प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न सुरक्षा समन्वयमा त्रुटि नगर्न निर्देशन दिएकी छिन्। नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक– २०८२ को समुद्घाटन सत्रलाई मंगलबार सम्बोधन गर्दै उनले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुपर्नेमा जोड दिएकी हुन्।
उनले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्।’
निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगबाट सम्पादन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई विनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपाईंहरूलाई निर्देशन दिन्छु,’ उनले भनिन्।