बजाउँदै मतदातालाई अभिवादन गरेका थिए। यद्यपि उनले कुनै सम्बोधन गरेनन्। त्यसपछि आफ्नो घर पुगेर कुल देउता ढोगेर उनी अघि बढे। गाउँपालिका कार्यालय रहेको घरको दुईवटा कोठा बालेनकै परिवारले प्रयोग गर्दै आएका छन्।

सम्सीको बाटो हुँदै गौशाला पुगको बालेन आजै बर्दिवास पुग्ने कार्यक्रम रहेको रास्वपाको महोत्तरी जिल्ला सभापति शुभम् कुमार यादवले जानकारी दिए। उनले धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वरको रुट सुरक्षा कारणले रद्द भएको बताए।

योसँगै बल्वा सरपल्लो पुग्ने कार्यक्रमसमेत रद्द भएको छ। बालेनले जलेश्वरनाथ महादेवको मन्दिरअगाडि गाडीबाटै ढोगेका थिए।

भोलिदेखि चुनावी सुरक्षामा खटिँदै डेढ लाख निर्वाचन प्रहरी [तस्बिरहरू]

फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भर्ना भएका करिब डेढ लाख निर्वाचन प्रहरीको तालिम मंगलबार सकिएको छ। उनीहरूलाई बुधबारदेखि चुनावको सुरक्षामा खटाउन लागिएको छ।

नेपाल प्रहरीमातहत एक लाख ३४ हजार ९८० र सशस्त्र प्रहरीमातहत १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरिएको छ। ४० दिनका लागि भर्ना गरिएका उनीहरूले प्रहरी जवानबराबरको सेवा सुविधा पाउनेछन्।

अस्ट्रेलिया, इंग्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्व क्रिकेटका महारथी राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड र भारतलाई कीर्तिपुरस्थित त्रिवि मैदानमा आएर खेल्न आग्रह गरेका छन्।

मंगलबार बानखेडे रंगशालामा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले तीन टिमलाई आतिथ्य गर्दै नेपाली क्रिकेट विकासमा योगदान गर्न अनुरोध गरेका हुन्।

‘भारत, अस्ट्रेलिया, र इंग्ल्यान्डलाई कीर्तिपुर मैदानमा खेल्न आउन आग्रह गर्दछु,’ रोहितले भने, ‘यस्तो अवस्थामा विश्व क्रिकेटको नजर नेपालमा पर्नेछ र नेपाली क्रिकेट अझै राम्रो हुनेछ।’

रोहितले इंग्ल्यान्डसँग अन्तिम ओभरमा ४ रनले पराजित भएपछि आइपिएल टिमलगायतले प्रशंसा मात्रै गरको बताउँदै खेलाडी अनुबन्ध गर्न पनि अनुरोध गरे।

रोहितले विश्वकपमा खेल्दा दबाब थेग्नुपर्ने र त्यहीँ नेपाली टिम चुकेको बताए। उनले पछिल्लोपटक दक्षिण अफ्रिकासँग खेलेपछि गत सेप्टेम्बरमा मात्रै वेष्ट इन्डिजसँग खेल्ने अवसर पाएको र टेष्ट राष्ट्रसँगै नियमित खेल भएको अवस्थामा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताए।

सुझावित समाचार