कैलाली १ का एमाले उम्मेदवार न्यौपानेको घोषणापत्र : नयाँ सहरदेखि चक्रपथ निर्माण गर्ने प्रतिबद्धता

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । टीकापुरमा आज पत्रकार सम्मेलन गरेर प्रतिबद्धता सार्वजनिक गरेका न्यौपानेले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित चक्रपथ निर्माण गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन क्षेत्रलाई सहज हुने गरी कञ्चनपुर–बडरिया–राजागौडी–सिमराना–जोशीपुर–महादेउली–थापापुर–विष्णापुर–नवलपुर–बहादुरपुर–भर्तापुर–नारायणपुर जोड्ने सडकलाई चक्रपथको रूपमा विकास गरिने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ । न्यौपानेले तटबन्ध तथा सडक निर्माण, सहरी विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य सुधारलगायत योजनालाई प्रतिबद्धतापत्रमा प्राथमिकता दिएका छन् ।

नागरिकको जीवनस्तरलाई उकास्न जोशीपुर, सत्ती र दुर्गौली बजारलाई नयाँ सहरको रूपमा विकास गर्ने योजनालाई न्यौपानेले अघि सारेका छन् । कैलाली १ मा प्रमुख समस्याका रूपमा रहेको नदी कटान र डुबानको समस्या समाधान गर्न उनले तटबन्ध निर्माणका योजनालाई पनि प्रतिबद्धतापत्रमा प्राथमिकता दिएका छन् । कर्णाली नदी किनारमा तटबन्धसँगै बाटो निर्माण गरेर कर्णाली करिडोरका रूपमा पर्यटन विकास गर्न सकिने अवधारणा न्यौपानेको छ ।

 त्यस्तै, उनले निर्वाचन क्षेत्रकेन्द्रित चारवटा सडकलाई चार लेनमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् । बौनिया–जोशीपुर–भजनी सडक, बौनिया–लोहागढ–सिमराना–झवही–नवलपुर–मरियाघाट सडक तथा टीकापुर–पार्क–दौलतपुर सडक र टीकापुर–सनकट्टी सडकलाई चार लेन सडकको रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता न्यौपानेले गरेका छन् ।

‘संसदमा गइसकेपछि मूल रूपमा कानुन बनाउने प्राथमिकता हुनेछ,’ उनले भने, ‘त्यसका साथसाथै निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर सडक, तटबन्ध, शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर काम गर्नेछु ।’ टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा विकास गर्ने, टीकापुर अस्पतालमा सिकलसेल र जलन उपचार विभाग तत्काल स्थापना गर्ने, टीकापुर विमानस्थलको धावनमार्ग विस्तार गरी हवाई सेवा सञ्चालन गर्ने उनको योजना छ ।

टीकापुरमा आधुनिक कृषि औजार औद्योगिक केन्द्र स्थापना, रोजगारी सिर्जना, भूमिहीन, सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण, टीकापुर पार्कको आधुनिकीकरणलगायत विषयलाई उनले आफ्नो प्रतिबद्धतापत्रमा समेटेका छन् । न्यौपानेले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । यो क्षेत्रको विकास निर्माण तथा सीमान्तकृत समुदायको हकअधिकारका लागि आफूले सदनमा निरन्तर आवाज उठाउने न्यौपानेले बताए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली १ मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सुझावित समाचार