आगामी संसदीय चुनावअघि राजधानी ढाका र बंगलादेशका अन्य भागमा मतदाताको बसाइँसराइ ‘असामान्य’ भएको बंगलादेश नेसनल पार्टी (बिएनपी)ले आइतबार आरोप लगाएको छ । दिवंगत पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानको नेतृत्वमा रहेको बिएनपीले पनि यस्ता शंकास्पद गतिविधिबारे निर्वाचन आयोगसँग तथ्यांक माग गरेको छ ।
‘गत डेढ वर्षमा ठुलो संख्यामा मतदाता ढाका र देशका अन्य भागमा केही विशिष्ट निर्वाचन क्षेत्रमा बसाइँ सरेका छन्, जुन असामान्य हो,’ बिएनपीको निर्वाचन सञ्चालन समितिका अध्यक्ष नजरुल इस्लाम खानले प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनसँगको बैठकबाट बाहिर निस्कँदै पत्रकारलाई भने । बिएनपीले निर्वाचन क्षेत्रगत मतदाताको बसाइँसराइको तथ्यांक उपलब्ध गराउन निर्वाचन आयोगलाई आग्रह गरेको खानले बताए । बंगलादेशमा आगामी फेब्रुअरी १२ मा आमनिर्वाचन हुँदै छ ।