चुनावी अभियानमा फर्किए रवि

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछाने बिहीबारबाट चुनावी अभियानमा फर्किएका छन् । ५ माघमा जनकपुरमा चुनावी सभालाई सम्बोधन गरेका लामिछाने ६ गते वारेसमार्फत उम्मेदवारी मनोनयनपछि खुट्टामा घाउ हुँदा आराममा थिए । 

स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेले चितवनबाट चुनावी अभियानमा फर्किएका हुन् । बिहीबार चितवन पुगेका लामिछानेलाई समर्थकले स्वागत गरेका थिए । ‘सभापतिज्यू पूर्ण रूपमा निको भइसक्नुभएको छैन । तर, केही दिन चितवनमै रहनुहुन्छ । त्यसपछि देशव्यापी अभियानमा निस्कनुहुन्छ,’ आचार्यले भने । रास्वपाले लामिछानेको कार्यतालिका छलफलकै क्रममा रहेको जनाएको छ । नेताहरूका अनुसार लामिछाने फागुन पहिलो सातादेखि वरिष्ठ नेता बालेन शाहसँगै देशदौडाहामा जाने तयारी छ । सातै प्रदेशमा सभा गरिनेछ । 

बिहीबार चितवन पुगेका लामिछानेले गृह प्रवेश गर्दै निर्वाचनको विकल्प नभएको बताए । उनले निर्वाचन छल्ने गरी निहुँ नखोज्न सबै दललाई अपिलसमेत गरे । ‘मैले केही दिनअघि भनेको थिएँ, जो–जो दल मिल्ने हो मिल्नुस्, हाम्रो शुभकामना छ, हामीलाई लोकतान्त्रिक विधिबाट हराउनुस्, लोकतन्त्रबाहिर झेली गरेर हराउन पाइँदैन । छलछाम गर्न पाइँदैन । जनताको मतबाट मात्र सम्भव छ । सबै दललाई कि निर्वाचनमा भाग लिनुस्, निर्वाचन छल्न निहुँ नखोज्नुस् । निर्वाचनको विकल्प छैन । समयमा निर्वाचन हुन्छ । नेपाली जनतालाई जे चाहेको हो त्यही गर्छन् । अहिलेदेखि नै निहुँ नखोज्नुस् । दुनियाँको सबैभन्दा ठुलो शक्ति जनता हो, उनले जे भन्छन् त्यही मानौँ,’ उनले भने । 

लामिछानेले विगतजस्तै यसपटक पनि चितवनले परिवर्तन दिने विश्वास व्यक्त गरे । ‘विगतमा चितवनले विश्वास गर्यो, २१ जना होनहार मानिस पठाउने बिउ चितवनले रोपेको हो । आफूले रोपेको उन्नत बिउको जर्गेना चितवनले गर्नेछ । यो फैलिएर देशभरि पुग्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘चितवनले जुन मानक स्थापना गरेको छ, नयाँ राजनीतिक शक्ति उदयको इपिसेन्टरका रूपमा स्थापना भएको छ, त्यसलाई थप जिम्मेवारी आएको छ । अब सिंगो जिल्ला रास्वपा होइन सिंगो देश रास्वपा हो । परिवर्तनको सुरुवात चितवनले गरेको यसलाई टुंगोमा पनि चितवनले पुर्याउनेछ ।’ 
 

सुझावित समाचार