नेपाली कांग्रेसले अगामी २१ फागुन हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको लागि पहिलोपटक चुनावी आमसभा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सुरु गर्ने भएको छ।
कांग्रेसले ६ फागुनमा तिरहुतिया गाछिमा पहिलोपटक चुनावी आमसभा गर्न लागेको हो। मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले सो चुनावी आमसभाको मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पजियार र प्रचार–प्रसारको जिम्मेवारी सञ्चार विभाग मधेश प्रदेश प्रमुख नितेशकुमार गुप्तालाई दिएको छ।
त्यसैगरी, मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ।
उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।