भारत र श्रीलंकाले शनिबारदेखि संयुक्त रूपमा १०औँ संस्करणको आइसिसी टी–२० पुरुष विश्वकप आयोजना गर्दै छन् । नेपालले समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप खेल्दै छ । नेपाली टोलीमा सोमपाल कामी मात्र तेस्रोपटक विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्सन झाले दोस्रोपटक सहभागिता जनाउँदै छन् । राष्ट्रिय टोलीमा परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादवको पहिलोपटक विश्वकप यात्रा हुनेछ । नेपालले समूह ‘सी’मा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ ।
१. रोहित पौडेल (कप्तान) अलराउन्डर : ७६ टी–२० आई, रन १६३७, ८ अर्धशतक
समूह ‘बी’मा सहभागी टोलीका युवा कप्तान रोहित नै हुन् । नेपाललाई लगातार दोस्रोपटक आफ्नो कप्तानीमा विश्वकपमा पुर्याएका रोहितले कम्तीमा सुपर एटको लक्ष्य रहेको योजना सुनाइसकेका छन् । २३ वर्षीय रोहित अलराउन्डर भूमिका निर्वाह गर्छन् । तेस्रो वा चौथो क्रममा ब्याटिङ गर्ने र आवश्यकता रहँदा स्पिन बलिङ गर्छन् । पार्टटाइम स्पिनर भए पनि कहिलेकाहीँ महत्वपूर्ण ‘ब्रेक थ्रु’ उनी दिलाउँछन् । सन् २०१९ मा उनले युएईविरुद्ध डेब्यु गरेका थिए । राष्ट्रिय टोलीमा निरन्तर रूपमा खेल्ने खेलाडीमा उनी पर्छन् । टी–२० आईमा १७ इनिङ्स बलिङ गरेका उनले १३ विकेट हात पारेका छन् । सन् २०२४ को विश्वकपमा उनले तीन खेलमा २६ रन बनाउनुका साथै दुई विकेट हात पारेका थिए । ‘योपटक हामी केही गरी फर्कछौँ,’ मुम्बईमा रहेका रोहितले भने, ‘युवा खेलाडीका लागि राम्रो मौका हो ।’
२. दीपेन्द्रसिंह ऐरी (उपकप्तान) अलराउन्डर : ९० टी–२० आई, १ शतक, १० अर्धशतक, रन १९५६
नेपाली टोलीकै प्रमुख अलराउन्डरमा उपकप्तान दीपेन्द्र पर्छन् । युएईविरुद्धको अभ्यास खेलमा उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरी आफू विश्वकपका लागि तयार भएको प्रस्तुत गरेका छन् । पाँचौँ वा छैटौँ स्थानमा आएर आक्रामक रूपमा ब्याटिङ गर्ने उनको शैली हो । उनी पनि लगातार दोस्रोपटक उपकप्तानीका रूपमा विश्वकप खेल्न लाग्दै छन् । सन् २०१८ मा उनले नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । विश्व टी–२० आई अलराउन्डरको आइसिसी वरीयतामा शीर्ष दुईसम्म पुग्ने उनी एक मात्र नेपाली क्रिकेटर हुन् । अहिले दीपेन्द्र अलराउन्डर वरीयताको शीर्ष चारभन्दा बाहिर पुगेका छन् । नेपालबाट टी–२० आईमा दुई हजार रन पूरा गर्न उनी ४४ रनले पछाडि छन् । उत्कृष्ट फर्ममा रहँदा दीपेन्द्रले ब्याटिङका क्रममा विपक्षी बलरको हैरानी बनाउँछन् । फेरि टी–२० आईमा केवल नौ बलमै अर्धशतकीय इनिङ्स खेलेको विश्व रेकर्ड उनकै नाममा छ । गत संस्करणमा उनले तीन खेलमा ३२ रन र ६ विकेट लिएका थिए ।
३. सोमपाल कामी (अलराउन्डर) : ८६ टी–२० आई, विकेट ८१, रन ३६५
नेपाली टोलीका सबैभन्दा सिनियर र अनुभवी खेलाडी सोमपाल हुन् । नेपालबाट तीनपटक विश्वकप खेल्ने उनी एक मात्र क्रिकेटर हुन् । सन् २०१४ मा नेपालले विश्वकपमा डेब्यु र अहिलेको विश्वकप यात्रामा सोमपाल प्रमुख खेलाडीका रूपमा रहेका छन् । पछिल्लो आठौँदेखि दसौँसम्म ब्याटिङ गरे पनि उनले आकर्षक स्ट्रोक लगाउँदै टोलीको रनरेट उकास्ने काम गर्दै आइरहेका छन् । सन् २०१४ मै उनले टी–२० आईमा डेब्यु गरेका थिए । अहिलेसम्म उनले ८६ टी–२० आईमा ८६ विकेट हात पारेका छन् । तल्लोक्रममा ब्याटिङ गर्दै सोमपालले तीन सय ६५ रन बनाएका छन् । समग्रमा उनले विश्वकपका ६ खेलमा सात विकेट हात पारेका छन् । सन् २०१४ मा चार तथा २०२४ को संस्करणमा उनले तीन खेलमा तीन विकेट लिएका थिए । सोमपालले तेस्रोपटक विश्वकप खेल्न पाउँदा आफूलाई भाग्यमानी भएको बताएका छन् । ‘सुरुमा हामीले नेपालमा पनि क्रिकेट खेल्छन् र यसपटक हामी यहाँ केही गर्न आइरहेका छौँ भन्ने सन्देश दिएका छौँ,’ उनले क्यानसँग भनेका थिए, ‘अब यसलाई सधैँ निरन्तरता दिनुपर्छ ।’
४. करण केसी (अलराउन्डर) : ८५ टी–२० आई, विकेट १०६
सोमपालपछिका सियिनर खेलाडीमा करण पर्छन् । सन् २०१५ मा करणले टी–२० आईमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । उनको विशेषता नै ब्याटिङ र बलिङमा राम्रो गर्न सक्छन् । दोस्रो नेपाल प्रिमियर लिगमा उनले यस्तै उदाहरण दिएका थिए । उनी पनि दोस्रोपटक विश्वकप खेल्ने नेपाली क्रिकेटर हुन् । नेपालकै भेट्रान खेलाडीमा पर्ने करणले आफ्नो करिअरमा एक खेलमा पाँच विकेट लिएका छन् । उनले तीनपटक एकै खेलमा चार विकेट हात पारेका छन् । नेपालको क्रिकेट इतिहासमा टी– २० आईमा सय विकेट पूरा गर्नेमा उनी पनि हुन् । अलराउन्डर भूमिकामा प्रस्तुत हुने करणले ४८ इनिङ्समा चार सय ६८ रन जोडेका छन् । गत संस्करणमा उनले दुई खेलमा मात्र मौका पाए । डेब्यु विश्वकपमा विकेटविहीन बनेका करण यसपटक भारतको वानखेडे रंगशालामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राख्छन् ।
५. कुशल भुर्तेल (ओपनर) : ७० टी–२० आई, १ शतक, १३ अर्धशतक, रन १८०७
नेपाली टोलीमा लगातार ओपनिङ जिम्मेवारी सम्हाल्दै आइरहेका भुर्तेलको यो दोस्रो विश्वकप यात्रा हो । सन् २०२१ मा उनले टी–२० आईमा डेब्यु गरेका थिए । त्यसयता उनले टोलीमा फर्केर हेर्नुपरेको छैन । ब्याटिङका क्रममा उतारचढाव सामना गरे पनि अन्तर्राष्ट्रिय लेभलमा उनको ओपनिङ लोभलाग्दो छ । ओपनिङ गर्दा विपक्षीका बलर उनलाई कुनै मतलब हुँदैन । पहिलो बलदेखि नै बाउन्ड्री लगाउन उनी तयार हुन्छन् । क्रिजमा धर्यतापूर्वक ब्याटिङ गर्न नसक्नु उनको मुख्य कमजोरी हो । भुर्तेल पावर प्लेमा टिक्दा नेपालको रनरेट सधैँ माथि रहने गर्छ । ब्याटिङमा असफल हुँदा बलिङमा भने उनी चम्कने गर्छन् । लेग स्पिनर गर्ने भुर्तेलले अहिलेसम्म २६ इनिङ्समा ३० विकेट हात पारेका छन् । सन् २०२४ को डेब्यु विश्वकपमा उनले तीन खेलमा २४ रन तथा चार विकेट लिएका थिए । पूर्वकप्तान पारस खड्काको समयमा भुर्तेललाई नेपालका ‘राइजिङ स्टार’ नाम दिइएको थियो ।
६. आसिफ शेख (विकेटकिपर–ब्याट्सम्यान) : ६८ टी–२० आई, १० अर्धशतक, रन, १६३९
आसिफ लगातार पाँच वर्षदेखि विकेटकिपर ब्याट्सम्यानको भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनको पनि यो दोस्रो विश्वकप यात्रा हो । भुर्तेलसँगै ओपनिङ गर्ने आसिफले आवश्यकताअनुसार स्ट्रोक लगाउँछन् । भुर्तेल आक्रामक बनिरहँदा उनी अगाडि बढ्ने गर्छन् । विपक्षी ब्याट्सम्यान सुस्त रहँदा उनी अगाडि बढेर आक्रामक रूपमा प्रस्तुत हुने गर्छन् । विकेटपछाडि पनि उनको प्रदर्शन जबरजस्त देखिन्छ । क्यानडासँगको अभ्यास खेलमा आसिफ फर्ममा देखिए । क्यानडामाथि सहज जित निकाल्दा उनले ५८ रन जोडेका थिए । आसिफ फर्ममा देखिनु नेपालको नजरमा राम्रो पक्ष हो । लगातार दोस्रोपटक विश्वकप खेल्न लागेका आसिफले डेब्यु विश्वकपमा तीन खेलमा ६३ रन जोडेका थिए । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा उनी नेपाली खेलाडीमध्ये व्यक्तिगत धेरै रन बनाउने ब्याट्सम्यान बनेका थिए ।
७. सन्दीप लामिछाने (स्पिनर) : ६८ टी–२० आई, विकेट १२९, उत्कृष्ट ५/९
सन्दीप विश्व क्रिकेटमा नेपालका स्टार क्रिकेटरमा पर्छन् । निकै छोटो समयमै सन्दीपले विश्वकै चर्चित लिगमा आबद्ध भएर आफ्नो जादुमयी लेग स्पिनरको प्रदर्शन गरेका छन् । उनी पनि नेपालबाट दोस्रोपटक विश्वकप खेल्न लागेका क्रिकेटर हुन् । २५ वर्षीय सन्दीप नेपालबाट टी–२० आई फम्र्याटमा एक सय विकेट लिने पहिलो बलर हुन् । उनले ६७ टी– २० आईमा एक सय २९ विकेट लिएका छन् । उनले आफ्नो करिअरमा दुईपटक पाँच विकेट लिएका छन् । मुम्बईको वानखेडे रंगशालाको पिचमा सन्दीपको स्पिन बलिङ हेर्न लायक हुन सक्छ । मोन्टी देसाईको प्रशिक्षणमा नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाउँदा उनले दुई खेलमा दुई विकेट मात्र लिएका थिए । नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै अन्तर्राष्ट्रिय टी– २० सिरिजको अनुभव बटुलेका सन्दीपले यसपटक विश्वकप यात्रामा राम्रो प्रदर्शन हुने बताएका छन् । टी–२० आईको २४ इनिङ्समा ब्याटिङ गरेका उनले ७९ रन बटुलेका छन् ।
८. गुल्सन झा (अलराउन्डर) : ५१ टी–२० आई, विकेट २९, रन ६२९
युवा अलराउन्डर खेलाडीले भरिएको नेपाली टोलीमा गुल्सन पछिल्लो समयमा ब्याटिङ र बलिङमा राम्रो गरिरहेका छन् । ब्याटिङको अवस्थाअनुसार गुल्सन कहिलेकाहीँ पिन्च हिटरका रूपमा क्रिजमा आउने गर्छन् । करिअरमा उनले दक्षिण अफ्रिकाविरुद्धको खेल कहिल्यै भुल्न सक्दैनन् । गत संस्करणको विश्वकपमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध जितनजिक पुग्दा उनी रनआउट भएका थिए । जसका कारण नेपालले दक्षिण अफ्रिकामाथि सनसनी जित निकाल्न वञ्चित भएको थियो । दोस्रोपटकको विश्वकप सहभागितामा उनले आफूलाई थप अनुभवी बनाइसकेका छन् । दायाँ हात ब्याटिङ गर्ने गुल्सन दायाँहाते मध्यगतिका बलर हुन् । सन् २०२२ मा टी– २० आईमा डेब्यु गरेका उनको बलिङ इकोनोमी र ब्याटिङ स्ट्राइकरेट असाध्य राम्रो छ । गत विश्वकपमा उनले तीन खेलमा २० रन तथा एक खेलमा बलिङ गरेका थिए ।
९. ललित राजवंशी (स्पिन बलर) : ३७ टी–२० आई, विकेट ३६
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगलाई आधार मानेर टोली छनोट गर्दा राजवंशी पनि समावेश भएका थिए । यद्यपि, एनपिएलमा उनको प्रदर्शन त्यति सन्तोषजनक थिएन । तर, प्रशिक्षक स्टुवार्ट लले मुम्बईको पिचमा अनुभवी स्पिनर आवश्यकता महसुस गर्दै राजवंशीलाई समावेश गरे । बायाँहाते स्पिनर राजवंशीको पनि यो दोस्रो विश्वकप यात्रा हो । ०१८ मै टी– २० आईमा डेब्यु गरिसकेका उनले अहिलेसम्म ३७ खेलमा ३६ विकेट लिएका छन् । नेपाली टोलीमध्ये टी–२० आईमा कम इकोनोमी बलिङ गर्ने बलरमा उनी पर्छन् । उनको इकोनोमी ६.३७ रहेको छ । जुन निकै राम्रो देखिन्छ । सन् २०२४ को विश्वकपमा उनले खेल्न मौका पाएनन् । क्यानडासँगको अभ्यास खेलमा मौका पाए पनि उनी विकेटविहीन भएका थिए । क्यानडाविरुद्ध उनले २२ रन दिएका थिए ।
१०. आरिफ शेख (ओपनर) : ४५ टी–२० आई, रन, ५५३, विकेट ४
सन् २०१८ मै टी–२० आई डेब्यु गरेका आरिफको मुख्य जिम्मेवारी ओपनिङ हो । अहिलेसम्म ४५ टी–२० आईमा उनले पाँच ५३ रन जोडेका छन् । कहिलेकाहीँ पार्टटाइम बलरका रूपमा आफूलाई प्रस्तुत गर्दा उनले समग्रमा चार विकेट लिएका छन् । नेपाली टोलीमा पहिलोपटक विश्वकप खेल्न लागेका पाँच खेलाडीमध्ये उनी पनि एक हुनु । दोस्रो नेपाल प्रिमियर लिगमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका कारण आरिफ टोलीमा समावेश भएका थिए । स्टुवार्ट लले टोली घोषणा गर्दा सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई छाडेर आरिफलाई समावेश गरेका थिए । भण्डारी दोस्रो एनपिएलकै सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान थिए । आरिफको टी–२० आईमा सर्वाधिक ३९ रन बनाएका छन् । विश्वकपको अभ्यास खेलमा उनले युएईविरुद्ध ६१ रन जोड्दै आफूलाई फर्ममा आएको सन्देश दिएका छन् ।
११. सन्दीप जोरा (ब्याट्सम्यान) : ३८ टी–२० आई, ४ अर्धशतक, रन ४८९
नेपालको मध्यक्रम ब्याटिङ लाइन बलियो बनाउन जोराको भूमिका महत्वपूर्ण देखिन्छ । दायाँहाते आक्रामक ब्याट्सम्यान जोराको यो दोस्रो विश्वकप यात्रा हो । उनी पनि दोस्रो नेपाल प्रिमियर लिगकै प्रदर्शनका आधारमा टोलीमा समावेश भएका हुन् । २४ वर्षिय खेलाडीले सन् २०१९ मै टी–२० आईमा डेब्यु गरेका थिए । अहिलेसम्म नेपालबाट ३८ खेल खेलेका उनले चार सय ८९ रन बनाएका छन् । उनले चारपटक टी–२० आईमा अर्धशतकीय इनिङ्स खेलेका छन् । क्यानडासँगको अभ्यास खेलमा उनले आक्रामक रूपमा ४४ रन जोडेका थिए । जोरा फर्ममा देखिनु नेपालका लागि सुखद पक्ष हो । गत संस्करणको विश्वकपमा उनले एक खेलमा एक रन मात्र जोडेका थिए ।
१२. शेर मल्ल (स्पिनर बलर) : पहिलोपटक राष्ट्रिय टोलीमा
लुम्बिनी लायन्सले दोस्रो नेपाल प्रिमियर लिग उपाधि जित्दा शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । मुख्य गरी उनले इलिमिनेटरदेखि फाइनलसम्म घातक बलिङ गर्दै लुम्बिनीलाई च्याम्पियन बनाए । एनपिएलमा उनले १० खेलमा १७ विकेट हात पारेका थिए । स्लो पिचमा उनको एक्सन फरक हुन्छन् । विपक्षी ब्याट्सम्यान शेरले फ्याँकेको बल ठम्याउन सक्दैनन् । जसका कारण ब्याट्सम्यान सहजै बिट हुन्छन् । अहिले मुम्बईको वानखेडे मैदानमा शेरको बलिङ प्रभावशाली देखिन सक्छ । नेपाली टोलीमा पहिलोपटक स्थान बनाएका उनी नयाँ अनुहारका क्रिकेटर हुन् ।
१३. बसिर अहमद (मिडल अर्डर ब्याट्सम्यान) : ७ टी–२० आई, रन १२३, विकेट २
सन् २०२२ मा बसिरले नैरुवीमा केन्याविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । बसिरको पनि यो पहिलो विश्वकप यात्रा हो । सुरुवातका क्रममा मध्यक्रममा केन्द्रित भएका उनी पछिल्लो समय आफूलाई अलराउन्डरका रूपमा प्रस्तुत गरिरहेका छन् । दायाँहाते ब्याटिङ गर्ने बसिर स्पिन बलिङ गर्छन् । चार वर्षपछि राष्ट्रिय टोलीमा स्थान बनाएका उनको ब्याटिङ औसत ६१.५० हो । राष्ट्रिय टोलीमा पुनरागमन गर्नुपछाडि एनपिएलकै उत्कृष्ट प्रदर्शन थियो । उनले दोस्रो एनपिएलमा नौ खेलमा १९१ रन जोडेका थिए । क्रिजमा ठुलो स्ट्रोक लगाउन सक्ने बसिरको अर्को विशेषता नै धैर्यपूर्वक ब्याटिङ गर्छन् । टी–२० आईमा उनको ब्याटिङ स्ट्राइक १३५ रहेको छ । चार टी–२० आई इनिङ्समा उनले दुई विकेट हात पारेका छन् । बसिरले विश्वकपमा मौका पाउँदा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
१४. लोकेश बम (ब्याट्सम्यान/विकेटकिपर) : १८ टी–२० आई, रन १६०
लोकेश पहिलोपटक टी–२० विश्वकप खेल्दै छन् । २५ वर्षीय लोकेश दायाँहाते ब्याट्सम्यान हुन् । लामो समयको प्रतीक्षापछि उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपालले यसपटक उनलाई दोस्रो रोजाइका विकेटकिपरका रूपमा समावेश गरेको हो । उनले सन् २०२२ मा ओमानमा भएको चारदेशीय शृंखलामा युएईविरुद्ध टी–२० आई डेब्यु गरेका थिए । अहिलेसम्म १८ टी–२० आईमा लोकेशले एक सय ६० रन जोडेका छन् । क्यानडासँगको अभ्यास खेलमा उनी पाँच रनमा आउट भएका थिए ।
१५. नन्दन यादव (मध्यमगतिका बलर) : १२ टी–२० आई, १५ विकेट, रन ६८
यादवको पनि यो पहिलो विश्वकप यात्रा हो । गत वर्ष उनले स्कटल्यान्डमा भएको टी–२० आई शृंखलामार्फत नेपाली टोलीका लागि डेब्यु गरेका थिए । एक वर्षको अवधिमा उनले नेपालबाट १२ खेलमा अवसर पाउँदा १५ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । उनको ७.२९ को इकोनोमी रहेको छ । तल्लोक्रममा ब्याटिङ गर्ने यादवले ६ इनिङ्समा ६८ रन जोडेका छन् ।
