फुटबलर बन्न हिँडेका, अब्बल अभिनेता कहलिएर गए

भाषा र भूगोलको सीमाभन्दा माथि उठेर अभिनयको इमानदार यात्रामा हिँडेकै कारण सुनील थापा ‘राते काइँला’ नेपाल र बलिउड दुवैका लागि साझा कलाकार बने । शनिबार बिहान उनको प्राण गयो, तर उनले भरेर गएको प्राणले बाँचिरहनेछ फिल्म क्षेत्र ।

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

अभिनय उनको पहिलो सपना थिएन । फुटबलर बन्न चाहन्थे, मोडलिङ र फोटोग्राफी सहायक थियो । तर, जीवन यात्रामा उनी अभिनेता बनेर उदाए । उनी, अर्थात् सुनील थापा उर्फ ‘राते काइँला’ । जो अब आफ्नो अभिनयसहितका चर्चित ‘डाइलग’हरू जीवन्त छाडेर भौतिक रूपमा बिदा भएका छन् ।

फुटबल खेल्न मद्रास पुगेका सुनीललाई दक्षिण भारतीय सिनेमाका चर्चित निर्देशक कैलासन बालाचन्द्रसँगको भेट नै करिअर बदल्ने मोड बन्यो । उनी एक साताका लागि फुटबल खेल्न मुम्बईबाट मद्रास पुगेका थिए । बालाचन्द्रसँगको भेटमा उनले अभिनय गर्ने चाहना सुनाए । मुम्बई फर्किएपछि सन् १९८१ मा फिल्म ‘एक दुजे के लिए’बाट बलिउडमा पाइला चाले । कहीँकतै अभिनयको प्रशिक्षण नलिएका उनको उक्त फिल्म चलेन, तर फिल्म नचले पनि उनलाई अभिनयबाट पछाडि फर्किनुपरेन । 

‘मेरो लुक्स देखेर फिल्ममा अफर भयो,’ सुनील भन्थे, ‘पहिलो फिल्म तीन दिन पनि चलेन । तर, मैले हिम्मत हारिनँ । मिहिनेत र धैर्यमा विश्वास गरेँ । त्यसैले अभिनयको ढोका कहिल्यै बन्द भएन ।’ सुनील अभिनयलाई भाग्य होइन, तयारी र धैर्यको परिणाम मान्थे । ‘अभिनयमा असम्भव भन्ने केही हुँदैन,’ उनी भन्थे, ‘क्यारेक्टरमा फिट हुनुपर्छ । प्रतिस्पर्धा आफैँसँग हो, अरूसँग होइन । स्टार भएँ भनेर दिमागमा राख्नुहुँदैन । धैर्य राख्यो भने एउटा फिल्मपछि अर्काे अवसर आउँछ ।’बलिउडमा स्थापित भइसकेपछि पनि सुनील थापाको मन नेपाली मूलको चलचित्रमै थियो । फिल्म ‘मसाल’बाट उनले नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेका थिए । यो फिल्मले दर्शकको प्रशंसा पायो, तर नेपालमा भने अपेक्षित प्रदर्शन हुन पाएन । 

मुम्बईमा बसेर काम गरिरहेका कलाकार तथा निर्देशक, लेखक तुलसी घिमिरे नेपाली फिल्म १९८९ मा ‘चिनो’ बनाउने तयारीमा थिए । चिनोका लागि कलाकार छनोट भयो । ‘चिनो’ बनाउनुअघि नै सुनील र तुलसीबिच चिनजान थियो । एक दिन कुराकानीमै घिमिरेले सुनीललाई सोधे, ‘सुनील एउटा नेपाली फिल्म छ, गर्ने हो ?’ सुनीलले रोल सोधेनन्, कथा सोधेनन्, पैसा पनि सोधेनन् । ‘सिओर, डेफिनेट्ली आता हुँ,’ त्यतिवेला उनले दिएको जवाफ सुनाउँछन् निर्देशक घिमिरे । सुनीललाई राम्रोसँग नेपाली बोल्न आउँदैनथ्यो । तर, ‘चिनो’का लागि राम्रोसँग नेपाली बोल्न नजान्ने पात्र नै चाहिएको घिमिरे स्मरण गर्छन् । 

नेपाली फिल्म ‘चिनो’मा अभिनय गर्नुअघि नै सुनील हिन्दी फिल्म उद्योगमा स्थापित भइसकेका थिए । बलिउडमा काम गरिसकेका, नाम बनाइसकेका कलाकारलाई नेपाली फिल्ममा ल्याउने निर्देशक घिमिरेसँग आँट थिएन । तर, सुनील आफैँ सजिलै आए । यो नेपाली चलचित्रप्रतिको उनको अगाध प्रेमले थियो । 
‘त्यो समय सुनील हिन्दी फिल्ममा व्यस्त थिए, करिअरको पिक चरणमा थिए । तर, भारतबाट जुरुक्कै उठेर नेपाल आए ।

नेपाली फिल्मलाई समय मात्रै दिएनन्, पूरै मन दिएर काम गरे,’ निर्देशक घिमिरे थप्छन्, ‘चिनोमा आफ्नो रोलका लागि उनले असाध्यै मिहिनेत गरे । नेपालमा ‘राते काइँला’ क्यारेक्टरलाई सबैले मन पराए ।’ भारतमा हुर्के–बढेका र अभिनयमा जमिसकेका सुनीलले नेपाली फिल्म खेल्न थालेसँगै थुप्रै नेपाली साथीभाइ बनाए । नेपाली फिल्म निर्देशकहरूले एकपछि अर्को चलचित्रमा अफर गर्न थाले । नेपाली फिल्ममा काम गर्दा पनि हिन्दी फिल्मका लागि अफर आउँथ्यो । भारतमा हिन्दी फिल्मको काम सकेर नेपाल फर्किहाल्थे । कर्मसँगै दुःख–सुखको आत्मीयताले सुनीललाई नेपालले बाँध्यो । 

‘सुनील काम माग्न नेपाल आएका थिएनन् । हिन्दी फिल्ममा नचलेर पनि आएका होइनन्,’ निर्देशक घिमिरे भन्छन्, ‘बलिउडमा स्थापित भइसकेपछि पनि आफ्नो क्रिम टाइम छाडेर नेपाल आएका थिए । नेपाली फिल्मका लागि आएका थिए ।’ सुनील थापा अनुशासन र प्रतिबद्धतामा उदाहरणीय मानिन्थे । उनीप्रति सम्मान व्यक्त गर्दै अभिनेता राजेश हमालले फेसबुकमा लेखेका छन्, ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो सिनेमा यात्रा म तपाईंप्रति समर्पित गर्दछु ।’ अभिनेता भुवन केसीले पनि नेपाली चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको बताएका छन् । ‘सुनील नेपाली चलचित्रमा मात्र होइन, भारतीय सिनेमामा पनि स्थापित कलाकार थिए । तर, मेरा लागि सुनील कलाकार मात्र थिएनन्, असल मित्र पनि थिए । उनको पहिलो नेपाली चलचित्र चिनोमा सँगै काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरंग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरू ‘सपना’देखि ‘क्याप्टन’सम्ममा पनि हामीले सहकार्य गरेका थियौँ । सुनील र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ । चाँडै छाडेर गयौ दोस्त । तिमी जहाँ भए पनि नेपाली चलचित्र क्षेत्र र हाम्रो मनमा रहिरहनेछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘एक दुजे के लिए’ पछि हिन्दी फिल्म ‘आज कि आवाज’, ‘हानव हत्या’, ‘मनु द ग्रेट’, ‘अलबेला’, ‘नसिबवाला’, ‘बन्धु’, ‘मेरी कोम’लगायत फिल्ममा अभिनय गरे सुनीलले । सन् २०१४ मा प्रदर्शनमा आएको ‘मेरी कोम’ले उनलाई बलिउडमा चर्चा दिलाएको थियो । फिल्ममा उनले बक्सर मेरी कोमका प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । ‘मेरी कोम’को भूमिकामा चर्चित अभिनेत्री प्रियंका चोपडा थिइन् । प्रियंका चोपडासँगको अभिनयले उनलाई नयाँ पुस्ताको बलिउड दर्शकमाझ पुनः चर्चित बनाएको थियो । सुनीलले ‘मसाल’, चिनो, देउकी, ठुल्दाइ, आगो, अन्याय, नारी, सपना, पापी मान्छे, देवर बाबु, कर्मयोद्धा, प्रेमगीत–३ जस्ता १३८ नेपाली फिल्ममा अभिनय गरेका छन् । भाषा र भूगोलको सीमाभन्दा माथि उठेर अभिनयको इमानदार यात्रामा हिँडेकै कारण सुनील नेपाल र बलिउड दुवैका लागि साझा कलाकार बने । शनिबार बिहान उनको प्राण गयो, तर उनले भरेर गएको प्राणले बाँचिरहनेछ फिल्म क्षेत्र ।

 निर्देशक तुलसी घिमिरे भन्छन्– त्यो समय सुनील थापा हिन्दी फिल्ममा व्यस्त थिए, करिअरको पिक चरणमा थिए । तर, भारतबाट जुरुक्कै उठेर नेपाल आए । नेपाली फिल्मलाई समय मात्रै दिएनन्, पूरै मन दिएर काम गरे । मैले निर्देशन गरेको चिनोको ‘राते काइँला’ क्यारेक्टरलाई नेपालमा सबैले मन पराए । सुनील काम माग्न नेपाल आएका थिएनन् । हिन्दी फिल्ममा नचलेर पनि आएका होइनन् । बलिउडमा स्थापित भइसकेपछि पनि आफ्नो क्रिम टाइम छाडेर नेपाल आएका थिए । नेपाली फिल्मका लागि आएका थिए ।

सुनीलसँगै काम गरेका दुई अभिनेता राजेश र भुवनले यसरी सम्झिए
सुनील थापा अनुशासन र प्रतिबद्धतामा उदाहरणीय मानिन्थे । उनीप्रति सम्मान व्यक्त गर्दै अभिनेता राजेश हमालले फेसबुकमा लेखेका छन्, ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो सिनेमा यात्रा म तपाईंप्रति समर्पित गर्दछु ।’ अभिनेता भुवन केसीले पनि नेपाली चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको बताएका छन् । ‘मेरा लागि सुनील कलाकार मात्र थिएनन्, असल मित्र पनि थिए । उनको पहिलो नेपाली चलचित्र चिनोमा सँगै काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरंग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरू ‘सपना’देखि ‘क्याप्टन’सम्ममा पनि हामीले सहकार्य गरेका थियौँ । सुनील र म भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चाँडै छाडेर गयौ दोस्त । तिमी जहाँ भए पनि नेपाली चलचित्र क्षेत्र र हाम्रो मनमा रहिरहनेछौ ।’ 

सुझावित समाचार