दुईपटकको टी–२० विश्व च्याम्पियनसँग भिड्दै नेपाल

मुम्बईस्थित वानखेडे रंगशालामा अपराह्न ३: १५ बजे नेपालको पहिलो सामना दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्डसँग

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण
  • शेर मल्ल, बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादवको डेब्यु विश्वकप
  • मुम्बईस्थित वानखेडे रंगशालाको पिच : पावर प्लेमा फास्ट बलर र इनिङ्सको मध्यतिर स्पिनरका लागि अनुकूल
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल भन्छन्–मनोबल उच्च छ, टेस्ट राष्ट्रविरुद्ध राम्रो नतिजा निकाल्छौँ

टी–२० विश्वकपमा नेपालको तेस्रो सहभागिता हुँदै छ । र तेस्रोपटकको यात्राको पहिलो सामना नै दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्डसँग गर्दै छ । अझ नेपाल र इंग्ल्यान्डले अहिलेसम्म कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गरेका छैनन् । समूह ‘सी’को यो खेल मुम्बईस्थित वानखेडे रंगशालामा आइतबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे हुनेछ ।

नेपाल र इंग्ल्यान्डको प्रतिस्पर्धालाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबिचको लडाइँका रूपमा हेरिएको छ । हाल टी–२० वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा छ । नेपाल १६औँ स्थानमा छ । इंग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो । नेपाल भने समूह चरणबाट माथि बढ्न सकेन । त्यसयता नेपाली टोलीले टी–२० आईमा एकनासको प्रदर्शन गर्दै आएको छ । त्यसैले पनि नेपाली टिमलाई प्रतिद्वन्द्वी इंग्ल्यान्ड सबैभन्दा ठुलो चुनौती हुनेछ । उसले सन् २००७ देखि नै लगातार विश्वकप खेल्दै आएको छ । 

इंग्ल्यान्डका खेलाडीले पछिल्लो समय तीनै फम्र्याटको क्रिकेटमा एकरूपको प्रदर्शन गर्दै आएका छन् । उनीहरूसँग विश्वका चर्चित आइपिएललगायत फ्रेन्चाइज लिग खेलेको अनुभव छ । प्रत्येक खेलाडी व्यक्तिगत रूपमै टोलीलाई जिताउन सक्ने क्षमता राख्छन् । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक नेपालको खेलमा केन्द्रित हुने बताउँछन् । ‘पहिलो खेल नेपालसँग छ । हामी वर्तमानमा रहनेछौँ । जो विपक्षी भए पनि उनीहरूलाई सम्मान गर्दै खेल्नेछौँ,’ उनले भने । 

स्पिनर विल ज्याक्सले नेपालले पछिल्लो समय निकै सफलता हासिल गरेको बताए । उनले नेपालको खेल अनुसन्धान गरेर खेल्ने प्रतिक्रिया दिए । ‘नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । चर्चा धेरै भएको देख्छु,’ उनले भने, ‘नेपालको खेलाडी हाम्रा लागि नयाँ हुनेछन्, उनीहरूबारे अनुसन्धान गरेर खेल्नेछौँ ।’यता, मूलतः घरेलु प्रतियोगितामै सीमित नेपाली टिमका खेलाडीसँग पनि अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव भने नभएको होइन । स्पिनर सन्दीप लामिछानेसँग भारतको आइपिएल र अस्ट्रेलियाको बिगबास लिगसहित विभिन्न फेन्चाइज लिगको अनुभव छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी, तेस्रोपटक विश्वकप खेल्दै गरेका अलराउन्डर सोमपाल कामीलगायतसँग एसोसिएट राष्ट्रकै फ्रेन्चाइज लिगको अनुभव छ । 

कप्तान रोहितकुमार पौडेलसँगै गुल्सन झा, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, ललितनारायण राजवंशी भने घरेलु लिगमै सीमित बन्दै आएका छन् । अझ नेपाली टोलीका पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् । यस्तो अवस्थामा प्रशिक्षक स्टुआर्ट ललाई इंग्ल्यान्डविरुद्धको खेल निकै चुनौतीपूर्ण हुनेछ । नेपालका कप्तान रोहितले टेस्ट राष्ट्रविरुद्ध उच्च मनोबलले खेल्ने र सुपर–८ मा पुग्न खेल्ने बताएका छन् । 

यद्यपि, नेपाली क्रिकेटले पछिल्लो समय निकालेको उपलब्धिका कारण इंग्ल्यान्डले केही सतर्क हुने संकेत दिएको छ । वानखेडे रंगशालामा पछिल्लो समय धेरै रन बन्ने अनुमान गरिएको छ । छोटो बाउन्ड्रीका कारण पनि यो खेलमा इंग्ल्यान्डका ब्याटर हाबी हुन सक्छन् । तर, पछिल्लो समय भारत, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध गरेको प्रदर्शनका कारण पनि नेपाली खेलाडीमा आत्मविश्वास बढेको छ ।

गत सेप्टेम्बरमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको शृंखलामा नेपाल ऐतिहासिक जित निकाल्न सफल भएको थियो । त्यसअघि दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित भए पनि नेपाली खेलाडीले त्यो खेलबाट निकै पाठ सिकेका छन् । त्यसपछि पाकिस्तान र भारतविरुद्ध पनि नेपाली खेलाडीले स्मरणीय प्रदर्शन गरे । त्यसैले ठुला राष्ट्रसँग खेल्न नेपाली खेलाडीले साहस देखाउँदै आएका छन् । कप्तान रोहितले भने, ‘हामीले पछिल्लो समय टेस्ट राष्ट्रविरुद्ध नियमित रूपमा खेल्दै आएका छौँ । त्यसैले विश्वकपमा टेस्ट राष्ट्रसँग राम्रो प्रतिस्पर्धा गर्ने योजना छ । दुवै टेस्ट राष्ट्रलाई हराउन खेल्छौँ ।’

२० घण्टाअघि नै इंग्ल्यान्डको  प्लेइङ सार्वजनिक
इंग्ल्यान्डले नेपालसँग वानखेडे रंगशालामा खेल्नु २० घण्टाअघि नै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । प्लेइङ ११ सामान्यतः विपक्षीलाई आफ्नो रणनीति थाहा नहोस् भन्नाले खेल सुरु हुनुभन्दा ११ घण्टाअघि मात्रै सार्वजनिक गरिन्छ । यता, नेपालले भने खेलअघि मात्रै आफ्नो पहिलो ११ सार्वजनिक गर्ने देखिएको छ । इंग्ल्यान्डले बलियो प्लेइङ ११ घोषणा गरेको छ । कप्तान ह्यारीसँगै फिल साल्ट, जस बटलर, ज्याकोप बेथेल, टम बान्टन, साम करन, विल ज्याक्स, लिआम डावसन, जोफ्रा आर्चर, आदिल रसिद र लुक विड रहेका छन् । 

कस्तो छ नेपाल खेल्ने वानखेडे रंगशाला ?
मुम्बईको समुद्री किनारमा रहेको वानखेडे रंगशाला विश्व क्रिकेटमा हाई स्कोरिङ रनका लागि परचित छ । आयोजक भारतले समूह ‘सी’मा रहेको नेपालका सबै खेल यसै मैदानमा राखेको छ । करिब ३५ हजार दर्शक क्षमताको रंगशालामा नेपाल र इंग्ल्यान्डबिच हुने आइतबारका सबै टिकट बिक्री भइसकेका छन् । 
मुख्यतः यहाँको पिच ब्याट्सम्यानमैत्री मानिन्छ ।

पिचमा राम्रोसँग ब्याट्सम्यानसमक्ष बल आउँछ । यहाँको आउट फिल्ड छोटो भएकाले पनि ब्याट्सम्यानलाई बाउन्ड्री लगाउन सहज हुन्छ । पावर प्लेमा फास्ट बलर र इनिङ्सको मध्यतिर स्पिनरका लागि यहाँको पिच अनुकूल मानिन्छ । वानखेडे रंगशालामा टी–२० आई वा सिरिजमा पहिलो ब्याटिङ गर्ने टोलीले सहजै १८० रनको योगफल कटाएको देखिन्छ । डे–नाइटको खेलमा आउटफिल्ड चिसो हुँदा यहाँ दोस्रो इनिङ्स ब्याटिङ गर्ने टोलीको औसत योगफल १६० रन रहेको छ । पहिलोभन्दा दोस्रो इनिङ्समा चिसो बढ्दै जाँदा बलरले बल राम्रोसँग ‘ग्रिप’मा लिन सक्दैनन् । बल स्विङ नहुँदा लक्ष्य पछ्याउने टोलीले त्यसको फाइदा लिन सक्छ । कप्तानहरू यहाँ टस जितेर पहिलो बलिङ गर्न रुचाउँछन् । 

नेपालले कसिलो बलिङ गर्नुपर्ने 
इंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गरे नेपालले सुरुवाती पावर प्लेमै कसिलो बलिङ गर्नुपर्ने हुन्छ । इनिङ्स अगाडि बढ्दै जाँदा पिचको प्रकृति फरक भइसक्नेछ । यसकारण नै नेपालका फास्ट बलरहरूले सुरुवाती क्रममा सही लाइन र लेन्थमा बलिङ गर्दा इंग्लिस ब्याट्सम्यान दबाबमा आउन सक्छन् । नेपालले ब्याटिङ सुरुमा गरेको अवस्थामा कम्तीमा ओपनरदेखि शीर्ष चारसम्म ब्याटरले धैर्यपूर्व ब्याटिङ गर्नुपर्छ ।

 नेपालका प्रतिस्पर्धी को कस्ता ?
समूह चरणमा नेपालले चार राष्ट्रसँग खेल्नेछ । यो चरणबाट अगाडि बढ्न नेपाल टप–टुमा पर्नुपर्छ । आइतबार हुने पहिलो प्रतिस्पर्धा नै नेपालका लागि इतिहास रच्ने अवसर बन्नेछ । यो खेल इंग्ल्यान्डसँग हुँदै छ, जो दुईपटकको टी–२० विश्व च्याम्पियन हो । विश्वकपमा मात्रै होइन, क्रिकेटका कुनै पनि प्रतिस्पर्धामा नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुँदै छन् । 

नेपालको दोस्रो खेल हुनेछ इटालीसँग । प्रतिस्पर्धा हुनेछ, २९ माघमा । इटालीले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । नेपाल तेस्रोपटक खेल्दै छ । नेपाल र इटाली पनि इतिहासमै पहिलोपटक क्रिकेट प्रतिस्पर्धा गर्दै छन् । इटालीले एसियालीदेखि अमेरिकी मूलका खेलाडी टिममा राखेको छ । विश्वकप छनोट पार गर्दा इटालीका स्वदेशीभन्दा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । इटालीको बलियो पक्ष स्पिन बलिङ हो ।

त्यस्तै, ३ फागुनमा नेपालले तेस्रो खेल खेल्नेछ वेस्ट इन्डिजसँग । दुईपटक टी–२० विश्वकप उपाधि उठाएको यो टिम भने नयाँ प्रतिद्वन्द्वी होइन । गत असोजमा मात्रै युएईमा वेस्ट इन्डिजसँग तीन टी–२० आई सिरिज खेलेको नेपालले २–१ को जित निकालेको थियो । तर, त्यतिवेला उसले नेपालविरुद्ध दोस्रो रोजाइका खेलाडी पठाएको थियो । विश्वकपमा उसको टोलीमा सिनियर खेलाडी छन् । अलराउन्डर खेलाडीले भरिएको वेस्ट इन्डिजको बलियो पक्ष ‘पावर हिटिङ ब्याटिङ’ शैली हो । ‘स्पिन बल’ उसको कमजोरी हो । 

समूह चरणको अन्तिम प्रतिस्पर्धी हुनेछ स्कटल्यान्ड । ५ फागुनमा भिड्ने स्कटल्यान्ड पनि नेपालका लागि नयाँ प्रतिद्वन्द्वी होइन । दुई देशले ११ पटक टी–२० आई खेल खेलिसकेका छन् । नेपालले ६ र स्कटल्यान्डले पाँच खेलमा जित निकालेका छन् । दुवै देशका खेलाडी एक–अर्काको  कमजोरीबारे जानकार छन् । 

सुझावित समाचार