गैँडाकोटस्थित कांग्रेस चोकमा रविको सम्बोधन– संसद् घन्टीका सांसदले भरिनुपर्ने भनाइ

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा संसद् घन्टीका सांसदले भरिनुपर्ने बताएका छन् । आइतबार पूर्वीनवलपरासीको गैँडाकोटस्थित कांग्रेस चोकमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले त्यसका लागि नवलपुर १ का पार्टी उम्मेदवार राजन गौतमको पक्षमा मतदान गर्न आग्रह गरे । ‘आगामी निर्वाचनमा ‘घन्टी’ चुनाव चिह्नमा मतदान गरी रास्वपाका उम्मेदवारहरूलाई जिताउनुपर्नेछ,’ उनले भने, ‘यसपटक संसद् परिवर्तनको प्रतीकका रूपमा घन्टीबाट जितेका सांसदले भरिनुपर्छ ।’

उनले अघिल्लो निर्वाचनमा गैँडाकोट क्षेत्रले ऐतिहासिक मत दिएको स्मरण गर्दै यसपटक पनि त्यसैको निरन्तरता रहने विश्वास व्यक्त गरे ।

‘राजन गौतम यहीँ हुनुहुन्छ । छुटेका साथीहरूले पनि यसपटक घन्टीमै मतदान गर्नुहुन्छ भन्नेमा मलाई कुनै शंका छैन,’ उनले भने, ‘म त केवल सम्झाउन र रिमाइन्ड गर्न कहिलेकाहीँ आइरहन्छु ।’

लामिछानेले आफू रास्वपाका नेता–कार्यकर्तासँगै गल्लीगल्ली, चोकचोक, घरघर र चिया चौतारोसम्म पुगेर जनतासँग संवाद गर्न चाहेको बताए । यसपटक देशभर उठेका ‘घन्टीवाहक’ उम्मेदवारहरूलाई जिताउनु ऐतिहासिक दायित्व भएको उनको भनाइ थियो ।

‘नेपालको संसद यसपटक घन्टीले मात्र भरियोस् भन्ने हाम्रो योजना छ,’ उनले भने, ‘इतिहासले दिएको यो अवसरलाई हामी सबैले मिलेर सदुपयोग गर्नुपर्छ ।’
सम्बोधनको अन्त्यमा लामिछानेले रास्वपालाई दिइँदै आएको साथ, माया, विश्वास र निरन्तरताका लागि मतदाताप्रति आभार व्यक्त गरेका थिए ।

सभापति लामिछाने आइतबारले चुनावी कार्यक्रमअन्तर्गत चितवन २ र नवलपरासी पूर्वका विभिन्न स्थानम पुग्ने कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ ।

सुझावित समाचार