विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका चारजना प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष सूचनाको आधारमा जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको छ।जिल्ला प्रहरी कार्यालयकपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार सवारी ज्यान मुद्दामा दोषी ठहर भएका एक जना प्रतिवादीलाई १ वर्ष ३ महिना कैद र ६५ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ। यस्तै, गर्भ संरक्षण विरुद्धको कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भएका अन्य तीन जना प्रतिवादीलाई फरक–फरक अवधिको कैद सजाय सुनाइएको बताएको छ।
‘विशेष सूचनाका आधारमा फरार प्रतिवादीहरूको खोजतलास गरी पक्राउ गरिएको हो,’ सूचना अधिकारी सिंहले भने,‘उनीहरूको ठेगाना कपिलवस्तुको मायादेवी गाउँपालिका–१ र ५ रहेको छ। कानुनी प्रक्रिया अनुसार अदालतमा दाखिला गरिसकिएको बताएको छ।’
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताएका छन्।
‘अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइएको छ,’ प्रहरी उपरीक्षक आचार्यले भने, ‘कानुनको कार्यान्वयन र न्याय सुनिश्चित गर्न प्रहरी निरन्तर सक्रिय रहने आचार्यले भने।’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आगामी दिनहरूमा पनि फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ अभियानलाई थप तीव्र बनाइने आचार्यले बताए ।