जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हतियार बुझाउन आह्वान गरेको छ । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गरेर इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेको हो । प्रशासनले ५ माघमा जारी गरेको सूचनाअनुरूप सबैले हतियार नबुझाएको भन्दै पुनः बुझाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट २०३ थान इजाजत प्राप्त हतियार भए पनि हालसम्म माघ तेस्रो सातासम्ममा १० मात्रै हतियार बुझाएकाले बुझाउन आह्वान गरेको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले नजिकैको प्रहरी, प्रशासन कार्यालयमा हतियार बुझाइदिन आह्वान गरेका छन् । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि हतियार बुझाउन आग्रह गरिएको र हतियार नबुझाएर कानुनी कारबाहीको चेतावनी दिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा १३२ मतदानस्थलमध्ये २६ सामान्य, ४० संवेदनशील र ६६ अतिसंवेदनशील रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि ३१ सय निर्वाचन प्रहरीले तालिम लिइरहेका छन् । एक तेस्रोलिंगसहित एक लाख ६० हजार ३१६ महिला र एक लाख ५४ हजार ६८ पुरुष गरेर जम्मा तीन लाख १४ हजार ३८५ मतदाता छन्। अहिले ६ हजार २४८ महिला मतदाता बढी रहेका छन् । तीन सिटका लागि ५५ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।