नेदरल्यान्डको विजयी सुरुवात, नामिबिया सात विकेटले पराजित

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण
नेदरल्यान्डको विजयी सुरुवात, नामिबिया सात विकेटले पराजित

तस्बिर : एएफपी

आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा नेदरल्यान्डले पहिलो जित दर्ता गराएको छ। यसअघि पाकिस्तानसँग तीन विकेटले पराजित भएको नेदरल्यान्डले मंगलबार नामिबियालाई सात विकेटले हराएको हो।

दिल्लीमा पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रनको योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्यान्डले मात्र तीन विकेटकाे क्षतिमा १२ बल अगाबै १५९ रन जाेडेर लक्ष्य पूरा गरेकाे हाे।

नामिबियाका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४२ रन बनाएका थिए। जान फ्राइलिंकले ३०, जेजे स्मिथले २२ र जेराल्ड इरास्मसले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेदरल्यान्डका लागि लोगन भान बिक र बास डी लिडले समान दुई विकेट हात पार्दा आर्यन दत्त र फ्रेड क्लासेनले एक–एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्डका बास डी लिडले नटआउट ७२ रनको योगदान गरे। ४८ बल सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे। कोलिन एकरम्यान ३२ तथा माइकल लेभिट २८ रन जोडेर पेभेलियन फर्किँदा स्कट एड्वार्ड्सले नटआउट १८ रन बनाए।

नामिबियाका लागि बनार्ड स्कोल्ज, रुबेन ट्रम्पलमेन र लफ्टी इटनले एक–एक विकेट लिनुबाहेक अन्य खेलाडी विकेटविहीन रहे।

सुझावित समाचार