प्रत्यक्षतर्फका ७२ लाख ६० हजार मतपत्र छपाइ

प्रत्यक्षतर्फ चाहिन्छ कुल दुई करोड तीन लाख २३ हजार

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

समानुपातिकतर्फको मतपत्र यसअघि नै छापिसकेको जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छापेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र चाहिन्छ ।

छापिएका मतपत्रलाई पाँच हजार ८२५ बाकसमा प्याकिङसमेत गरिसकिएको छ । डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी गरी २५ जिल्लाको छपाइसहित प्याकिङ पनि सकिएको हो । 

आयोगले यसअघि जनक शिक्षाबाटै समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छापिसकेको छ । यो मतपत्र प्याकिङ र रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार १० लाख ९८ हजार २०० नमुना मतपत्रको छपाइ सकेर विभिन्न जिल्ला पठाइसकिएको छ । 

निर्वाचन कार्यतालिकाअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी १२ फागुनमा गर्ने आयोगको तयारी छ । ‘मतपेटिकाहरू जिल्लामै स्टक छन् । कहीँ नपुग्ने अवस्था छ भने केन्द्रबाटै पठाइन्छ । अन्य सामग्री जिल्लाले खाद्य कम्पनी लिमिटेडबाट जिटुजीमा लिइरहेका छन् । ढुवानी यो महिनाभित्र भइसक्छ । यो हप्ताभित्रै माथिबाट गर्ने ढुवानीका लागि तयारी भइरहेको छ, ढुवानीकर्ता टुंग्याउने काम भइरहेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘सुरुमा सामग्री पठाउने हो । मतपत्र आर्मीको सुरक्षामा जनक शिक्षाबाटै जान्छ । अरू सामग्रीको आयोगको प्रांगणबाट प्रहरीको सुरक्षामा पठाइन्छ ।’

प्रधानमन्त्रीले गरिन् मतपत्र छपाइको अनुगमन
प्रधानमन्त्री सुशीला कार्कीले मतपत्र छपाइ प्रक्रियाको अनुगमन गरेकी छिन् । बिहीबार निर्वाचन आयोगका पदाधिकारी र सरकारका मन्त्रीसहित भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र पुगेकी कार्कीले मतपत्र छपाइको रफ्तारले अब निर्वाचनको तयारी सकिएको र मतदान गर्न मात्र बाँकी रहेको बताइन् । ‘छापाखानाका कर्मचारीले राम्रो काम गर्नुभएको छ । मतपत्र हेर्ने काम भयो । हामीलाई लाग्यो कि अब निर्वाचन भयो । अब खालि जनताले छाप लाउन मात्रै बाँकी छ,’ उनले भनिन् । 

See More On

सुझावित समाचार