सल्यानमा शारदा नगरपालिकामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । श्रीनगर-खलंगा सडकखण्डअन्तर्गत शारदा नगरपालिका १ श्रीनगरदेखि सदरमुकाम खलंगा जाँदै गरेको रा १ ह २१९५ नम्बरको अटो सदरमुकाम खलंगास्थित सिँचाइ कार्यालयनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी सल्यान सिद्ध कुमाख गाउँपालिका ३ का ३५ वर्षीय दीपक वि.क, शारदा नगरपालिका ११का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्ध कुमाख गाउँपालिका १ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका ९ की २३ वर्षीया संगीता विक, उहाँको ७ वर्षीय छोरा दीपक विक र छोरी ३ वर्षीया सृष्टि विक रहेका छन् ।
यस्तै, दाङ बबई गाउँपालिका ६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उहाँकी ३ वर्षीया छोरी स्मृति बुढाथोकी, सिद्ध कुमाख गाउँपालिका २ की ३८ वर्षीया धनी सुनार र ३९ वर्षीय पुष्पा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ। घाइतेहरूको सल्यान जिल्ला अस्पतालमा उपचारपश्चात सातजनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए।
चालकसहित ११ जना सवार अटो अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको छ। अटोचालक शारदा नगरपालिका ६ का २५ वर्षीय अर्जुन डाँगी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।