राष्ट्रिय सेवा दलद्वारा सञ्चालित तालिममा सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । राष्ट्रिय सेवा दलद्वारा सिनियर डिभिजनतर्फ सञ्चालित २०औँ क्याडेट चौथो सामूहिक क्याम्पको ७९ दिन विद्यालयमा र २१ दिन राष्ट्रिय सेवा दल हात्तीखोर नवलपरासीमा गरी एक सय दिनको तालिममा सर्वोत्कृष्ट विद्यार्थीलाई नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सम्मान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार एक सय दिनको ड्रिल, कवाज, लिखित परीक्षा, प्रस्तुतीकरण, मार्सल आर्ट, दौड, भलिबल, बुटवल र नृत्यलगायतका विधाबाट उत्कृष्ट भएर १८ वटा विद्यालयका ५३० जनामध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो । ५३० जना विद्यार्थीमध्ये छात्रातर्फ सर्वोत्कृष्ट भएर माघ २० गते राष्ट्रिय सेवादल हात्तीखोरमा आयोजित दीक्षान्त कवाजमा सर्वोत्कृष्ट भई प्रधानमन्त्री सुशीला कार्कीद्वारा सम्मानित अविक्षा श्रेष्ठलाई विद्यालयको तर्फबाट सम्मान गरिएको बस्नेतले बताए ।
कार्यक्रममा अविक्षाका बुबा, आमा र राष्ट्रिय सेवा दलमा सम्पन्न भलिबलमा विजेता विद्यार्थी, रुपन्देही जिल्लाको स्यान्ड मोडल ब्रिफिङमा तृतीय हुन सफल नितुकुमारी गौड, अमृत राकस र अन्य राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका सबल पक्षहरू र विशेषताहरू जानकारी गराएका थिए ।
राष्ट्रिय सेवा दलद्वारा सर्वोत्कृष्ट भएकी अविक्षा श्रेष्ठले आफूले अर्को वर्ष राष्ट्रिय सेवा दलमार्फत भारत, पाकिस्तान, बंगलादेश, भुटानलगायतका सातवटा देशहरू भ्रमण गर्ने अवसर पाएको धारणा व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले नेपाल विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशहरूको छिमेकी भएकोले छिमेकीको शिक्षा प्रणालीले नेपाललाई पनि प्रभाव पार्ने भएकोले देशको शैक्षिक गुणस्तर सुधार गरी विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिए । वर्तमान समयमा सिपयुक्त शिक्षामा पहल गर्नुपर्ने धारणा उनले राखे ।
कार्यक्रममा ०८२ को दोस्रो त्रैमासिक परीक्षामा व्यवस्थापन, विज्ञान, कानुन र शिक्षा समूहमा उच्च जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, बुटवल उपमहानगरपालिका– १८ मा आयोजित जिल्लास्तरीय आइटिएफ तेक्वान्दोमा स्वर्ण, रजत र कांस्य पदक प्राप्त विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विज्ञान समूह कक्षा १२ मा अध्ययनरत विद्यार्थी कुशल फुल्देलले हालै सम्पन्न शैक्षिक अवलोकन भ्रमण असल भ्रमण अभ्यास व्यक्त गरेका थिए ।
बुटवल उपमहानगरपालिका– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूहकी विद्यार्थी कुसुम शेरचनको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मीनारायण चौधरी, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, अर्थशास्त्र शिक्षक नीलकण्ठ न्यौपाने, जु.ई. विशाल रावत, राष्ट्रिय सेवा दलका समन्वय शिक्षक दीपककुमार क्षेत्री, नेपाल विद्यालय कर्मचारी बुटवलका अध्यक्ष देवराज चौधरीलगायतले सहजीकरण गरेका थिए ।