राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वब्रिटिस गोर्खा सैनिकको समान पेन्सनलगायत विषयमा नेपाल र बेलायतबिच भइरहेका छलफलप्रति चासो व्यक्त गरेका छन् । उनले पूर्वब्रिटिस गोर्खा सैनिकका जायज गुनासाहरू द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन् ।
बेलायती सेनाका मेजर जनरल जेरल्ड एम स्ट्रिकलेन्ड नेतृत्वको टोलीबाट सोमबार गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले अवकाशप्राप्त गोर्खा सैनिकको पेन्सन तथा कल्याणसम्बन्धी विषयमा ध्यानाकर्षण गराएका हुन् । गोर्खा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपतिले गुनासा सम्बोधनबारे धारणा राखेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले ‘पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यसलाई द्विपक्षीय संयन्त्रकै माध्यमबाट टुंगोमा पुर्याउनु उपयुक्त हुने’ बताएका छन् । साथै, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बेलायतले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्धित विषयमा सहकार्य गर्दै आएको तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमार्फत विश्वशान्ति स्थापनामा समान धारणा राख्दै आएकोसमेत राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिकलाई बेलायतीसरह पेन्सनलगायत सुविधा उपलब्ध गराउने विषयमा नेपाल–बेलायतबिच वार्ता हुँदै आए पनि हालसम्म ठोस निष्कर्षमा पुग्न सकेको छैन । सन् १९९७ भन्दा अघि बेलायती सेनाबाट अवकाश पाएका गोर्खा सैनिकहरूले बेलायती सैनिकसरह पेन्सन, कल्याणकारी सुविधा तथा क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हाल बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दवाडीले यस विषयमा बेलायती अधिकारीहरूसँग चरणबद्ध छलफल गरिरहेका छन् । भूपूगोर्खा सैनिकका प्रतिनिधिसहित विगतमा भएका मन्त्रीस्तरीय वार्तामा बेलायतले कानुनी तथा व्यावहारिक अड्चन देखाउँदै समान पेन्सन दिन नसक्ने अडान राखेपछि उच्चस्तरीय वार्ता अघि बढ्न सकेको थिएन । तर, पेन्सनलगायत विषय एकैपटक वैकल्पिक प्याकेजमार्फत समाधान गर्न सकिने विकल्पमा दुवै देशका अधिकारीबिच छलफल छलफल हुँदै आएको छ ।
भूपूगोर्खा सैनिकका माग समाधानका लागि गठित सुझाव कार्यदलले गोर्खा सैनिकलाई पनि बेलायतीसरह समान पेन्सन र सुविधा उपलब्ध गराउनुपर्ने प्रतिवेदन १८ चैत ०७४ मा नेपाल र बेलायत सरकारलाई बुझाएको थियो । भूपूगोर्खा सैनिकहरूले उक्त प्रतिवेदन कार्यान्वयनमा जोड दिँदै आएका छन् ।
राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय सेवामार्फत नेपाल र बेलायतबिचको द्विपक्षीय सम्बन्ध थप मजबुत बनाएको बताए । बेलायतमा नेपालीहरूको उल्लेखनीय उपस्थितिले दुई देशबिचको जनस्तरको सम्बन्ध अझ सुदृढ बनेको पनि उनको भनाइ थियो ।
प्रतिवेदन प्रस्तुत भएकोमा राष्ट्रपति पौडेलले बेलायत सरकारलाई धन्यवाद दिएका थिए । सो अवसरमा मेजर जनरल जेरल्ड एम स्ट्रिकलेन्डले ब्रिटिस गोर्खा सैनिक सधैँ अग्रपंक्तिमा रहने गरेको उल्लेख गर्दै गोर्खा सैनिकप्रति बेलायती जनताको माया र सम्मान रहेको बताए । ‘ब्रिटिस गोर्खामा भर्ना भएका युवाहरूलाई म सधैँ तपाईंहरू नेपालका छोरा–छोरी हौँ भनेर सम्झाउने गर्छु,’ उनले भनेका छन्, ‘बेलायती जनताले गोर्खा नेपालीहरूप्रति माया र सम्मान प्रकट गर्ने गरेका छन् ।’
राष्ट्रपति कार्यालयमा नेपालका लागि बेलायती राजदूत रब पेन, बेलायती सैनिक सहचारी कर्णेल डेन रेक्स, ब्रिगेड अफ गोर्खाका कर्णेल डेभिड रोबिन्सन, सहायक सैन्य सहचारी मेजर अशोक गुरुङ पनि सहभागी थिए ।