सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा क्लब पोखराद्वारा पोखरा– १७, दोबिल्ला, कास्कीमा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगत वर्षहरूमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरूप दुई लाख ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहरूको उपस्थिति थियो। 

कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले सहारा एकेडेमीमा आश्रित बालबालिकाहरूलाई निरन्तर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए। साथै सहारा क्लबले निकै उदाहरणीय र प्रशंसनीय कार्य गर्दै आएकोमा क्लबलगायत संस्थाका पदाधिकारीहरूको उच्च प्रशंसासमेत गरे । 

लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकको खाजा र खानाका लागि खर्च गरिने बताए।

एकेडेमीमा हाल १५ जिल्लाका ३० कठिन एवं विपन्न परिस्थितिका बालकहरू रहेका छन् । सहारा क्लब पोखराले उनीहरूको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले ०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेकोे छ ।

 लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

सुझावित समाचार