आइसिसी पुरुष टी–२० विश्वकप : २०२६ नेपाली पाँच डेब्यु खेलाडी

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

भारत र श्रीलंकाको संयुक्त आयोजनामा शनिबारदेखि १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो दिन बलिया राष्ट्रहरूले जित निकालेका छन् । विश्वकपमा सहभागी २० राष्ट्रका केही खेलाडी यस्ता छन् । जसका यो पहिलो विश्वकप हुने छन् । नेपाल पनि तेस्रोपटक विश्वकप खेल्दै छ । नेपालका १५ मध्ये पाँच खेलाडीको पहिलोपटक विश्वकप अनुभव हुनेछ ।

समूह ‘सी’मा रहेको नेपालले आइतबार पहिलो खेलमा दुईपटकको च्याम्पियन इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आरिफ शेखसँगै लोकेश बम, बसिर अहमद, शेर मल्ल र नन्दन यादवले पहिलोपटक विश्वकप खेल्न लागेका हुन् । यी पाँचैजना खेलाडी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका कारण राष्ट्रिय टोलीमा समावेश भएका हुन् । लुम्बिनी लायन्सलाई नपत्याउँदो रूपमा एनपिएल च्याम्पियन बनाउन शेरले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

१. शेर मल्ल 
गत मंसिरमा भएको दोस्रो एनपिएलमा शेरले लुम्बिनीलाई आफ्नो घातक बलिङ प्रदर्शनको सहयोगमा च्याम्पियन बनाएका थिए । एनपिएलको ५० प्रतिशत खेल सकिँदा लुम्बिनीको प्ले–अफ स्थानसमेत कठिन बनेको थियो । तर, राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लगातार खेल जित्दै प्ले–अफमा स्थान बनायो । त्यसपछि तीन खेल जित्दै च्याम्पियन नै लुम्बिनी भयो । विशेषतः प्ले–अफदेखि स्पिनर शेरले आफ्नो जादुमयी स्पिन बलिङ गरी नाम चलेका विपक्षीका ब्याट्सम्यानलाई सहजै पेभेलियन पठाए । समग्रमा उनले एनपिएलमा सर्वाधिक १७ विकेट लिए । यसै प्रदर्शनले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो । मुम्बईको पिच उनलाई नयाँ हुनेछ । बल राम्रोसँग ग्रिपमा आउँदा उनले विपक्षी ब्याट्सम्यानलाई आउट गर्न सक्छन् । 

२. लोकेश बम 
लोकेशसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ । नेपाली राष्ट्रिय टोलीमा यसअघि नै स्थान बनाइसकेका लोकेशले विभिन्न सिरिज खेलेका छन् । ओपनर तथा विकेटकिपरसमेत रहेका उनले आवश्यकताअनुसार ब्याटिङ गर्न सक्छन् । उनी पनि एनपिएलकै प्रदर्शनका यसपटक टोलीमा समावेश भएका हुन् । एनपिएलमा लोकेश विराटनगर किंग्समा आबद्ध भएका थिए । विराटनगरले पहिलोपटक प्ले–अफ स्थान बनाउँदा लोकेशबाट ब्याट र विकेटपछाडि राम्रो साथ पायो । फेरि लोकेशले विराटनगरमा आबद्ध न्युजिल्यान्डका पूर्वखेलाडी मार्टिन गुप्तिल र दक्षिण अफ्रिकाका डु प्लेसिस र एसोसिएट राष्ट्रका चर्चित खेलाडीसँग नेट अभ्यास र प्रशिक्षण गरेको अनुभव छ । जुन उनले विश्वकपमा प्रयोग गर्न सक्छन् । 

३.नन्दन यादव
दोस्रो एनपिएलमा कर्णाली याक्सको प्रदर्शन त्यति सन्तोषजनक भएन । खेलाडी भित्र्याउन राम्रो लगानी गरेको कर्णालीले एनपिएलमा एक जित मात्र निकाल्यो । सुरुमै एनपिएलको उपाधि होडबाट बाहिरिएको कर्णालीका नन्दन भने चर्चामा रहे । बायाँहाते बलर नन्दनले एनपिएलमा आफ्नो पेस बलरबाट विपक्षीलाई आउट गरे । नन्दनको विशेषता भनेको १५–२० ओभरमा स्तरीय बलिङ गर्नु हो । नयाँभन्दा पुरानो बल राम्रोसँग प्रयोग गर्न सक्ने खुबी भएका नन्दनले मुम्बईको वानखेडेको पिचमा कस्तो प्रदर्शन गर्छन् हेर्न बाँकी छ । तर, उनले आफ्नो डेब्यु विश्वकपमा प्राप्त अवसर स्मरणीय बनाउने बताएका छन् । 

४.बसिर अहमद 
धेरैलाई दोस्रो एनपिएलको कर्णाली र विराटनगरबिचको खेल याद नै होला नहोस् पनि किन ? विराटनगरले लक्ष्य पछ्याएको इनिङ्समा एक समय कमजोर थियो । अझ भनौँ विराटनगरले लगभग खेल गुमाइसकेको थियो । त्यसमा अलराउन्डर भूमिका निर्वाह गरेका बसिरले करिअरकै विस्फोटक ब्याटिङ गरी कर्णालीमाथि सनसनी जित निकाले । यसै जितका कारण विराटनगर सहजै प्ले–अफमा पुग्यो । ब्याटिङमा मात्र नभएर बलिङमा समेत उनी राम्रा छन् । प्रशिक्षक स्टुवाट लले बसिरलाई मुम्बईको पिचअनुसार सुहाउँदो अलराउन्डर हुन सक्ने कारण नै टोलीमा समावेश गरेका हुन् । उनको पनि यो पहिलो विश्वकप यात्रा हो । 

५.आरिफ शेख 
घरेलु क्रिकेटमा आरिफ चलेकै ब्याट्सम्यान हुन् । कुशल भुर्तेल र आसिफ सेखले ओपनिङमा राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा आरिफले स्थान पाउँछन् । तर, यस्तो मौका कमै मात्र उनले प्राप्त गर्ने गरेका छन् । नेपाली टोलीबाट सन् २०१८ मै डेब्यु गरिसकेका उनले अहिलेसम्म ४५ टी–२० आई खेलेका छन् । दोस्रो एनपिएलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका कारण उनी टोलीमा फर्किएका हुन् । प्रशिक्षक स्टुवार्टले सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई छाडेर आरिफलाई समावेश गरेका हुन् । विश्वकपको अभ्यास खेलमा उनले युएईविरुद्ध ६१ रन जोड्दै आफूलाई फर्ममा आएको सन्देश दिएका छन् । आरिफ पनि पहिलो विश्वकपमा राम्रो गर्ने बताउँछन् । 

सुझावित समाचार